जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको जग्गा अतिक्रमणमा

बारा । बारा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको बारास्थित तामागढी शाखाअन्तर्गतको कैयौँ बिघा जग्गा अतिक्रमणको चपेटामा परेको छ । तर, पछिल्लो समय जग्गा संरक्षणमा ध्यान नदिँदा कैयौँ बिघा स्थानीयले अतिक्रमण गरिसकेका छन् । यो क्रम अझै रोकिएको छैन ।

२०३८ सालमा स्थापना भएको यस शाखा जडीबुटी उत्पादन तथा प्रशोधनका लागि जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले तामागढी साझेदारी वन क्षेत्रको ३३३ दशमलव ३३ हेक्टरको जग्गा पाएको हो । शाखाले स्थापनाकालदेखि नै सात प्रकारका जडीबुटीको खेती गर्दै आएको छ । यसबाट सन्चो, बाम, मसाज तेल, सिलाजित, सेनिटाइजरजस्ता औषधिजन्य पदार्थको उत्पादन तथा बिक्री गर्दै आएको छ । तर, पछिल्लो समय यो कारखानाको १५ देखि २० बिघाभन्दा बढी जग्गा अतिक्रमण भइसकेको निमित कार्यालय प्रमुख पुष्पाराज बिष्टले बताए ।

जडीबुटी उत्पादन तथा प्रशोधन गर्न तथा विदेशमा समेत निर्यात गर्न भन्दै वन मन्त्रालयले बाराको तामागढी साझेदारी वन क्षेत्रभित्रको ३३३ दशमलव ३३ हेक्टर अर्थात् पाँच सय बिघा कम्पनीलाई भोगाधिकारका लागि दिएको हो । तर, अहिले कम्पनीका अधिकारीको बेवास्ताले यो जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित जग्गाको जिपिएस लोकेसनसहितको वास्तविक तथ्यांक केन्द्रले उपलब्ध नगराउँदा संरक्षणमा समस्या भएको र कार्यालयले नापनक्सा उपलब्ध गराएपछि डिभिजन वन कार्यालयले अतिक्रमित भएको जग्गा फिर्ता ल्याउनेमा पहल गर्ने डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले बताए ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले बाराको कोल्हवीमा उत्पादन गरेको जडीबुटी कुनै बेला फ्रान्स र जर्मनीसम्म निर्यात गर्दथ्यो । सरकारी निकायको चरम लापरबाहीका कारण जडीबुटी उत्पादन गर्न वन मन्त्रालयले कारखानालाई दिएको जग्गामा धेरै रुखहरू कटान भइसकेका छन् भने आसपासका स्थानीयहरूले २०औँ बिघा सरकारी जग्गा अतिक्रमण गरेका छन् । उक्त कारखाना बन्द हुने हो भने कारखानामा प्रत्यक्ष रोजगारी पाएका दुई सय जनाको रोजगारी गुम्ने अवस्थासमेत सिर्जना हुनेछ ।

प्रतिक्रिया