‘चिसो मान्छे’ र ‘घुर्रा’ उत्कृष्ट

काठमाडौं । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ ले उत्कृष्ट लघुचलचित्रको अवार्ड जितेका छन् । दिपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चिसो मान्छेबाटै अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् । यसैगरी, बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘घुर्रा’ को लेखन तथा निर्देशन रंगकर्मी मोहन अभिलाषीले गरेका हुन् ।

हरिवंश आचार्यले चलचित्र ‘महापुरुष’ बाट उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । यस्तै, चलचित्र ‘छक्का पन्जा ४’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले छक्का पन्जा ४ बाटै जुरी मेन्सन अवार्ड पाउन सफल भएकी छन् । राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्रमा ‘थिम’, वातावरणीय चलचित्रमा ‘दिअर इज नो टुमारो’, उत्कृष्ट डकुमेन्ट्रीमा ‘मकै विवाह’, उत्कृष्ट महिला चलचित्र ‘द गोर्खा गर्ल’, उत्कृष्ट बालचलचित्रमा ‘इअर्ली होम’ ले अवार्ड पाएको छ भने स्पेसल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ ले पाएका छन् । लघुचलचित्र ‘साउण्ड अफ ड्रिमिङ’ बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायांकारको अवार्ड पाए । सो कार्यक्रममा मिथिला शर्मा, भुवन चन्द, हरिवंश आचार्य, दीपाश्री निरौला, सुश्मा कार्की, आर्यन सिग्देल, मोहन निरौलालगायतका कलाकारको उपस्थिति रहेको थियो ।

चलचित्र महोत्सवमा विभिन्न विधाका उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तर्राष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड प्रदान गरिएको थियो । अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट चलचित्र भारतको ‘मुझे स्कुल नही जाना’ र लघुचलचित्रमा बेलायतको ‘नो फ्रिडम नो आर्ट’ ले अवार्ड पाए । बंगलादेशको प्रशुन रहमानले चलचित्र ‘डियर सत्यजित’ बाट उत्कृष्ट निर्देशक अवार्ड पाए । उत्कृष्ट महिला चलचित्रमा पाकिस्तानको ‘इन्टरभल’, डकुमेन्ट्रीमा बहराइनको ‘शैख अल तानवीर’, बालचलचित्रमा भारतको ‘शट बुट थ्री’, वातावरणीय चलचित्रमा साउथ अफ्रिकाको ‘द लास्ट सिड’, मानव अधिकार चलचित्रमा बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माइल्स गन’ ले अवार्ड प्राप्त गरेको छ ।

उत्कृष्ट अभिनेतामा बंगलादेशको चलचित्र ‘जुद्धो जोएर किशोर नायक’ बाट अतिक्युर रहमान शिहान, अभिनेत्रीमा क्यानडाको चलचित्र ‘जेन’ बाट जोभान्ना बुर्की, उत्कृष्ट लेखकमा चेक रिपब्लिकको ‘सेक्रेट्स अफ एन वल्र्ड गन टु’ बाट इभो मचारेक, उत्कृष्ट छायांकारमा अमेरिकाको ‘द ट्रु समिट’ बाट कोर्बन रबीले अवार्ड पाएका छन् । जुरी मेन्सन अवार्ड नेपालमा छायांकन गरिएको जर्मनीको ‘नमस्ते हिमालय’ र स्पेसल मेन्सन अवार्ड फ्रान्सबाट ‘इमाकुलेट’ र पाकिस्तानको ‘समटाइम्स इभन द सोर ड्रन्स’ ले पाएको छ । चलचित्र विकास बोर्डको हलमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भएको थियो । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा अभिनेत्री आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्तिप्रिय, जय निशान्त र सुवास प्रधान रहेका थिए ।

त्यस्तै, अन्तर्राष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर रहेका थिए । भारतका मुश्ताक अलि, जर्मनीका जान स्लेक, सर्बियाकी ल्जुबिन्का, पोल्यान्डकी म्याग्डालेना महोत्सवमा उपस्थित रहेका थिए । तीनदिने महोत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डमा गरिएको थियोे भने समापन चलचित्र विकास बोर्डको हलमा गरिएको थियो । महोत्सवमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनसँगै प्यानल डिस्कसन र मास्टर क्लाससमेत भएको थियो । चलचित्र विकास बोर्डमा सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्रसम्बन्धी कार्यशाला दिएकी थिइन् । अन्तिम दिन भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास दिएका थिए । चलचित्र महोत्सवको समापन गर्दै महोत्सव निर्देशक सन्तोष सुवेदीले देश तथा विदेशबाट चलचित्र क्षेत्रलाई माया गरेर उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया