पर्यटनका लागि छत्रदेव

कलात्मक रूपमा विभिन्न ठाउँमा झ्यालढोका, टुँडाल, बतासी, ढोका निर्माण भएको छ । पौवापरिसरभित्र छोटो ऐतिहासिक कथन उल्लेख भएको कर्णेल सनकसिंह टण्डनको सालिक पनि रहेको छ । पौवा भएकै पर्खालभित्र परशुरामेश्वर मन्दिर पनि छ । जहाँ दैनिक नित्य पूजाका साथै शिवरात्री, एकादशी र रामनवमीजस्ता विशेष दिनहरूमा भजनकीर्तनजस्ता कार्यक्रम हुने गरेको स्थानीयले बताए । बल्कोट पौवा पुग्दा सबैले रमाइलो र आनन्दको महसुस गर्दछन् । जिल्ला र आसपाससँगै नेपालका विभिन्न क्षेत्रबाट दैनिकजसो पर्यटकहरू आउन थालेको स्थानीयको भनाइ छ

हृदय भुसाल

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आर्थिक विकास, पर्यटन प्रवद्र्धन र स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरेको छ । सो कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भई विभिन्न प्रचारात्मक कार्यक्रममार्फत अगाडि बढेको पत्रकार महासंघले जनाएको छ ।

अभियानको दोस्रो चरणअनुसार स्थानीयतहले सिफारिस गरेका जिल्लाका मुख्य १९ गन्तव्य मध्ये बुधबार छत्रदेव गाउँपालिकाका मुख्य तीन गन्तव्य छत्रमहाराज मन्दिर, बल्कोट पौवा, कालिका देवी भगवती मन्दिरसँग रहेका अन्य पर्यटकीय स्थानमा पुगी स्थलगत रिपोर्टिङ गरेको छ ।

मुख्य पर्यटकीय गन्तव्य बलकोट पौवाः

बलकोट पौवा छत्रदेव गाउँपालिका–२ मा रहेको बल्कोट पौवाको नामले चिनिएको निक्कै कलात्मक पौवा हो । कलात्मक मात्र नभई यसको ऐतिकासिक महत्व पनि उत्तिकै छ । सबैभन्दा लामो पार्टी लामपार्टी अर्घाखाँची जिल्लाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । यो ठाउँमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको न्वारान भएको भन्ने किंबदन्ती रहेको स्थानीय गोपिलाल खनालले बताए ।

जंगबहादुरका पिता बलानरसिंह कुँवर अर्घाखाँचीभन्दा पश्चिमका क्षेत्रमा सैनिक अधिकृतमा कार्यरत रहेकाबखत उनकी श्रीमती गर्भवती भइन् । यतिबेलाको चलनअनुसार हिँड्दै जाँदै गर्दा बल्कोटभन्दा अलिकति पश्चिमतिर रहेको लामपाटी भन्ने ठाउँमा बास बसैकै बेलामा उनी सुत्केरी भइन् । त्यसरी सुत्केरी भएको नवौँदिनसम्म उनीहरू त्यहीँ बसेकोे र १०औँ दिन बल्कोट पुगेको र सोही बल्कोट पौवामा न्वारान गरेको स्थानीयले बताए ।

सोही समयमा अर्घाखाँची अर्थात यही क्षेत्रकै सनकसिंह टण्डन सेनाको माथिल्लै तहमा पुगिसकेका थिए । उनकी एक बहिनी जंगबहादुरले विवाह गरेका थिए । १९०३ सालमा जंगबहादुर प्रधानमन्त्री बनेपछि कर्णेल सनकसिंह टण्डनले जंगबहादुरको इतिहासलाई अमर बनाउन भन्दै आफूले स्थापना गरेको गुठीमार्फत जंगबहादुरको न्वारान भएको ठाउँ बल्कोट पौवा बनाउन लगाएको किंवदन्ती रहेको छ । बल्कोट पौवा निर्माण तथा त्यहाँ भएका सबै इँटाहरू भक्तपुरबाट ल्याई कलात्मक रूपमा निर्माण गरिएको छ ।

