मधेस ब्युरो । मधेस प्रदेशको जिल्लाहरूमा हरेक दिनजसो कहीँ न कहीँ आगलागीका घटना भइरहेका छन् । पर्सादेखि सप्तरीसम्म आगलागीका घटना बढिरहँदा दमकलको अभावमा ठूलो मात्रामा धनजनको क्षति बढिरहेको छ ।
पर्साको ग्रामीण क्षेत्रमा आगलागीका घटना बढेका छन् । सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म पर्साको विभिन्न तीन स्थानमा आगलागीका घटना भएका छन् । आगलागिबाट लाखौँ मूल्यको सम्पत्ति खरानी भएको छ । आगलागीकै कारण धेरै घरबारविहीन भएका छन् ।
पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकासित मात्र वारुणयन्त्र (दमकल) छन् । बाँकी दुई नगरपालिका र नौ गाउँपालिकासित दमकल नहुँदा टाढाबाट दमकल आउँदासम्म धनजनको क्षति भइसकेको हुन्छ ।
रौतहटमा पनि लगातार आगो लाग्ने घटना भइरहेको छ । एक हप्तामै गरुडा, ईशनाथ र मौलापुर नगरपालिकाका विभिन्न गाउँमा आगलागीका घटना भएका छन् । आगोका कारण दर्जनौँ घरमा क्षति पुगेको छ भने, करोडौँको क्षति भएको छ । पछिल्लो समयमा आगलागी भएका गरुडा, ईशनाथ तथा मौलापुर नगरपालिकासित दमकल छैन । रौतहटमा चन्द्रपुर र गौरसित मात्र दमकल रहेकाले आगलागीका घटना हुँदा दमकल आइपुगुन्जेल धेरै क्षति भइसक्ने गरेको छ ।
सर्लाहीमा पनि दुई वटा मात्र दमकल रहेका छन् । दक्षिणी क्षेत्रमा अवस्थित जिल्ला सदरमुकाम मलंगवा र उत्तरी क्षेत्रको लालबन्दीमा मात्र रहेको दमकलले भित्री भागमा आगलागी हुँदासम्म निकै धेरै क्षति भइसक्ने गरेको छ । गत आइतबार बसबरिया गाउँपालिका–३ मा रहेको मुसहरबस्तीमा दिउँसै आगलागी हुँदा दमकल पुग्नुअगावै कम्तीमा ११ घरमा क्षति भइसकेको थियो । ५ घरपरिवारको सम्पूर्ण सम्पत्ति नै आगोले खरानी भइसकेको थियो ।
महोत्तरीको मटिहानीमा फर्निचर उद्योगमा आगलागीः
अधिकांश जिल्लाको सदरमुकाम र उत्तरी राजमार्ग क्षेत्रमा मात्र दमकल रहेको तथा भित्री ग्रामीण क्षेत्रमा आगलागी हुँदा निकै क्षति हुने गरेको छ ।
पालिका सरकार गठन भएको करिब ७ वर्ष पुग्न लाग्दा पनि दमकल किन्न पालिकाहरू उदासीन देखिएका छन् । हरेक वर्ष आगलागिबाट अर्बौंको क्षति भइरहँदा पनि पालिकाहरूले दमकल किनेर सञ्चालन गर्न सकिरहेका छैनन् । सडक ढलान तथा भवन निर्माणमा बढी जोडबल गरिरहेका पालिका सरकारले आगलागीको नियतिबाट कम क्षतिको लागि उपाय नगर्दा ज्यादै धेरै क्षति हुने गरेको हो ।
सँगै रहेका दुई वा तीन पालिका मिलेर दमकल खरिद गरी सञ्चालनमा बराबर हिस्सेदारी गर्न सकिने भए पनि त्यसतर्फ पालिका सरकारहरू गम्भीर देखिएका छैनन् । क्षति भएपछि सहानुभूति र राहत दिन मात्रै अग्रसर देखिन्छन् स्थानीय तह । नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति राजकिशोर यादवले दमकल किन्नको लागि रेडक्रस तथा विपद् व्यवस्थापन समितिमार्फत पालिकाहरूलाई बारम्बार आग्रह गरेको तर सफल हुन नसकेको बताएका छन् । आगलागी पीडितलाई रेडक्रसले निरन्तर सहयोग गरिरहेको तर आगलागि भएमा तत्काल निभाउनका लागि दमकल नै आवश्यक रहेको यादवले बताए । पालिकाहरू उदासीन हुँदा आगलागीले क्षति हुने गरेको यादव बताउँछन् ।
गरुडा, गढीमाई, माधवनारायण सहितका नगरपालिका मिलेर एउटा दमकल किन्न प्रस्ताव गरेको तर आफू सफल हुन नसकेको रौतहटको गढीमाई नगरपालिका प्रमुख श्यामप्रसाद यादवले बताए । जनशक्ति व्यवस्थापन मुख्य चुनौती रहेको अवस्थामा ट्रयाक्टरवाला दमकल किन्न सकारात्मक रहेको उनको भनाइ छ । गरुडा नगरपालिकाले ट्रयाक्टरवाला मिनी दमकल खरिद गरेको र प्रभावकारी भएको अवस्थामा आफूले पुनः आसपासका पालिकालाई एउटा ठूलो दमकल किन्नका लागि पहल गर्ने बताएका छन् । आफूले कार्यपालिका बैठकमा तुरुन्त यस विषयमा प्रस्ताव राख्ने प्रतिबद्धता नगरप्रमुख यादवले गरेका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया