‘कालो गुलाफ’ आञ्चलिकताको प्रतिबिम्ब

यस संग्रहमा परेका कथाहरूका कथानकहरूले ओगट्न पाएको भावभूमि मुख्यतः मधेस प्रदेश हो । मधेस प्रदेशको वीरगञ्ज र आसपासको परिवेशलाई कथाको रूपमा उतारिएको छ । पर्यावरणलाई जीवन्त र विश्वसनीय बनाउनका लागि आवश्यक परिवेश सिर्जना गरिएको छ । यथार्थलाई प्रस्तुत गर्न साहित्यिक रंग भरिएको छ । कलात्मकता पनि मधेसकै पर्यावरणअनुकूल प्रयोग गरिएको छ । परिवार, समाज वा साहित्य तिनै विषयमा मधेसको सुगन्ध पाइन्छ । सम्भवतः कथाकारको गृह परिवेश वीरगञ्ज भएकोले आफूले बाँचेको तथा भोगेको परिवेश र समयलाई कथाकारले सशक्त रूपमा चित्रण गरेका छन् ।

सञ्जय साह मित्र

साहित्यलाई वर्तमानमा चेतनाको एक अंगको रूपमा स्वीकार गरिएको छ । यसैले नेपाली साहित्य निकै उर्वर देखिएको यथार्थ हो । स्वदेशमा सिर्जित नेपाली साहित्य र प्रवासमा सिर्जित नेपाली साहित्यको विषयवस्तुको अध्ययन गर्ने हो भने खासै पृथक नदेखिए पनि साहित्यमा आउने परिवेशमा भने अलग्गै मिठास पाइन्छ । मुख्यगरी आख्यान विधाको कथानकले लिने परिवेश चित्रणले पाठकलाई विविधताको अनुभूति दिलाउने गरेको छ । एकै किसिमको सैद्धान्तिक उद्देश्य लिएर रचिएका दुई नितान्त पृथक भौगोलिक परिवेशको आख्यानले अन्ततः उद्देश्यमा पनि भिन्नता ल्याउन सक्छ । यसर्थ कथा र उपन्यासमा परिवेशको सशक्तताले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ । गोपाल अश्कका आख्यानमा आञ्चलिक परिवेश अझ बेजोड बनेर आएको हुन्छ ।

गोपाल अश्क भोजपुरी, नेपाली र हिन्दी भाषाका विभिन्न साहित्यिक विधामा समान रूपले कलम चलाउने सशक्त साहित्यकार हुन् । काव्य, नाटक, आख्यानका साथै अनुवादमा पनि सिद्धहस्त अश्क अनुसन्धान, समालोचना र व्याकरणका पनि चर्चित व्यक्तित्व हुन् । अश्कले वैश्विक परिवेशका पनि आख्यान रचना गरेका छन्, साथै आख्यानमा आञ्चलिकताको प्रयोग गर्ने सचेत आख्यानकार हुन् । उनको पछिल्लो आख्यानकृति ‘कालो गुलाफ’ कथा संग्रह पनि आञ्चलिकताको प्रतिबिम्बकै रूपमा प्रकाशित भएको छ । ओरिउन्टल पब्लिकेसन हाउसले आश्विन २०८० मा प्रकाशन गरेको ‘कालो गुलाफ’ कथा संग्रहमा संकलित सम्पूर्ण कथाहरूले कुनै न कुनै रूपमा आञ्चलिक परिवेशको सबलतापूर्वक चित्रण गरेका छन् । ‘कालो गुलाफ’ भन्नु नै ‘कालो वर्णको मानिस’ हो जो सामान्यतया तराई–मधेसमा बस्दछ । कथाकार अश्कले कालो वर्णको मधेसी नेपालीलाई प्रतीकात्मक रूपमा ‘कालो गुलाफ’को संज्ञा दिँदै सम्पूर्ण नेपालीमा एकात्मकताको भाव हुनुपर्ने स्पष्ट परेका छन् । कथा संग्रहको शीर्षक नै यही कथाको शीर्षकबाट राखिएको हुनाले ‘कालो गुलाफ’ले घाम धेरै लाग्ने र गर्मी धेरै हुने परिवेशमै रचिएका कथाहरूको बाहुल्य भएको संकेत पनि कथाकारले गरेका छन् ।

