पर्यटनका लागि शीतगंगा

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गरेको आर्थिक विकास, पर्यटन प्रवद्र्धन र स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन अभियान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन भई विभिन्न प्रचारात्मक कार्यक्रममार्फत अगाडि बढेको महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए । अभियानको दोस्रो चरणअनुसार स्थानीय तहले सिफारिस गरेका जिल्लाका मुख्य १९ गन्तव्य मध्ये शीतगंगा नगरपालिकाको मुख्य तीन गन्तव्य डमरुदह, सूर्यगुफा, हृवाइलेखसँगै भुतियारह र बालुवाखोलामा पुगि सोमबार र मंगलबार स्थलगत रिपोर्टिङ भएको छ ।

देशकै सवैभन्दा ठूलो शीतगंगा नगरपालिका भौगोलिक विकटता भए पनि धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको ठूलो सम्भावना बोकेको पालिका भएको नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलले बताए । नगरप्रमुख पौडेलले भने, ‘प्रर्याप्त बजेट नहुँदा जनताको माग र आवश्यकताको आधारमा विकास गर्न सकेका छैनौँ, तैपनि निरन्तर लागेका छौँ, पर्यटन विकास र समृद्धिको महत्वपूर्ण क्षेत्र हो । शीतगंगा नगरपालिका यसका लागि योजनावद्ध रूपमा अगाडि बढेका छौँ, पत्रकार महासंघ जस्तै सबै सरोकारवाला प्रचारसँगै भौतिक पूर्वाधारको विकासमा लाग्नुपर्छ, सबैको साथ सहयोगको अपेक्षा गर्दछौँ ।’

शीतगंगा नगरपालिका आफैँमा ऐतिहासिक महत्व बोकेको सुन्दर, सफा, प्रकृतिको रमणीय नगरपालिका भएको नगरउप्रमुख गीता भाटले बताइन् । उपप्रमुख भाटले भनिन्, ‘जनताको सेवामा दिनरात नभनी लागेका छौँ, तैपनि जति बजेट हँुदा पनि भौगोलिक विकटताले गर्दा जनताका असीमित आवश्यकता सीमित स्रोत साधनले गर्दा विकास गर्न निकै कठिन भएको छ, अझ धेरै बजेटको आवश्यकता छ । त्यसका लागि संघ र प्रदेश सरकारसँग योजना माग गरेका छौँ, जिल्लाको दक्षिण क्षेत्रको विकासमा सबैले सहयोग गर्नुपर्छ’, उनले भनिन, ‘अब गाउँमा आर्थिक विकास र रोजगारीसमेत सिर्जना गर्नका लागि होमस्टे सञ्चालन गर्न लागेका छौँ, पालिकाले स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने गरी अगाडि बढाएका छौँ ।’


शीतगंगाको विकास र समृद्धिका लागि सबै पक्ष एक भएर लाग्नुपर्ने भन्दै पत्रकार महासंघले सञ्चालन गरेको अभियानमा नगरपालिकोको तर्फबाट सबै हिसाबले साथ समर्थन रहने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । क्याम्पसको स्तरोन्नतिसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने उद्देश्यले भविश्वर बहुमुखी क्याम्पसले आगामी वैशाख १ देखि महायज्ञ सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।

डमरु दहः

पर्यटकीय हिसाबले निकै आकर्षक र महत्त्वपूर्ण गन्तव्य हो शीतगंगाको डमरु दह । पूर्वपश्चिम राजमार्गको गोरुसिंगेबाट उत्तरतर्फ लागेपछि कपिलबस्तु जिल्ला र मधेसभूमिको सिमाना सँगसँगै समाप्त हुन्छ । उकालो लागेसँगै सुरु हुन्छ अर्घाखाँची जिल्ला । यहीँबाट अलिकति अगाडि बढेपछि अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका केन्द्र्र ठाडा बजार पुगिन्छ, यही ठाडा बजारमै छ, ठमरु दह ।

