मन्त्री नै मध्यरातमा योजनाका आश्वासन बाँड्दै भोट माग्न व्यस्त

पर्वत एमालेको अधिवेशनमा चरम गुटबन्दी

पर्वत । चैत २७ गतेदेखि सुरु भएको नेकपा एमाले पर्वतको १०औँ जिल्ला अधिवेशमा नेतृत्वका लागि चरम गुटबन्दी र अस्वस्थ प्रतिष्पर्धा देखिएको छ । गण्डकी प्रदेशमा कास्की पछि पर्वत जिल्लामा नेताहरु दुई चिरामा बाँडिएर अस्वस्थ्य प्रतिष्पर्धामा उत्रेपछि सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने मनस्थितिमा रहेका मतदाता निराश हुन थालेका छन् ।

एमालेको जिल्ला अधिवेशनको चर्तिकलाले विगतमा नेपाली कांग्रेसको जिल्ला अधिवेशनलाई समेत उछिनेको प्रतिनिधिहरुको गुनासो छ । पर्वतको वर्तमान पार्टी नेतृत्वको अगुवाईमा संघ र प्रदेशमा क्लिन स्विप गर्न सफल भएको तथा स्थानीय तहमा समेत सबै कार्यपालिकामा बहुमत र जिल्ला समन्वय समिति पनि आफ्नो पोल्टामा पार्न सफल भएकाले वर्तमान जिल्ला नेतृत्वमा रहेका सबै पदाधिकारी नै दोहोर्याउने पक्षमा एक पक्ष देखिएको छ ।

अर्को विकल्पको रुपमा वर्तमान उपाध्यक्षलाई अध्यक्ष बनाएर सबै पदाधिकारीलाई बढुवा गरेर पनि सहमति कायम गर्न सकिने विकल्प अघि सारेका छन् । पार्टीको आन्तरिक निर्वाचनमा प्यानल बनाएर प्रतिष्पर्धा गर्दा भविश्यमा स्थानिय र संघ तथा प्रदेशको निर्वाचनमा त्यसको नकारात्मक प्रभाव पर्न सक्ने चिन्ता प्रतिनिधिहरुमा देखिएको छ ।


एमालेका अधिकांश प्रतिनिधिहरु सहमतिको पक्षमा देखिए पनि संसदीय चुनावमा जस्तै मनि, मसलको प्रयोग बढेको भन्दै प्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन् । त्यति मात्रै होइन कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीकै उपस्थितिमा योजनाहरुको आश्वासन दिएर मत माग्न थालिएको समेत प्रतिनिधिहरुको आरोप छ ।

पर्वतको दशौँ अधिवेशनमा राजुप्रसाद पौडेल र गोविन्द गिरी पहाडीका पक्षमा नेता तथा कार्यकर्ताहरु बाँडिएका छन् । नेतृत्वका आकांक्षीलाई भन्दा पनि उनीहरुलाई बोक्ने नेतालाई बढी चुनाव लागेको छ । मध्यरातमा १ बजे कानुन मन्त्री पदम गिरी प्रहरीको स्कटिङसहित होटल–होटलमा पुगेर गोविन्द गिरी पहाडीलाई मत मागेर हिँडेपछि धेरै प्रतिनिधिले मन खल्लो भएको प्रतिकृया दिएका छन् ।

‘विपक्षी पार्टीका विरुद्ध जस्तै गरी नेताहरुले मत मागेको देखेर मन खिन्न भयो’, एक प्रतिनिधिले भने, ‘सहमति र सहकार्यसहित कार्यकर्तामा उत्साह सृजना गर्नुको साटो उल्टै मनोवल गिराउने काम गर्दा पार्टीलाई घाटा पुग्ने भयो ।’ कतिपय मतदातालाई पालिका र प्रदेश तथा संघबाट विकास बजेट उपलब्ध गराउने भन्दै प्रभावित बनाउन खोजिएको प्रतिनिधिहरुको आरोप छ ।

नेकपा (एमाले) पर्वतको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष राजुप्रसाद पौडेल र उपाध्यक्ष पदमपाणी शर्मा र सचिव गोविन्द गिरी पहाडी आकांक्षी छन् । नवौँ जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भए पनि केही अवधी बाँकी रहेका कारण आफूले एक पटक नेतृत्व पाउनुपर्ने दाबी राजुप्रसाद पौडेलको छ । पौडेललाई अध्यक्षमा सघाउन आफ्नो पक्षका उमेदवारलाई सचिव र उपसचिवमा उमेदवार बनाउन तयार भएका उपाध्यक्ष पदमपाणी शर्मा पनि अध्यक्षका आकांक्षी थिए ।

पदमपाणी शर्मा पनि अन्तिम समयमा राजुप्रसाद पौडेलको समर्थनमा उम्मेदवार बन्ने सम्भावना पनि टरेको छैन । तर अहिलेसम्म राजु पौडेल नै अध्यक्षको उमदेवार बन्ने चर्चा छ । अर्कोतर्फ यो कार्यकालका लागि आफूलाई अध्यक्ष बनाउने सहमति नवौँ अधिवेशनमै भएकोे भन्दै गोविन्द पहाडीले अध्यक्षको दाबी गरेका छन् । जिल्ला अधिवेशनमा आकांक्षीहरुलाई भन्दा पनि उनीहरुलाई बोक्ने नेताहरुलाई बढी चुनाव लागेको छ ।

कतिसम्म भने राति दुई बजेसम्म प्रतिनिधी बसेका होटल–होटलमा पुगेर मत प्रभावित गर्न केन्द्रिय नेता, मन्त्रीदेखि सांसदसम्म लागिपरेका छन् । राजुप्रसाद पौडेल र पदमपाणी शर्माको टिमलाई संविधानसभाका सदस्य विकास लम्साल, कल्पना चापागाईं, प्रदेश सांसदहरु मित्रलाल बस्याल, भक्त कुवँर सहितका नेताहरु लागेका छन् । त्यसैगरी गोविन्द गिरीको पक्षमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी लागेका छन् ।

पौडेलको समूहलाई उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको समेत सहयोग छ भने गिरी समूहलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ छ । पर्वत एमालेमा निर्णायक रहेको पदमपाणी शर्मा समूह समेतको समर्थन पाएपछि पौडेल समूह बलियो देखिएको छ ।

निर्वाचन भएमा पौडेलको प्यानलबाट उपाध्यक्षमा शिव पौडेल, सचिवमा जीवन उच्चै ठकुरी, उपसचिवमा देवी तिमिल्सिनालगायतका नेताको चर्चा छ भने गिरी प्यानलबाट उपाध्यक्ष विमल लामिछाने, सचिव सुवासचन्द्र पौडेल र उपसचिवमा चण्डी भुर्तेल तथा कमला पन्तको चर्चा छ । पौडेल पक्षबाट सचिवका उम्मेदवार बन्ने निश्चित जस्तै भएको जीवन उच्चै र उपसचिव देवीप्रसाद तिमिल्सिना पूर्वउपाध्यक्ष पदमपाणी शर्माको समूहका हुन् ।

प्रतिक्रिया