खेतमै जलाइने गहुँको भुस आम्दानीको स्रोत बन्दै

मधेश ब्युरो । खेतमै जलाइने गहुँको भुस किसानका लागि आम्दानीको स्रोत बन्न थालेको छ ।
गहुँको दाइँ खेतमै मेसिनले गर्न थालेपछि खेतमै थुप्रिने गहुँको भुसलाई अधिकांश किसानले खेतमै जलाउने गरेका छन् । गाई र भैँसी पाल्ने केही किसानले अत्यन्त कम मात्रामा गहुँको भुस पशुलाई खुवाउनका लागि राख्ने गरेको भए पनि अधिकांश किसानले खेतमै जलाउने गरेका छन् । तर, खेतमै गहुँको भुस किन्ने व्यापारी पुग्न थालेपछि गहुँको भुस पनि आम्दानीको स्रोत बन्न थालेको छ ।

अहिले किसानहरूले गहुँबाली भित्र्याउँदै गर्दा ट्रक नै लिएर व्यापारीहरू किसानको खेतसम्म पुग्ने गरेका छन् । एक जना मानिसले बोक्न सक्ने ठुलो बोरा (भाङा)को दरले किसानलाई पैसा दिएर व्यावसायीहरूले गहुँको भुस किन्न थालेपछि किसानलाई आम्दानीको स्रोत हुन गएको छ ।

रौतहटको मौलापुर नगरपालिका–८ सोनरनियाका ठेकेदार उपेन्द्रप्रसाद यादवले प्रति भाङा भुसको ७० देखि ८० रुपैयाँ किसानलाई दिने गरेको बताउँछन् । एक ट्रकमा १२० देखि १२५ भाडा भुस अटाउने गरेको ठेकेदार यादवले बताउँदै भुसबाट किसानलाई धेरै आम्दानी नभए पनि खेर जाने पदार्थबाट केही राहत प्राप्त भइरहेको बताउँछन् ।

स्थानीय जोखुप्रसाद यादवले गहुँको भुस सबैलाई काम लाग्ने हुँदैन, खेतमै छोडदा कुहिनका लागि दुई–तीन वर्ष लाग्छ यसैले किसानहरूले सोझै जलाउने गरेकामा खेतमै पुगेर ब्यापारीले भुस किन्न थालेपछि सजिलो भएको बताए । खेर जाने वस्तुलाई ब्यापारीहरूले किनेर किसानको आम्दानीमा वृद्धि गर्ने गरेको बताउँदै यादवले भने, ‘किसानलाई हुने अतिरिक्त आम्दानीको स्रोत भुस बनेको छ ।’

धानको पराल तथा गहुँको भुस बेचेर किसानहरूले एक बालीको लागि मलको दामको जोहो गरिरहेका छन् । गत मंसिर पुसमा भित्र्याएको धानको पराल र अहिले भित्र्याएकोे गहुँको भुस बेचेर धान बालीको लागि रासायनिक मलको दाम आउने एक किसानले बताएका छन् ।

गाउँगाउँसम्म सडक यातायात पुगेकोले किसानलाई केही मात्रामा भए पनि राहतको स्रोत भएको छ, गहुँको भुस । गहुँ भित्र्याउनासाथ भुस पनि बिक्री भइरहेकोले किसानको हातमा केही नगद पुगिरहेको छ । विद्यालय भर्ना अभियान चलिरहेको समयमा किसानले भुस बेचेर नगद जोहो गर्दैछन् । यसले आफ्ना सन्तानका लागि स्टेसनरी सामान किन्न सजिलो भएको किसानहरू बताउँछन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया