पूजाको नयाँ घर

मुम्बई । भारतीय अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोड भारतीय रुपैयाँको घर किनेकी छन् । ईटाइम्सको एउटा रिपोर्टका अनुसार अभिनेत्रीले मुम्बईको बान्द्रामा समुद्रतिर मोहडा फर्किएको एउटा बंंगला किनेकी हुन् । यो बंगलामा चार हजार स्क्वायर फिटको लिभिङ स्पेस भएको बताइएको छ । अभिनेत्री तर्फबाट भने यो खबरको आधिकारिक पुष्टि भएको छैन ।

पूजा अहिले बान्द्रामै थ्रीबीएचके अपार्टमेन्टमा बस्दै आएकी थिइन् । यसको मूल्य ६ देखि ८ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । यो फ्ल्याटबाहेक पूजासँग पोर्स केयेनजस्ता लक्जरी कार पनि छ । कारको मूल्य करिब २ करोड भारतीय रुपैयाँ रहेको छ । यसबाहेक अभिनेत्रीसँग ८० लाख भारतीय रुपैयाँको आइडी क्यू ७ र ६० लाख भारुको ज्यागुआर छ । मिडिया रिपोर्टका अनुसार अभिनेत्रीको कुल सम्पत्ती झन्डै ५१ करोड भारतीय रुपैयाँ रहेको छ ।

पूजाको आगामी फिल्म ‘देवा’ हो । यसमा उनी शाहिद कपूरको अपोजिटमा देखिँदैछिन् । पूजाले सन् २०१६ मा रिलिज भएको फिल्म ‘मोहेन्जोदारो’बाट ऋतिक रोशनको साथमा बलिउडमा डेब्यु गरेकी थिइन् ।

यसअघि उनले तीन साउथ फिल्ममा काम गरेकी थिइन् । पूजाले ‘हाउसफुल ४’, ‘राधे श्याम’, ‘सर्कस’ र ‘किसी का भाइ किसीकी जान’ जस्ता बलिउड फिल्ममा काम गरिसकेकी छन् ।

प्रतिक्रिया