प्रतिष्ठाको लडाइँसँगै पहिचान र ‘हस्तक्षेप’को दाउपेच

इलाम उपनिर्वाचन

काठमाडौं । आगामी १५ वैशाखमा हुने इलाम– २ को उपनिर्वाचन राजनीतिक दलहरूका लागि निकै पेचिलो हुने संकेत देखिएको छ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले उम्मेदवारी मनोनययनको अघिल्लो दिन चुनावी मैदान छाडेको छ ।

इलाममा माओवादी केन्द्र उम्मेदवारी नै दिन नसक्ने गरी कमजोर थिएन । तर, एमालेले ज्यादै जोडबल गरेपछि मैदान छाड्नुपरेको माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना निकटस्थहरूसँग बताएका छन् । माओवादीको साथ–सहयोग एमाले उम्मेदवार सुहाङ नेम्वाङका लागि निकै ठुलो भरथेग हुन सक्ने विश्लेषण गरिएको छ ।

उपनिर्वाचनका लागि शनिबार विभिन्न राजनीतिक दलका तर्फबाट १२ जना र ८ स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू र पहिचानवादी समूहबाट डकेन्द्रसिंह लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य प्रतिस्पर्धा यिनै ४ उम्मेदवारबीच हुने अनुमान गरिएको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्तविक्रम शाह, नेपाली जनता दलबाट रेशमबहादुर सुनार, नेसनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरले उम्मेदवारी दर्ता गरेका छन् ।

आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची छ । चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने कार्यसूची छ भने वैशाख १५ गते मतदान हुनेछ ।

यो उपनिर्वाचनमा होमिएका ४ मुख्य प्रतिस्पर्धीमध्ये नेकपा एमाले र पहिचानवादी समूहका लागि जीवन–मरणको प्रश्न हो । त्यसैले एमालेले भएभरको ताकत खर्चका लागि कुनै कसर बाँकी राख्नेछैन । नेपाली कांग्रेसका लागि ‘आए आँप गए झटारो’ भन्ने उखान जस्तै हो । किनकि एक पटक काकतालीले नेपाली कांग्रेसले चुनाव जितेबाहेक २०४८ यता यो क्षेत्रबाट एमालेले चुनाव जित्दै आएको छ । गत आमनिर्वाचनमा समानुपातिकतर्फ प्राप्त भोट संरक्षण गर्न सक्यो भने नेपाली कांग्रेसका लागि जित जस्तै हो । त्यति भोट प्राप्त ग¥यो भने नेपाली कांग्रेसले चुनाव जित्छ ।

यसैगरी पहिचानवादी समूह र राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पनि यो उपचुनाव करिबकरिब जीवन–मरणकै प्रश्न हो । तत्कालीन प्रदेश १ लाई एमालेको जोडबलमा कोसी प्रदेश नामकरण गरिएपछि पहिचानवादीहरूले ‘किराँत’ प्रदेश नामकरण गर्नुपर्छ भन्दै आन्दोलन गर्दै आइरहेका छन् । आन्दोलनमा धेरै रगत बगिसकेको छ । यो निर्वाचन क्षेत्र करिब ७० प्रतिशत जनजाति मतदाता रहेको क्षेत्र हो । पहिचानवादी समूहका लागि यो उपनिर्वाचन जनमतसंग्रह जस्तै हो । यो उपनिर्वाचनमा पहिचानवादीले प्राप्त गर्ने मतसँग किराँत प्रदेश नामकरणको आन्दोलनको भविष्य जोडिएको छ ।

