रौतहटको गौरमा निकालियो झाँकीसहित शोभा यात्रा

रौतहट । रौतहटको सदरमुकाम गौरमा बुधबार शोभा यात्रा निकालिएको छ । भगवान् रामको जन्मोत्सवको अवसर पारेर हिन्दु समुदायका युवाहरुले भव्य शोभा यात्रा निकालेको हो । चैते राम नवमीको अवसरमा गत वर्षदेखि गौरका युवाहरुले शोभा यात्रा आयोजना गर्दै आएकाले यस वर्ष पनि निरन्तरता दिएको आयोजक आशुताेष सिंहले बताए ।

राम नवमीमा भव्यरुपमा मनाउन तथा हिन्दू धर्मको रक्षा संरक्षणको लागि युवाहरुले आफ्नो निजी लगानीमा झाँकीसहितको शोभा यात्रा निकालेको सिंहले जानकारी दिए । गौर– ५ मा रहेको बरहवा तालमा महा आरतीको समेत आयोजना गरिएको छ ।

धर्म, संस्कृति र परम्परालाई जोगाउने उदेश्यले भव्यरुपमा युवा महिला तथा पुरुषको सहभागितामा शोभा यात्राको आयोजना गरिएको स्थानीय अमितकुमार केसरीले बताए । उक्त शोभा यात्रालाई सफल बनाउन गौरका विभिन्न ठाउँमा भगवा रङको झण्डा लगाइएकाले बजार राममय बनेको छ ।

गौरको राइस मिलबाट निकालिएको शोभा यात्रा क्रान्तिद्वार हुँदै मधेसी क्रान्ति चोकसम्म पुगेर सम्पन्न भएको छ । शोभा यात्रामा बाजा, भगवान् राम, सीता र हनुमानको झाँकी देखिएको थियो । राम नवमीको अवसरमा विभिन्न ठाउँमा स्थापना गरिएको रामजानकी मन्दिरमा पूजाआर्चना गरी भगवान् रामको जन्मोत्सव मनाइएको छ ।

प्रतिक्रिया