गोरुसिंगे सन्धिखर्क सडकखण्डको छेउमै रहेको यो दह गाडीबाटै देखिन्छ । किम्बदन्तीअनुसार रामले पाइला टेकेको ठाउँमा अलिकति भासिएर दह बनेको भन्नेछ । यो हेर्दा पाइलाकै आकृतिजस्तो पनि देखिन्छ । दहको आकार प्रकार हेर्दा दुई छेउमा फुकेको र बीचमा सुकेको डमरुजस्तो भएकाले डमरु दह भनी नामकरण गरिए होला भनी सहजै अड्कल लगाउन सकिन्छ । यो दहमा भएको पानी आकाशबाहेक अरू कुनै स्रोत छैन ।

तर, खडेरीमा पनि पानी नसुक्ने हुँदा पानीभित्रै नदेखिने भए पनि दह भने २७–२८ रोपनी जग्गामा अवस्थित रहेको छ । दहको परिसरसमेत जोड्दा ५३ रोपनी क्षेत्रफल रहेको छ । दहको उत्तर क्षेउमा बराह मन्दिर रहेको छ । जहाँ नित्यपूजा हुनुका साथै वैशाख पूर्णिमाका दिन बलि दिने र मेला लाग्ने गर्दछ । दह र यस क्षेत्रको प्राकृतिक सौन्दर्यता निकै आकर्षक र मनमोहक छ । पहिल्लो समय सेल्फी स्टान निर्माण भएकाले धेरै मानिहरू त्यहाँ फोटो खिच्न र डमरु दहमा रमाउन आउँछन् । सबैलाई लौभ्याउने प्राकृतिक मनोरम वातावरणमा रहेको अर्घाखाँची जिल्लाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो ।

सूर्य गुफाः

सूर्य गुफा शीतगंगा नगरपालिका–१४ पाव्राको पुच्छार वाणगंगा नदीको किनारभन्दा केहीमाथि अवस्थित छ । गुफामा बुद्धले पूर्णिमाको राती यहाँ देशना गरेको इतिहास छ । गुफाको रूपमा पनि चिनिने तलबाट चन्द्रमा उदाएको तस्बिर लिन नौ जनाको समूह गई गुफाको शिर र फेदीबाट युगन्दधर पर्वतबाट चन्द्रमा उदाएको तस्बिर लिइएको थियो ।

पूर्णिमाको दिन गुफामा बसेर हेर्दा महाभारत पर्वतमा जुन उदाएको देख्न सकिने र सोही दिन महासमय युक्त पाठ गर्ने प्रचलन रहेका स्थानीय चुडामणि कार्कीले बताए । साथै सो क्षेत्रमा बालकण्ठ धाम छ, जहाँ परापूर्वकालमा कुदेका शिलाहरू भेटाउन सकिन्छ ।

सूर्यगुफाको थप अनुसन्धानका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयबाट काम अगाडि बढेको समेत स्थानीय जानकारले बताए । जर्मन, थाइल्यान्डलगायत अन्य देशहरूबाट समेत यस क्षेत्रमा खोज, अनुसन्धान गर्न आउने गरेका छन् । गत वर्ष अनुसन्धान गर्न ठूलो समूह आएको स्थानीय वीरबहादुर खाम्चाकीले बताए । पूर्व फर्केको गुफामा बुद्धले पाँच सय भिक्षुहरूलाई उपदेश दिएको किम्बदन्ती छ । लुम्बिनीबाट नजिकै पर्ने यस गुफालाई महासमय स्थल पनि भन्ने गरिएको छ । बौद्ध धर्म र गौतमबुद्धको इतिहाससँग जोडिएको पर्यटकीय गन्तव्यमा पुगी अध्ययन अवलोकन गर्दा धेरै कुरा सिक्न र आनन्दको अनुभूतिसमेत हुने वडा अध्यक्ष दामोदर न्यौपानेले बताए ।