यसलाई अझै व्यवस्थित गरी गुठी समिति र पालिकामार्फत अगाडि बढाउन यस क्षेत्रकै महत्त्वपूर्ण धरोहरको रूपमा रहेको धेरै धार्मिक पर्यटकीय गन्तव्यलाई विकासमा लागेको छत्रदेव–२ का वडा अध्यक्ष शंकरप्रसाद पाण्डेले बताए । ऐतिहासिक ठाउँ बल्कोट पौवा आकर्षक र एकपटक घुम्न पर्ने ठाउँ भएको हुँदा सबैलाई अवलोकन गर्न मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश पन्थीले आग्रह गरे । बल्कोट पौवामा होमेस्टे सञ्चालन गरी आउने आन्तरिक तथा वाह्य पर्यटकलाई प्रकृतिको आनन्दमय वातावरणमा बस्ने व्यवस्था गर्न लागिएको वडा–३ का वडा अध्यक्ष तेजुलाल खनालले बताए ।

कलात्मक रूपमा विभिन्न ठाउँमा झ्यालढोका, टुँडाल, बतासी, ढोका निर्माण भएको छ । पौवापरिसरभित्र छोटो ऐतिहासिक कथन उल्लेख भएको कर्णेल सनकसिंह टण्डनको सालिक पनि रहेको छ । पौवा भएकै पर्खालभित्र परशुरामेश्वर मन्दिर पनि छ । जहाँ दैनिक नित्य पूजाका साथै शिवरात्री, एकादशी र रामनवमीजस्ता विशेष दिनहरूमा भजनकीर्तनजस्ता कार्यक्रम हुने गरेको स्थानीयले बताए । बल्कोट पौवा पुग्दा सबैले रमाइलो र आनन्दको महसुस गर्दछन् । जिल्ला र आसपाससँगै नेपालका विभिन्न क्षेत्रबाट दैनिकजसो पर्यटकहरू आउन थालेको स्थानीयको भनाइ छ ।

पर्यटकीय गन्तव्य छत्र महाराज मन्दिरः

छत्रदेव महाराजको मन्दिर अर्घाखाँची जिल्लाको उतरपूर्वमा छत्रदेव गाउँपालिका–५ मा अवस्थित छ । सोही मन्दिरको नामबाट यस पालिकाको नामसमेत रहन गएको हो । यसको इतिहास महाभारतको युद्धसँग जोडिएको रोचक तथ्य पनि छ । उल्कनगरी भनिने यसठाउँमा बर्बरिक राजा थिए । तिनले १० वटी देवीको कठोर तपस्या गरेर आफ्नो मागअनुसार युद्ध हार्नेलाई जित्ने र जित्नेलाई हार्ने बनाउन सक्ने वरदान प्राप्त गरेका थिए भनिन्छ ।

महाभारतको युद्ध हुने थाहा पाएपछि बर्बरिक राजा त्यो हेर्नका निम्ति कुरु क्षेत्रतर्फ प्रस्थान गरे । निमन्त्रणा नपाएरै पनि कुुरु क्षेत्रमा उपस्थित भएका उनलाई देखेर श्रीकृष्णले ब्रम्हाको भेष धारण गरेर परिचय माग्दा आफूसँग त्रिशक्त भएको बर्बरिकले भनेको बताइन्छ । त्यसपछि महाभारत युद्धका लागि बर्बरिकको टाउको मागियो । बर्बरिकले टाउको श्रीकृष्णलाई दिए र महाभारतको युद्धमा पाण्डवहरूले विजय हासिल गरे ।

पाण्डवहरूले आफ्नो विजय भएको भन्ने बारेमा विवाद हुँदा श्रीकृष्णले बर्बरिकको कारणले विजय भएको पाण्डवहरूलाई सुनाएको इतिहास छ । महाभारतको युद्ध सकिएपछि बर्बरिक टाउकोलाई के के देख्यौँ त भनेर सोध्दा मैले त युद्धमा श्रीकृष्णले वाण चलाएको र कालीमाताले रगत भुइँमा चुहिन नदिई पिएको मात्र देखँे अनि भुसुनाहरू उडेको र खसेको जस्तो लाग्यो भनेछन् ।

त्यसपछि पाण्डवहरूले सत्यकुरा थाहा पाएपछि तिम्रो अन्तिम इच्छा के छ ? भनेर सोध्दा मेरो आफ्नो उलुक राज्यमा गएर बस्न इच्छा रहेको भनेपछि पाण्डवहरूले बर्बरिक राजालाई सोहीअनुसार पाण्डवहरूलाई बर्बरिकको शिर बोकाएर नेपालतिर पठाएको उल्लेख छ । बर्बरिकको शिरले आफ्ना पूर्वनित्य कर्मको अनुशरण गर्दे पहिलेकै ठाउँमा आएर आफूलाई विश्राम दिएको भन्ने भनाइरहेको मन्दिरका पुजारी रमेश भट्टराईले बताए ।


छत्रमहाराज मन्दिरको महाभारतमा समेत उल्लेख गरिएको हुँदा लामो र महत्त्वपूर्ण इतिहास रहेकाले उक्त मन्दिरमा आएर एकपटक दर्शन गर्नुपर्ने गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।

महाभारतको युद्धसँगसमेत इतिहास जोडिएको छत्रदेव गाउँपालिको छत्रमहाराज मन्दिरमा आएर पूजाआजा गरेपछि मनोकाच्छा पूरा हुने गरेको दर्शालु भक्तजनले नै बताउने गरेकाकाले आफू पटकपटक आउने गरेको गाउँपालिका उपाध्यक्ष मनि पन्थीले बताइन् ।

ऐतिहासिक छत्रमहाराजको विकासको निम्ति आफूहरू निरन्तर लागिरहेको सोही वडाका अध्यक्ष बालकृष्ण पोखरेलले बताए । पहिलेदेखि नै यस मन्दिरमा भत्तजनहरू आउने गरेकोे वडा–७ का वडा अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए । नियमित पूजाआजा र आइबारका दिन मन्दिर खुल्ने त्यसबाहेक वडादसैँ, जेठे पूर्णिमा, चैतेदसैँमा मेला लाग्नाका साथै वार्षिक रूपमा सात भेडा, दुई राँगा, दुई भाले चन्दादाताबाट सहयोग लिएर बलि दिने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर रायमाझीले बताए ।

निकै महत्वपूर्ण इतिहास रहेको छत्रमहाराज मन्दिरमा आई अवलोकन गर्न स्थानीयले आग्रहसमेत गरेका छन् ।

पर्यटकीय गन्तव्यः कालिकादेवी भगवती मन्दिर

जिल्लाको छत्रदेव गाउँपालिका–४ मा कालिका भगवती मन्दिर रहेको छ । महाभारतकालीन समयमा छत्रमहाराजले यिनै देवी भगवतीबाट वर पाएको भन्ने भनाइ रहेको छ । १८९८ सालमा स्थापना भएको मन्दिरलाई कालिका भगवती महाराजकी कुलदेवी पनि भन्ने गरिन्छ । यो मन्दिरबाट बहुचर्चित अर्घाखाँची जिल्लाको कालिका नाच, सराय नाचसमेत निकाल्ने गरिन्छ । यो मन्दिरमा प्रत्येक आइतबार पूर्णिमा, नवदुर्गामा पनि पूजा गरिने पुजारी कविराज पौडेलले बताए ।

पहिलेदेखि नै मन्दिरमा अवलोकन गर्न पूजा आजा गर्न गुल्मी, पाल्पाबाट आउने भक्तले भाकल गर्ने र मनोकांक्षा पूरा हुने किंवदन्ती रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शोभाखर खनालले बताए । विभिन्न चन्दा सहयोगमार्फत मन्दिरको विकास गर्दे निकै आकर्षण बनाउन सफल भएको र सबै सरोकारवालाले विकासमा थप सहयोग गर्नुपर्ने भन्दै सबैले एकपटक अवलोकन गर्नुपर्ने वडा–४ का वडा सदस्य प्रकाश बन्जाडेले बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया