७८ जनालाई जग्गा धनीपुर्जा वितरण

बर्दिवास । महोत्तरीको बर्दिवासमा लालपुर्जाविहीन रहेका ७८ जनालाई गाउँ ब्लक जग्गाको धनीपुर्जा वितरण गरिएको छ । बर्दिवास नगरपालिका–८ हात्तीलेटमा गाउँब्लक जग्गामा बस्दै आएका नगरवासीले लालपुर्जा पाएका हुन् ।
लाभग्राहीहरूलाई बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्री र महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संयुक्त रूपमा लालपुर्जा वितरण गरेको बर्दिवास नगरपालिका–८ का अध्यक्ष समशेर सिंह लामाले जानकारी दिए ।

पुस्तौँदेखि भोगचलन गर्दै आएका हात्तीलेटका ७८ परिवारलाई जग्गा धनीपुर्जा (लालपुर्जा) वितरण गरिएकोे बताइएको छ । दुई वर्षअघि नगरपालिका प्रमुखमा क्षेत्री निर्वाचित भएपछि बर्दिवासमा बसोबास गरिरहेका वडा–२ का भूमिहीन ५३ नागरिकलाई यसअघि नै लालपुर्जा वितरण गरिसकेका छन् ।
नगरप्रमुख क्षेत्रीले गाउँ ब्लकको लालपुर्जा वितरण हुनु बर्दिवासबासीका लागि ठूलो उपलब्धि भएको बताए । उनले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार नागरिकको आधारभूत आवश्यकता भएकाले त्यसैको एउटा खुड्किलो पुर्जा वितरण रहेको जनाए ।

क्षेत्रीले पुर्जा नभएको जग्गाको लगत संकलन, नापी लगायतका आवश्यक प्रक्रिया पु¥याई नगरभित्र बाँकीरहेका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई समेत जग्गाधनी पुर्जा वितरण गरिने जनाए ।

त्यसैगरी आफूले पितापुर्खादेखि बस्दै आएको घडेरीको लालपुर्जा पाएको भन्दै स्थानीय पुर्जा पाएकाहरूले खुसी व्यक्त गरे हामी यहीँ हुर्केको थलो हो ‘बल्लबल्ल लालपुर्जा पाइयो, निकै खुसी लागेको छ लालपुर्जा नहुँदा समस्या पर्दा बन्दकी देखाउने सम्पत्ति थिएन’, लालपुर्जा पाएका ज्येष्ठ नागरिक खडकबहादुर खत्रीले बताए ।

बर्दिवास क्षेत्रका अधिकांश परिवारको अवस्था उस्तै छ । लालपुर्जा नहुँदा पुस्तौँपुस्ता बिताएको जमिन आफ्नो भन्ने अवस्था नरहेको उनीहरूको गुनासो रहेको छ । जग्गा धनीपुर्जा पाएकाहरूले आफूहरू अब सुकुम्बासी नरहेको उनीहरूको प्रतिक्रिया छ ।

घडेरी हुँदा मात्र पनि जीवन निकै सुखी भएको महसुस गरेको बर्दिवास–८ का पदम बलम्पाकीले लालपुर्जा पाएपछि खुसी हुँदै सुनाए । सोही स्थानका नन्दलाल सुस्लिङले वर्षौंदेखि जग्गा भएर पनि आफूहरू आफ्नै जग्गाको अधिकारविहीन भएर बसेको बताए ।

सो स्थानमा वर्षाैंदेखि गाउँ ब्लक जग्गाहरूको जग्गाधनी दर्ता प्रमाण पुर्जा जारी नहुँदा भूमि अधिकार मञ्चको पहलमा नापी तथा जग्गाधनी पुर्जा वितरण भएको राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सचिव फौद सिंह स्याङ्गवाले बताए ।

प्रतिक्रिया