समाजिक सदभाव विथोल्न खोज्नेलाई कारबाही गर्न माग

वीरगञ्ज । वीरगञ्जका मुस्लिम धर्मावलम्बीहरुले समाजमा धार्मिक सहिष्णुता र सामाजिक सदभाव बिथोल्न खोज्नेहरुलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

नेपाली मुस्लिम समाज पर्साले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका मुस्लिम समाजका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापनपत्र बुझाएका छन् ।
केहि समय यता मुस्लिम धर्मावलम्बीमाथि आक्रमण गर्ने खालका खबरहरु विभिन्न माध्यम मार्फत आइरहेकाले त्यसमा संलग्नहरुलाई पक्राउ गरी कानूनी कारबाही गर्नुपर्ने माग आँफुहरुको रहेको ज्ञापन पत्र बुझाउन गएका मुस्लिम अगुवा जफर अंसारीले बताए ।

उक्त ज्ञापनपत्रमा लेखिएको छ, ‘नेपालका मुस्लिम समुदायले सामाजिक हित, राष्ट्रहित, लोकतन्त्र र परिवर्तनका लागि खेलेको भूमिकालाई नजरअन्दाज गर्दै सरकारले पनि मुस्लिमसँग सौतेलो व्यवहार गरेको छ । रोजाको अवसरमा सामाजिक सञ्जालमा आपत्तिजनक कुराहरु लेखेर मुस्लिम समुदायलाई अपमानित गरिएको छ । २८ चैतमा सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको छ । दासको अभिव्यक्तिले वर्तमान नेपाली समाजमा कलह र अशान्तिको वातावरण सृजना गरेको छ ।’

तसर्थ मुस्लिम समुदायका इश्वरिय दुत पैगम्बर मुहमदको चरित्रहत्या गर्ने व्यक्तिउपर आवश्यक कानूनी कारबाही गर्न गृहमन्त्रीसँग माग गरिएको ज्ञापनत्रप बुझाउन गएको टोलीमा सहभागी मुस्लिम अगुवा आबिद हुसेनले बताए । मुस्लिम समुदायको जिउज्यानको सुरक्षा गर्न तथा मस्जिद, मदर्सा लगायतका धार्मिक स्थलको सुरक्षा गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको उनले बताए ।

ज्ञापन पत्र बुझाउन गएको टोलीमा पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, मुस्लिम समाजका अगुवाहरु जफर अंसारी, मुस्लिम मध्य नेपाल मधेस प्रदेशका अध्यक्ष राज खान, आबिद हुसेन, मेहबुब अलि, रेयाज अहमद, शेष मन्सुर, अनवर हुसेन, अब्बास मंसुरी लगायतको सहभागीता थियो ।

प्रतिक्रिया