यसैगरी नवोदित पार्टी रास्वपाका लागि पनि यो उपनिर्वाचन धेरै नै महत्वपूर्ण हो । राजधानी काठमाडौँ उपत्याका, चितवन र तनहुँबाट केही सिट जितेको रास्वपालाई अहिलेसम्म क्षेत्रीय पार्टी भन्दा खासै फरक पर्दैन । सुदूरपूर्वी इलाममा रास्वपाले प्राप्त गर्ने मत अर्थपूर्ण हुन्छ । चुनाव नै जित्यो भने त चमत्कार भइहाल्यो ।
रास्वपाले परम्परागत दलहरूको राजनीतिमा हस्तक्षेप गर्ने नीति नै लिएको छ । पुराना दलहरूको कार्यशैलीको विरोध गरेरै नेपाली राजनीतिमा चर्चामा आएको सो दलले अबको चुनावमा अन्य दललाई बढार्ने र आफू बहुमतप्राप्त दल बनी देशको मुहार फेर्ने दाबी गर्दै आएको छ । यद्यपि पछिल्लो समय रास्वपाका नेता र तिनको कार्यशैलीमाथि निरन्तर प्रश्न उठ्न थालेकाले उसको अबको भविष्य के हो भनेर अहिल्यै आकलन गर्नु हतार हुनेछ ।

यदि इलामको उपनिर्वाचन रास्वपाले जितेको अवस्थामा आगामी २०८४ सालमा हुने आमनिर्वाचनमा अन्य परम्परागत दलको अवस्था नाजुक हुने विश्लेषण गरिएको छ । त्यसकारण पनि रास्वपा यो चुनाव जित्न हरसम्भव प्रयासमा छ भने अन्य दल जुनसुकै मूल्य चुकाएर भए पनि रास्वपालाई रोक्नुपर्ने पक्षमा देखिएका छन् ।

को हन् सुहाङ ?

व्यक्तित्वका हिसाबले मुख्य ४ प्रतिस्पर्धी उस्तैउस्तै देखिएका छन् । यी चारै जनाको राजनीतिक पृष्ठभूमि खासै लामो छैन । तर, पारिवारिक विरासतको हिसाबमा एमालेका उम्मेदवार नेम्वाङ विशेष चर्चामा छन् ।
सुहाङका बाजे रामबहादुर नेम्वाङ राणाकालकै वकिल हुन् । राजा महेन्द्रले उनलाई इलाम जिल्लाको न्यायाधीशसमेत बनाएका थिए । सुहाङका बाबु सुवास नेम्वाङ संविधानसभा अध्यक्ष, पूर्वसभामुख, पूर्वमन्त्री मात्रै नभएर सुविख्यात कानुनविद् पनि हुन् । ३४ वर्षीय सुहाङ पनि बाजे र बाबुको पदचिह्न पछ्याउँदै कानुन व्यवसायमा संलग्न छन् । पिता नेम्वाङको गत भदौ २६ गते निधन भएपछि पारिवारिक विरासतका आधारमा उनले नेकपा एमालेबाट टिकट पाएका हुन् ।

को हुन् डम्वर खड्का ?

नेपाली कांग्रेसले उम्मेदवार बनाएका डम्बर खड्का निर्माण व्यवसायी हुन् । उनी यतिबेला नेपाली कांग्रेसको जिल्ला सभापति छन् । खड्का यसअघिको १३औँ अधिवेशनमा पनि सभापतिका दाबेदार थिए, तर जित्न सकेनन् । त्यसअघि १२औँ अधिवेशनमा कोषाध्यक्ष बनेका थिए ।
खड्कासँग नेविसंघको राजनीति गरेको अनुभव छ । उनी नेविसंघको १२औँ अधिवेशनबाट केन्द्रीय उपाध्यक्षसमेत बनेका थिए । उनी २०७४ को चुनावमा इलाम–२(क) बाट चुनाव लडेका थिए । खड्का तत्कालीन वाम गठबन्धनका उम्मेदवार राम रानासँग पराजित भएका थिए ।

प्रदेशसभा चुनाव हारेका खड्का २०७९ को आमचुनावमा प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए । उनी इलामको प्रतिनिधिसभा–१ बाट चुनाव लड्न चाहन्थे । तर, तत्कालीन कांग्रेस–माओवादी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल उम्मेदवार बन्दा खड्का इलाम–२ तिर फड्किएका थिए । त्यतिबेला एमाले उम्मेदवार नेम्वाङसँग ज्यादै कम मतान्तरले पराजित भएका खड्का इलाममा स्पष्ट वक्ता र विकासवादी नेताका रूपमा चिनिन्छन् ।

को हुन् मिलन लिम्बू ?

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका लिम्बू निकै लामो समय नेकपा एमालेका कार्यकर्ता थिए । केही वर्ष नेकपा (माओवादी केन्द्र) निकट भएर काम गरे । उनी पूर्वपत्रकार पनि हुन् । लिम्बूले दृष्टि साप्ताहिकमा सम्पादक भएर काम गरिसकेका छन् । उनले केही टेलिभिजनमा समाचारवाचकका रूपमा पनि काम गरेका थिए ।

माओवादी पार्टी परित्याग गरेको घोषणा गर्दै उनले इलाम–२ का लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । इलाम घर भएका उनै लिम्बूलाई रास्वपाले आफ्नो उम्मेदवार बनाएको हो । एमालेले युवा उम्मेदवार अगाडि सारेपछि रास्वपाले पनि जनजाति पृष्ठभूमिका लिम्बूलाई उम्मेदवार बनाएको हो ।
उपनिर्वाचन नजिकिएसँगै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै निर्वाचन क्षेत्रमा अभियान थालेका थिए । आफूलाई अकबरे उम्मेदवार भन्दै प्रचार गर्दै आएका उनी केही महिना पहिचानवादी आन्दोलनमा पनि लागेका व्यक्ति हुन् ।

पहिचानवादीको पृष्भूमि

पहिचानवादीहरूका तर्फबाट साझा उमेदवार बनेका डकेन्द्रसिंह लिम्बू पूर्वएमाले कार्यकर्ता हुन् । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट उनले आन्दोलनको अगुवाइ गर्दै आएका छन् । २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपंक्तिमा सशक्त नेतृत्व गर्दै आएका लिम्बू संघर्ष समितिका अध्यक्षसमेत हुन् ।

लिम्बूलाई किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाति महासंघ, किराँत राई यायोक्खा, नेपाल शेर्पा संघलगायत करिब आधा दर्जन संघसंस्थाहरूको साथ सहयोग छ । किराँत धर्म तथा साहित्य उत्थान संघको अध्यक्षसमेत रहेका लिम्बू लामो समयदेखि किराँत धर्म तथा साहित्य, उत्थानका लागि काम गर्दै आएका छन् ।

उनी किराँत धर्मगुरु आत्मानन्द लिङदेनका विश्वास पात्र मानिन्छन् । यो क्षेत्रमा धर्मगुरु आत्मानन्दले करिब ५ हजार हाराहारी मत यताउता गर्न सक्ने बताइन्छ । अहिलेसम्म धर्मगुरु आत्मानन्दले एमालेलाई साथ सहयोग गर्दै आएका थिए ।

को हुन् आत्मानन्द ?

इलामको माङ्सेबुङस्थित किराँत धर्मको आस्था केन्द्र मानिने लारुम्बामा धर्मगुरु आत्मानन्द लिङ्देन बस्छन् । उनका चेलाहरूको संख्या मात्रै लारुम्बामा करिब २ हजार छ । उनको आशीर्वादबिना इलाममा चुनाव जित्न असम्भव रहेको बताउने गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला धर्मगुरुको आग्रहबमोजिम सरकारले किराँत धर्मगुरु फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

किराँत धर्म दर्शनका व्याख्याता तथा बिसौँ शताब्दीका महान सुधार मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको पुनः अवतारका रूपमा आत्मानन्दलाई किराँत धर्मावलम्बीले सम्मान गर्छन् ।

यसपटक आत्मानन्दको साथ पहिचानवादी समूहका उम्मेदवार डकेन्द्रसिंह लिम्बूले पाउने निश्चित भएपछि एमालेले माओवादीसँग गुहार मागेको हो ।

प्रतिक्रिया