संग्रहमा कालो गुलाफ, एउटा लेखकको आत्मकथा, प्रेमको मृत्यु, सम्पादक, नचिताएको कुरा, डा.दिलवर दिल, मत्स्यगन्धा, वेदनाको फूल, पलायन, बुबा ! हजुरबा खोई ?, भैया !, अनुगूँज, अन्तर्संवाद, जन्मकुन्डली र आजभोलि गरी १५ कथाहरू संकलित छन् । संग्रहमा परेका अधिकांश कथाहरू मुख्य गरी काठमाडौं केन्द्रित पत्रिका तथा अनलाइनहरूमा पहिले नै प्रकाशित भइसकेका छन् । संग्रहमा समेटिएका कथाहरूलाई विषयवस्तुका दृष्टिकोणले सामाजिक यथार्थ र मनोवैज्ञानिक यथार्थ गरी दुई प्रकृतिमा तथा सामाजिक र पारिवारिक समस्यामा केन्द्रित मान्न सकिन्छ । साहित्य, साहित्यकार तथा साहित्यिक कर्मसित जोडिएका कथाहरूले पनि यस संग्रहमा पर्याप्त स्थान पाएका छन् । यदि कथामा प्रयोग गरिएका पात्रहरूतिर ध्यान दिने हो भने अश्कले मूलरूपमा उमेरको उत्तरार्धमा पुगेर जीवनको कुनै जटिलतामा फसेका, विवशताले उकुसमुकुस हुन पुगेका, अपहेलित, तिरष्कृत, उपेक्षित वृद्धवृद्धाहरूलाई बढी मात्रामा सम्मान दिएका छन् पात्रको रूपमा । नैबन्धिक वा वर्णनात्मक, आत्मपरक वा संस्मरणात्मक तथा आत्मकथात्मक, मनोवादात्मक तथा कुतूहलपरक शैलीमा लेखिएका अश्कका कथाहरू यथार्थवादी बढी छन् ।

कथामा पात्र र परिवेशअनुसार जीवन्त संवादको प्रयोग गरिएको छ । यद्यपि कतै कतै स्वैरकल्पनात्मक प्रस्तुति पनि कथामा पाइन्छ । ‘कालो गुलाफ’ भित्रका कथाहरूमा सन्देशले परिवेश र परिवेशले सन्देश गरी एकअर्काको परिपूरकको रूपमा काम गरेको देख्न सकिन्छ । कथामा प्रत्यक्ष रूपमै बढी र कतिपय अवस्थामा परोक्ष रूपमा पनि तराई मधेसकै परिवेश प्रमुख भएर आएको छ ।

यस संग्रहमा परेका कथाहरूका कथानकहरूले ओगट्न पाएको भावभूमि मुख्यतः मधेस प्रदेश हो । मधेस प्रदेशको वीरगञ्ज र आसपासको परिवेशलाई कथाको रूपमा उतारिएको छ । पर्यावरणलाई जीवन्त र विश्वसनीय बनाउनका लागि आवश्यक परिवेश सिर्जना गरिएको छ । यथार्थलाई प्रस्तुत गर्न साहित्यिक रंग भरिएको छ । कलात्मकता पनि मधेसकै पर्यावरणअनुकूल प्रयोग गरिएको छ । परिवार, समाज वा साहित्य तिनै विषयमा मधेसको सुगन्ध पाइन्छ । सम्भवतः कथाकारको गृह परिवेश वीरगन्ज भएकोले आफूले बाँचेको तथा भोगेको परिवेश र समयलाई कथाकारले सशक्त रूपमा चित्रण गरेका छन् । अहिले टाँगा पाउन मुस्किल छ तर केही वर्ष पहिलेसम्मको त्यस यथार्थतालाई जीवन्त बनाइएको छ जसले निकट विगतलाई सफलतापूर्वक वर्तमान बनाएको छ ।

कथाकारले आफ्नो समाजको संस्कृति, संस्कार, व्यक्तिको प्रवृत्ति, मनोवृत्ति तथा दृष्टिकोणलाई अत्यन्त सहज भावमा प्रस्तुत गर्न सकेका छन् । आफूले भोगेको यथार्थले जस्तै कथाकारले विभेद, असन्तुष्टि, विकृति, विसंगति, पीडा, उद्वेलन तथा मनोवैज्ञानिक दबाबलाई प्रस्तुत गर्न सक्नु संग्रहको सफलता हो । मानवीय संवेदनाका विविध पक्षलाई एउटै कथामा उद्घाटन गर्न सक्नु र संवेदनालाई विस्तार गर्दै विभिन्न कथाहरूमा संवेदनाका विभिन्न पक्षलाई उजागर गर्न सक्नु कथाको विशेषता बन्न पुगेको छ । कतिपय कथामा लाग्दछ, कथा पढेको होइन, यथार्थ भोगेको र देखेको हो । पात्रको रूपमा, पाठकलाई पनि, कथाको सहयात्री बनाउन सक्नु कथाको वैशिष्ट्य हो, अश्कको लेखकीय विशिष्टता हो ।