हृवाइट लेखः

शीतगंगा नगरपालिका–२ मा रहेको साउनेथुम शीतगंगा नगरपािलकाको सबैभन्दा अग्लो स्थान हो । यस स्थानबाट शीतगंगाको अधिकांश स्थानसहित अग्ला हिमाल र तराईका समथल फाँटसँगै भारतको गोरखपुरसम्म देख्न सकिन्छ । उक्त पहाडको निकै अग्लो स्थान घुम्न, पदयात्रा र पिकनिक स्थलको रूपमा उपयोग भइरहेको छ । हृवाटलेख प्राकृतिक शौन्दर्यको निकै महत्त्वपूर्ण स्थल हो । यस ठाउँमा शीतगंगा नगरपालिकाले वाइटवालसमेत बनाई पर्यटकलाई आकर्षित गरेको छ । प्रकृतिले दिएको अनुपम उपहारमाथि पहाडको टुप्पोसम्म पैदलयात्रा गरी जाँदा निकै उपयुक्त वातावरण पाइन्छ । समुन्द्री सतहदेखि माथिसम्म २२ सय मिटर उचाइ रहेको उक्त क्षेत्र सबैलाई लोभ्याउने निकै आनन्ददायी स्थान छ । यो स्थान प्राकृतिक मनोरम दृश्य र स्थानीय अर्गानिक खाना खान पाइने महत्त्वपूर्ण स्थलमा पुगी अध्ययन अवलोकन गरी प्रकृतिसँग रम्न सकिने जिल्लाको एउटा महत्त्वपूर्ण ठाउँ भएको वडा अध्यक्ष रामबहादु क्षेत्री गोर्खाले बताए ।

पछिल्लो समय आन्तरिक पर्यटक बढ्नुमा दाङबाट माता आई एक महिना तपस्या गरी बीचमा त्रिशूल राखेका कारण भएको स्थानीय श्रीधर खत्रीले बताए । सीतापुर बजारदेखि माथि टुप्पोसम्म पुग्दा निकै आनन्ददायी रमणीय वातावरणमा छ । जहाँ एकपटक पुगेपछि फेरि जाउँजाउँ लाग्छ ।

भूतिया रह तथा बालुवा खोलाः

शीतगंगा नगरपालिका–६ मा भुतिया रहसँगै बालुवा खोला अवस्थित रहेको छ । पहाडको खाँेचमा रहेको लामो र गहिरो रहमा गर्मी याममा दैनिकजसो मानिसहरू पौडी खेलेर रमाइलो गर्छन् । उक्त रह नजिकै प्राकृतिक हिसाबले पनि निकै आकर्षक ठाउँ भएकोले यहाँ करिब ४० जना विदेशी पर्यटक २८ दिनको प्याकेज बनाई बसिरहेका छन् । उनीहरू पौडी खेल्ने प्रकृतिसँग रमाउने, नयाँ नयाँ कुराहरू सिक्ने, लेख्ने पढ्ने चित्र कोर्ने, विभिन्न खेल खेल्ने र संगीत बनाउँछन् । भ्रमणमा आएका अमेरिकी नाथमले जेम्स नाथमले आफूहरू प्रकृतिसँग रम्न र केही पर्यटनबारे अध्ययन गर्न आएको भन्दै सुन्दर अर्घाखाँचीबारे यहाँका पत्रकारले प्रचार गरेकाले जानकारी पाएर आएको बताए ।

इटाली नागरिक भ्यालेन्टिन अम्निाटिनाले भनिन्, ‘केही अध्ययन अनुसन्धानका लागि काठमाडौं आएको थिए, पर्यटनका लागि उपयुक्त वातावरण अर्घाखाँची छ भन्ने जानकारी पाए, साथीहरूले पत्रकारले अभियान चलाउनुभएको छ, त्यहाँ जानुस् थप अध्ययन अनुसन्धानलाई सजिलो हुन्छ भन्नु भयो र आए निकै राम्रो वातावरण रहेछ खुसी लाग्यो ।’ देश विदेशका नागरिकसमेत हाम्रो वडामा आएर बस्दा वडा र सिंगो नगरलाई खुसी लागेकोे भन्दै जिल्लाभित्र र बाहिरका पर्यटकलाई उपयुतm क्षेत्र भएकोले एकपटक आउनुपर्ने वडा सदस्य सूर्य सारुले बताए । सुन्दर मनोरम दृश्य, कलकल बग्नेको खोला, सुनौलो आवाज, चिरबिर चराहरूको मधुर स्वर, चारैदिशा हरियाली, सफा स्वच्छ खाना जो कहीँलाई मन लोभ्याउने यस ठाउँमा पुग्दा सबैको मन प्रफुल्लित हुन्छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया