मानिसहरूका जीवनलाई गजलमार्फत सुनाउँदै गायक शर्मा

काठमाडौं । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील रहँदै आएका गायक रुद्र शेखर शर्माले गजलदेखि विभिन्न कालखण्डका गीतहरू पस्कँदै आएका छन् । यही सांगीतिक यात्राको दौरानमा गायक शर्माले मानिसको जीवनका कथालाई गजलमार्फत सुनाउँदै आएका छन् । हरेक मानिसका जीवनका भोगाइलाई गीत–संगीतको माध्यमबाट प्रस्तुत गर्दै आएको उनी बताउँछन् ।

मानिसको जीवनलाई गजल, साहित्य, अर्थात् कुनै पनि गीतसंगीतको माध्यममा जोड्न सक्नु आफ्नो लागि गौरवको विषय भएको गायक शर्माको भनाई छ । यस क्षेत्रमा आफू अझै सिकारु रहेको सुनाउँदै गायक शर्माले आफ्ना कर्मबाट केही अवार्ड तथा सम्मानित भएकोसमेत बताए । गायक शर्माले ‘जहाँ तिखा काँडा त्यहीँ पाइला टेक्न पर्छ किन…?’ बोलको नयाँ गजल गीत बजारमा ल्याएका थिए । अब छिट्टै उक्त गीतको भिडियो पनि बजारमा ल्याउने तयारीमा रहेको गायक शर्माले जानकारी दिए ।

गजलकार गीता सापकोटा हुमागाईंको रचना रहेको उक्त ‘किन’ गजल गीतले सामाजिक परिवेशलाई उजागर गरेको गायक रुद्र बताउँछन् । जीवनमा दैनिक आइपर्ने समस्या र जीवनमा आइरहने विभिन्न प्रकारका दृश्य परिदृश्यलाई उक्त गजलमार्फत उजागर गर्न शर्माले प्रयत्न गरेका छन् । सो ‘किन’ बोलको गजलमार्फत गजलकारले मानिसको जीवन र जगतका कथालाई सहजरूपमा प्रस्तुत गर्ने प्रयत्न गरेका छन् ।

विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गजललाई संगीतमार्फत प्राण भर्ने काम गरेका छन् । संगीतकार श्रेष्ठको संगीत साँच्चिकै उत्कृष्ट रहेको केही गजलकार तथा समीक्षकहरू बताउँछन् । उक्त गजलकी रचनाकार गीता सापकोटाले जुन ठाउँ, जुन परिवेश अथवा जुन कुराले मान्छेलाई धेरै पीडा दिन्छ, आखिर त्यही विषय अथवा त्यही परिवेशमा घुमिरहनुपर्ने र त्यसैको वरिपरि रहनुपर्ने अवस्था ‘किन’ हुन्छ भन्ने प्रश्न शब्दमार्फत गर्न खोजिएको बताइन् ।

गायक शर्माले आफ्नो स्वरले गजललाई अझ मार्मिक बनाएको सापकोटा बताउँछिन् । ‘सुमधुर स्वरले साँच्चिकै रात्रिकालिन प्रहरमा, शान्त वातावरणमा, एकान्त ठाउँमा सुन्नको लागि यो गजल निक्कै नै उपयुक्त रहेको छ । गजलमा भन्न खोजिएका विषयहरू सामाजिक परिवेशमा मेल खाने किसिमको रहेका छन्’, उनले भनिन् ।
उक्त गजलमा भन्न खोजिएको छ, ‘जुन ठाउँमा तिखा काँडा हुन्छन्, त्यहीँ पाइला टेक्नुपर्छ किन, हेर्नै नचाहेका दृश्यहरू फेरि तिनै देख्नुपर्छ किन ? ।’

गायक शर्मालाई उक्त गजलले प्रतिष्ठित राष्ट्रिय समावेशी म्युजिक (निम अवार्ड) अवार्ड पनि दिलाएको थियो । सातौँ संस्करणको उक्त अवार्ड समारोहमा शर्मालाई गजल गायनको विधामार्फत सर्वोत्कृष्ट गजल गायकको अवार्ड प्रदान गरिएको आयोजक माधवराज खरेलले जानकारी दिए । गजलकारका पंक्तिहरूलाई गायक शर्माले निकै सरल तरिकाले प्रस्तुत गरेका छन् ।

त्यसो त गायक शर्माको यसअघि पनि ‘दुख्दिन म’ बोलको गजलले पनि आममानिसहरू विशेष गरी गजलका पारखीहरूको मन जितेका थियो । त्यो समय उक्त गजलले छैटौँ राप्ती राष्ट्रिय म्युजिक अवार्डमा नव गजल गायकको अवार्डसमेत दिलाएको शर्मा बताउँछन् । विगत लामो समयदेखि लोकपप, पप, आधुनिक तथा गजल विधामा अब्बल शर्माका दर्जनौँ नेपाली गीतहरू सांगीतिक आकासमा गुञ्जिइरहेका छन् ।

आफूले नेपाली मात्रै नभएर हिन्दीलगायतका भाषाहरूका गीतहरू पनि गाउने गरेको गायक शर्मा बताउँछन् । ‘जिना अभी बाँकी है’, ‘दिल चल्दिया’ लगायतका गीतहरूले पनि आफू अन्तराष्ट्रिय भाषामा गाउने गायकको रूपमा चिनिने गरेको उनको दाबी छ ।

सर्वोत्कृष्ट गजल गायकको निम अवार्ड प्राप्त गरेका गायक शर्मा भन्छन्, ‘यस अवार्डले मलाई आगामी दिनहरूमा आफ्नो क्षेत्रप्रति अझै सशक्त हुन प्रेरणा मिलेको छ, ऊर्जा मिलेको छ, मेरो केही नेपाली गीतहरूको साथमा अन्य भाषाका गीतहरू पनि निकट भविष्यमा बजारमा आउने तयारीमा रहेका छन् । मैले आफ्नो तर्फबाट हुन सक्ने र मैले गाउने सम्पूर्ण गीतहरूमा न्याय हुने तरिकाले गाउने प्रयास गर्नेछु र अहिलेसम्म सम्पूर्ण दर्शक तथा स्रोताहरूले मेरा सिर्जनालाई माया गरिराख्नुभएको छ । आगामी दिनहरूमा यो माया निरन्तर रहनेछ भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया