आन्तरिक पर्यटन प्रवर्द्धनका लागि भ्रमण

अर्घाखाँची । शनिबार बिहान चुत्राबेँसीबाट नाचगानसहित आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा निस्केको साथी सहकारीका पदाधिकारी, सेयर सदस्यसहित पत्रकारको टिमले नाचगान, धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको अध्ययन अवलोकन, प्रकृतिको मनोरम दृश्य क्यामरामा कैद गरे । भ्रमणका क्रममा विभिन्न मन्दिरमा दर्शन, जनप्रतिनिधि संघ भेटघाट स्थानीय परिकारकै खाना, स्थानीय पर्यटकीय तथा धार्मिकस्थलका समितिसँग भेट तथा स्वागत गरी उत्साहपूर्वक आन्तरिक भ्रमण गरेको छ ।

‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि घुमौँ अर्घाखाँची’ भन्ने मुख्य नाराका साथ साथी बचत तथा ऋण सहकारी संस्था निमिटेड सन्धिखर्कले साथी सामिप्यता कार्यक्रम अन्तर्गत अर्घाखाँची जिल्लाका सन्धिखर्क, मालारानी र छत्रदेव गाउँपालिकाका केही धार्मिक तथा पर्र्यटकीय गन्तव्यको आन्तरिक भ्रमण गरेको हो ।

सहकारीले सन्धिखर्क नगरपालिका–११ मा रहेको रक गार्डेन, मालारानी मन्दिरसँगै रहेको मनचिन्ते पानी, छत्रमहाराज मन्दिर, बलकोट पौवासँगै पथुरा गोपेश्वर पीठ लयायतका स्थानको भ्रमण गरेको जनाएको छ ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सञ्चालन गरिएको आर्थिक विकास, पर्यटन प्रवद्र्धन र स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्र्यटन प्रवद्र्धन अभियानको ऐक्यवद्धताका लागि जिल्लाको आन्तरिक भ्रमण गरिएको संस्थाका अध्यक्ष प्रकाश भुसालले बताए ।

अध्यक्ष भुसालले भने, ‘सेयर सदस्यका लागि हामीले नियमित भ्रमण गर्ने गरेका थियौँ, तर यस वर्ष जिल्ला बाहिर नभई पत्रकार महासंघको महाअभियानमा हाम्रो ऐक्यवद्धता स्वरूप जिल्लाभित्र नै भ्रमण गरेका हौँ, उनले भने, ‘फरक र नौलो भएको छ, विगतका वर्षहरूमा भन्दा यस वर्षको भ्रमण रमाइलो र उपलब्धिमूलक भएको महसुस हामीहरूले गरेका छौँ । आगामी दिनमा थप व्यवस्थित रूपमा जिल्लाका अन्य पर्यटकीय गन्तव्यमा समेत थप भ्रमण गर्ने योजना बनाएका छौँ ।’

२०६९ सालमा स्थापना भएको सहकारीले विभिन्न सामाजिक कार्यमासमेत काम गर्दै आएको छ । साथी सहकारी जिल्लाको नमुना सहकारी मध्येको एक हो । साथी सहकारीमा ३५ सय भन्दा बढी सेयर सदस्य २५ करोडभन्दा माथि पँुजी र १० वटा विभिन्न उपसमिति भएको सहकारीले विभिन्न कार्यक्रमअन्तर्गत सहकारीको आन्तरिक भ्रमण गरेको संस्थाका उपाध्यक्ष रुद्र श्रेष्ठले बताए ।

पत्रकारको अभियानले व्यापकता पाएसँगै छत्रदेव आई विभिन्न गन्तव्यको भ्रमण गरेकोमा साथी सहकारीलाई धन्यवाद दिँदै यस्तो अभियानलाई निरन्तर रूपमा चलाउनुपर्ने छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले भने, ‘केही दिनअगाडि हाम्रो पर्यटकीय स्थलहरूमा आएर पत्रकारहरूले व्यवस्थित रूपमा प्रचार गर्नुभयो । त्यसपछि केही फरक पर्न गयौँ, आज यति धेरै आउनुभयो, खुसी लाग्यो’, उनले भने, ‘मलाई पनि तपाईंहरूले नाच्ने नै बनाउनुभयो जिल्लाको विकासमा सबै मिलेर अगाडि बढ्नुपर्छ ।’

यति ठूलो संख्यामा पर्यटन प्रवद्र्धनका लागि मेरो वडाको बलकोट पौवामा आएका साथीहरूलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको छत्रदेव गाउँपालिका–२ का अध्यक्ष शंकर पाण्डेले बताए ।

साथी सहकारीले पत्रकार महासंघको अभियानलाई बलियो साथ दिएको भन्दै आगामी दिनमा पनि थप बलियो सहकार्य गरेर अगाडि बढ्ने नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनालले बताए ।

अध्यक्ष खनालले भने, ‘हामीहरू विगत ६ महिनादेखि विभिन्न कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन अभियानमा लागेका छौँ, हामीहरूलाई कुनै स्वार्थ छैन, जिल्लाको पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा थोरै भए पनि टेवा पुग्छ कि भनेर लागेका छाँै, सकरात्मक सोचका साथ एकआपसमा सहयोग गरी, जिल्लाको विकासमा अगाडि बढौँ ।’

बलकोट पौवामा आई यसको महत्व र ऐतिहासिकतालाई थप बल पुग्ने गरी गर्नुभएको भ्रमणले समितिलाई पनि थप हौसला र ऊर्जा मिलेको समितिका अध्यक्ष राजेश पन्थीले बताए ।

पत्रकार महासंघले सञ्चालन गरेको अभियान निकै राम्रो भएको भन्दै यसरी मालारानी मन्दिरमा सबैलाई स्वागत गर्न पाउँदा निकै खुसी लागिको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष लोकबहादुर बिसीले बताए । बास्तवमै पत्रकार महासंघले सञ्चालन गरेको अभियानमा सबैले साथ दिई अगाडि बढेमा जिल्लाको आर्थिक विकास गर्न टेवा पुग्ने भ्रमणमा रहेका साथी सहकारीका सदस्य कृष्ण आचार्यले बताए ।

सहकारीका आफ्नै मूल्य मान्यता र सिद्धान्तहरू रहेका छन् । खुल्ला तथा ऐच्छिक सदस्य, सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरूको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा तालिम र सूचना, सहकारी बीचको पारस्परिक सहयोग र समुदायप्रति चासो सहकारीका सात सिद्धान्तको सातौँ सिद्धान्तलाई अंगीकार गरी भ्रमण गरिएको सहकारी संस्थाले जनाएको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया