मकैको बोटसमेत बिक्री भएपछि झापाका किसान उत्साहित

झापा । झापाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले गाईको आहाराका लागि ग्रामीण क्षेत्रका किसानको खेतबारीबाट बोटसहितको मकै खरिद गरेका छन् । भर्खर घोगा लाग्ने बेला भएको मकै बोटसहित बिक्री गर्न पाउँदा किसान पनि खुशी छन् । अर्जुनधारा नगरपालिका–७ का सञ्जय खनाल मकैको सिंगो बोट बिक्री गर्न पाउँदा राम्रो आम्दानी भएको बताउँछन् । उनले एक बिघा जमिनमा लगाएको मकैमा दाना लागेपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले गाईको आहाराका लागि बोटसहित खरिद गरेको छ ।

बोटसहित मकै बिक्री भएपछि भाँच्नु, नंग्याउनु, छोडाउनु र सुकाउनुपर्ने झन्झटबाट मुक्त भएका खनालको भनाइ छ । उनले यसपालि पोलेर खान मिल्ने भएको दुधिलो मकै प्रतिकेजी साढे चार रुपैयाँका दरले ११ हजार केजी खेतबाटै बिक्री गरे ।

मकै सुकाएर बेच्दा भनेजस्तो मूल्य पनि नपाउने र लागत पनि बढी पर्ने हुँदा हरियो मकै गाईको पौष्टिक आहारा (साइलेज) का लागि बोटैसँगै बिक्री गरिएको खनालले सुनाए । हरियो मकै बोटसँगै बिक्री हुन थालेपछि अब अर्को वर्ष खेती विस्तार गर्ने उनको तयारी छ ।

एनएमसीले मेचीनगर नगरपालिका–१४ मा अर्गानिक तरकारी खेतीसँगै उन्नत जातका गाईफार्मसमेत सञ्चालन गर्दै आएको छ । सहकारीले १८ लाख केजी मकैको साइलेज बनाउनका लागि धमाधम सूचीकृत भएका किसानको खेतबाटै मकै खरिद गरिरहेको नमूना एकीकृत कृषि फार्मका संयोजक हिरा पोखरेलले जानकारी दिए । उनले मेचीनगर, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, अर्जुनधारा, विर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाका किसानले उत्पादन गरेका मकै खरिद गर्ने गरिएको गरेको बताए ।

साइलेजमा पौष्टिक तत्व पर्याप्त हुने गरेकाले पशुको स्वास्थ्यमा पनि कुनै खराबी नहुने मेचीनगर–४ का किसान केदार न्यौपानेले बताए । साइलेज खान पायो भने गाईभैँसीले दूध पनि राम्रो दिने उनको अनुभव छ । साइलेज एकपटक बनाएर वर्षभरि पशुलाई खुवाउन मिल्ने भएकाले पनि गाई किसान यसतर्फ आकर्षित भएका हुन् । जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

प्रतिक्रिया