एकीकृत समाजवादीमा एक लाख २० हजार सदस्य थपिए

काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । गत फागुन र चैतमा सञ्चालित अभियानमा पार्टीका सबै तहका कमिटी परिचालन गरिएका थिए । साथै महाधिवेशनमा सहभागी हुने सबैको सदस्यता नवीकरण भएको छ ।

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने १०औँ राष्ट्रिय महाधिवेशनको तयारी पनि गरिरहेको छ । महाधिवेशनलाई सफल बनाउन गठित विभिन्न कमिटी क्रियाशील छन् । पार्टीको राजनीतिक दस्ताबेज, विधान, समाजवादी कार्यक्रमसम्बन्धी दस्ताबेज र साङ्गठनिक दस्ताबेज सम्बन्धित कमिटीमा अध्ययनका लागि पठाइएको सचिव श्रेष्ठले बताए ।

प्रतिक्रिया