कथा संग्रहमा कथानकलाई अगाडि बढाउन प्रयोग गरिएका अधिकांश पात्रहरू मधेसी मूल र मानसिकताका छन् । पात्रको नामहरूले पनि मधेसकै प्रतिनिधित्व गरेका छन् । काठमाडौं वा पहाडका अन्य कतिपय ठाउँमा नेपालकै मधेसी मूलका मानिसलाई गरिने सम्बोधन, हेपाइ, मानसिक रूपले दिने तनावलाई पनि संग्रहले चित्रण गरेको छ नै, एकै वर्गका मानिसमा यस किसिमको विभेद तथा मानसिकता नहुने देखाउँदै वर्गीय प्रेम र सहानुभूति छालाको रङभन्दा माथि उठेर नाता वा सम्बन्ध आर्जनको तहसम्म पुग्दछ भन्ने पनि देखाइएको छ । इमानदार शिक्षक तथा इमानदार साहित्यकारले भोग्नु परिरहेका विवशताहरूलाई संग्रहमा मार्मिक किसिमले प्रस्तुत गरिएको छ । बिमा कम्पनीको हाकिमले जीवनको उत्तरार्धमा भोग्नुपरेको मानसिक तनाव होओस् वा अन्धविश्वासको कारण जन्मकुन्डलीले ल्याएको मार्मिकता होओस्, यथार्थको परिसीमामा रहेर कथाकारले करुण रसको परिपाक तयार पारेका छन् । कतिपय ठाउँमा लाग्छ, कथाकारले आफ्नै कथा कथेका छन् ।

धेरै विषय, क्षेत्र र प्रवृत्ति समेटिएको यस संग्रहको कतिपय संवादमा वीरगन्जेली भाषाको प्रयोग गरिएको छ । यसै गरी कतिपय पात्रहरूले प्रयोग गर्ने संवादको लवजमा मधेसीपन झल्केको छ । स्थानीय शब्दहरूको प्रयोग, आञ्चलिक परिवेशका बिम्ब र प्रतीक, पात्रअनुकूलको भाषा र संवाद तथा लवजले कथ्यलाई अझ बढी विश्वसनीय र यथार्थ बनाएको छ, कथोपकनमा मिठास तथा पठनीयतामा सुस्वादुपन थपेको छ । प्रस्तुत ‘कालो गुलाफ’ कथा संग्रहलाई समग्रमा नेपालको तराई–मधेस क्षेत्रका आञ्चलिक कथाहरूको प्रतिबिम्बको रूपमा स्वीकार गर्न सकिन्छ ।
प्राडा लक्ष्मणप्रसाद गौतमले लेखेको भूमिका ‘आञ्चलिक परिवेशका यथार्थपरक कथा’ले यस संग्रहको गरिमालाई बढाएको छ । प्रकाशकीयमा यस कथा संग्रहबारे खासै केही भनिएको छैन । कथाकार अश्कले संक्षेपमा ‘आफ्नो भनाइ’ राख्दै आफ्नो कथालेखनको बारेमा जानकारी दिएर धेरैलाई धन्यवाद दिएका छन् ।

गोपाल अश्कको कथा सिर्जनमा यस ‘कालो गुलाफ’ कथासंग्रहले उनको प्रवृत्तिगत विशेषताको किटान गरेको छ । मुख्यतः मधेसको परिवेश, पात्र, प्रवृत्ति, मनोविज्ञान, जटिलता, विशिष्टता, सामाजिकता, संस्कृति र सामाजिक धरोहर अश्कका कथामा देखापर्ने कथानकीय विशेषता हुन् भने मधेसको सहरी र ग्राम्य परिवेशमा आमरूपमा प्रयोग हुने विभिन्न भाषा, लवज, बोली र शैलीलाई प्रस्तुत गर्नु शैलीगत विशेषता हुन् । आञ्चलिक विशेषतालाई विशिष्टीकृत गर्दै कथानकीय स्वरूपमा प्रस्तुत गर्दै अश्कले आफ्नो वैचारिक दर्शनलाई पाठकसमक्ष प्रस्तुत गर्न सफल र सक्षम भएको देखिन्छ । अश्क आञ्चलिक विषयवस्तुका सशक्त कथाकार हुन् भन्ने तथ्यलाई ‘कालो गुलाफ’ले प्रमाणित गरेको छ । सिद्धहस्त कथाकार अश्कको आगामी कथायात्रा अझ सशक्त र आञ्चलिक परिवेशलाई वैश्वीकरण गर्ने क्षमतायुक्त हुने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया