शरिफसँग बाइडेनको पत्राचारको रणनीतिक सन्देश

आफ्नो गिर्दो आर्थिक अवस्थाबाट बाहिर निस्कनका लागि पाकिस्तानलाई आइएमएफ र विश्व बैंकको ऋणको आवश्यकता छ । अमेरिकी प्रभावका ती विश्वका वित्तीय संस्थाहरूले पाकिस्तानलाई त्यतिबेला मात्र ऋण दिनेछन् जब पाकिस्तानले अमेरिकी रणनीतिक हितलाई पूरा गर्नेछ । हालका लागि अमेरिका यस कुरामा सावधान रहँदै गएको देखिन्छ कि उसले भारतसँगका आफ्ना व्यापक राणनीतिक सम्बन्धमा नकारात्मक प्रभाव पर्न दिइनु हुँदैन । त्यसै कारणले हो कि पाकिस्तानमा भारतसँग व्यापारिक सम्बन्ध बहाल गर्ने विषयमा चर्चा सुरु भइसकेको छ ।

लोकनारायण सुबेदी

आफ्नो राष्ट्रपतीय कार्यकालको समाप्तिभन्दा पहिला अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तानका प्रधानमन्त्री शबास शरिफलाई एउटा पत्र लेखेका रहेछन् । जसको अत्यन्तै दूरगामी परिणाम हुने अनुमान विश्लेषकहरूले गरिरहेका छन् । हुन त दुई देशका शासन प्रमुखहरूका बीच आपसी संवाद आजकल फोनबाटै पनि हुने गर्दछ र प्रायजसो त्यसै हुने गर्दछ पनि । तर, बाइडेनले पत्रै लेखेर जुन महत्वपूर्ण सन्देश भारतलगायत अन्य क्षेत्रका देशहरूलाई दिन खोजेका छन् त्यो निकै नै महत्वपूर्ण ठानिँदै छ । यसले अमेरिका र पाकिस्तानको सम्बन्धमा नयाँ निकटताको अर्को अध्याय थपेको त मानिँदैछ नै । यसमा अझ ध्यान दिइनुपर्ने कुरा के उल्लेख गरिन्छ भने यो पत्र इस्लामावादमा रहेको अमेरिकी दूतावासले सार्वजनिक गरेको छ । त्यस पत्रमा सबैभन्दा महत्त्वपूर्ण कुरा के रहेको छ भने अमेरिका र पाकिस्तान क्षेत्रीय र विश्व मामिलामा ‘राजनीतिक सहयोग’ जारी राख्नेछन् । यो राजनीतिक सहयोग भन्ने शब्दावली भारतका लागि चिन्ता र चासोको विषय भएको या हुनसक्ने एकथरी भारतीय विश्लेषकहरूले बताएका छन् । तर, यसको भित्री मकसद भने त्योभन्दा अझ भिन्न र महत्त्वपूर्ण रहको औँल्याउँदै छन् । यस सम्बन्धमा उनीहरू के पनि भन्दैछन् भने यो बाइडेनले यो पत्र त्यतिबेला लेखेका छन् जतिबेला भारतमा आमनिर्वाचन हुन लागेको छ र अमेरिकाले भारतलाई लोकतन्त्रको उपदेश दिइरहेको छ ।

अमेरिकाको रणनीतिक लक्ष्य एकदमै स्पष्टै छ । अमेरिकाले पाकिस्तानबाट चीनलाई बेदखल गर्न चाहन्छ र इरानका विरुद्ध पाकिस्तानलाई खडा गर्न चाहन्छ । यस सम्बन्धमा के पनि उल्लेख गरिन्छ भने पाकिस्तानमा इमरान खानको सत्ताबाट हटाउनका लागि अमेरिकाले निकै ठूलो भूमिका खेल्यो । इमरान खान पार्टीका नेताहरूको कुरा सुन्ने हो भने अमेरिका शहबाज शरिफ सरकारलाई आफ्नो मुठ्ठीको कठपुतलीसरह चलाउन चाहन्छ । भनिन्छ आफ्ना अनेक राजनीतिक कमजोरीका रहँदारहँदै पनि इमरान खानले पाकिस्तानलाई स्वतन्त्र विदेश नीतिको बाटोमा लान खोजेका र त्यसका निम्ति कोसिस गरेका थिए । त्यसै सिलसिलामा उनी रुसको भ्रमणमा पनि गएका थिए । भनिन्छ त्यही उनको सत्ता–राजनीतिक कार्यकालको अन्त्यको सुरुआत भएको र एउटा प्रमुख कारक बन्न पुग्यो ।

पाकिस्तानको राजनीतिक उथलपुथलको क्रममा पाकिस्तानका सेना अध्यक्ष असिम मुनिर र गुप्तचर एजेन्सी आइएसआई प्रमुखले वासिंगटनमा अमेरिकी उच्च अधिकारीहरूसँग कुराकानी पनि गरेका बताइन्छ । त्यसैले विश्लेषकहरू सहज अनुमान के लगाउने गर्दछन् भने त्यसै क्रममा पाकिस्तानको भावी राजनीतिक परिदृष्यको लेखाजोखा गरियो होला । हुन पनि बितेका केही दिन पहिला पाकिस्तानमा चीनको आर्थिक हित विरुद्धमा भएको पनि देखियो र त्यसमा चीनका प्रशिक्षितकर्मीहरू पनि मारिएका थिए । यसका अतिरिक्त अमेरिकाको तर्फबाट के पनि स्ष्ट गरिएको बताइन्छ भने अमेरिका इरान–पाकिस्तान तेल ग्यास पाइपलाइनको पक्षमा छैन ।

आफ्नो गिर्दो आर्थिक अवस्थाबाट बाहिर निस्कनका लागि पाकिस्तानलाई आइएमएफ र विश्व बैंकको ऋणको आवश्यकता छ । अमेरिकी प्रभावका ती विश्वका वित्तीय संस्थाहरूले पाकिस्तानलाई त्यतिबेला मात्र ऋण दिनेछन् जब पाकिस्तानले अमेरिकी रणनीतिक हितलाई पूरा गर्नेछ । हालका लागि अमेरिका यस कुरामा सावधान रहँदै गएको देखिन्छ कि उसले भारतसँगका आफ्ना व्यापक राणनीतिक सम्बन्धमा नकारात्मक प्रभाव पर्न दिइनु हुँदैन । त्यसै कारणले हो कि पाकिस्तानमा भारतसँग व्यापारिक सम्बन्ध बहाल गर्ने विषयमा चर्चा सुरु भइसकेको छ । भारतमा भने यतिबेला लोकसभा चुनावको मौसम भएकाले पनि उपमहाद्वीपमा बदलिँदै गएको शक्ति समीकरणमाथि खासै महत्व दिने कुरामा ध्यान केन्द्रित छैन । चुनावपछि बन्ने सरकारले त्यसबारे प्राथमिकता र झुकाव के कस्तो हुने प्रष्ट पार्ला नै । यसैबीच युक्रेनका विदेशमन्त्री कुलेवाको भारत यात्रालाई भारतीय विदेशमन्त्री एस जयशंकरले निकै चतुर तरिकाले व्यवस्थापन गरेको बताइँदै छ । पहिला के सन्देह गरिँदै थियो भने रुसले कुवेलाको भारत भ्रमणलाई पचाउन कठिन छ । तर, उनको त्यो यात्रापछि भारतीय विदेश मन्त्रालयले जुन विज्ञप्ति निकाल्यो त्यसमा रुसको उल्लेखसम्म पनि गरेन ।

आउँदा केही महिनाको समयमा पश्चिम एसियाको संकटको केन्द्रबिन्दु इरान बन्ने देखिँदै छ । गाजा नरसंहार बर्बादीको समयमा इरान अमेरिकाको राडारमा केही धुमिलजस्तो देखिन पुगेको थियो । अब भने अमेरिका र इजरायललाई कुन चिन्ताले सताउन थालेको उल्लेख गरिन्छ भने इरानका परमाणु संस्थाहरूले खुलासा गरिरहेका छन् कि इरानसँग झण्डै एक दर्जन परमाणु बम बनाउन सक्ने परिष्कृत युरेनियम उपलब्ध छ । यसमा हरेक साता वृद्धि पनि भइरहेको छ । यो यस्तो रेडलाइन हो जसलाई पार गर्ने अनुमति अमेरिकाले दिन सक्तैन भन्ने ढोल पनि पिटिँदै छ । यस रणनीतिक लक्ष्य पूरा गर्नमा पाकिस्तानले अमेरिकाको निम्ति निर्णायक भूमिका खेल्नसक्ने देखिन्छ ।
शिया–सुन्नी धार्मिक विभाजनलाई तुल दिएर अमेरिका साउदीअरब, कतार, युएई र बहराइनजस्ता देशहरूसँग इरान विरोधी मोर्चा कायम गर्नसक्ने सम्भावना पनि त्यत्तिकै छ । हुन त हालै इरानले रुस र चीनसँग मिलेर त्यस क्षेत्रमा ठूलो स्तरमा नौ–सैनिक अभ्यास पनि गरेको छ । जे भए पन कुन सन्देहलाई अस्वीकार गर्न सकिँदैन भने आउँदा दिनहरूमा त्यो समुद्र क्षेत्रमा ठूलो आगो लाग्न पनि सक्तछ । तर, स्थिति विकास बाइडेन र सरिफले सोचेजस्तो सरल रेखामा जाला भनेर निष्कर्ष निकाल्न पनि उपयुक्त नहुन सक्छ । आजको विश्व परिवेशलाई समग्रमा हेरेर मात्र स्थिति विकास कसरी होला ठम्याउन सकिन्छ । चीनको बढ्दो विश्व प्रभाव र शक्तिलाई ध्यानमा राखेर बनाइएको क्षेत्रीय र विश्व रणनीतिको हिसाबकिताब चीनले पनि लिने कुरा निश्चितै छ ।

यसैबीच अमेरिकी र पश्चिमा देशका सञ्चार माध्यमहरूमा भारत विरोधी दुष्प्रचार नयाँ शृंखला भइरहेको पनि भारतको गुनासो छ । न्युयोर्क टाइम्स, द इकोनमिस्ट र टाइम म्यागाजिनजस्ता प्रसिद्ध पत्रपत्रिकाहरूले निज्जरको हत्याका लागि भारतीय एजेन्सीहरूलाई नै दोषी ठह¥याइरहेका छन् । क्यानडाले लगाएको यो आरोप पुष्टि भयो भने भारतका लागि निकै महँगो पर्ने लगभग निश्चित भएको छ । किनकी अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘भारतलाई यस्तो छुट नहुने’ अभिव्यक्ति दिइसकेका छन् । अझ उदेकलाग्दो त भारतीय समीक्षकहरू के मानिरहेका छन् भने त्यस्ता दोष लगाइएका धैरैजसो लेखहरू भारतीय मूलकै मानिसहरूले लेखेका छन् ।

भारतका सञ्चारमाध्यमहरूमा आतंकवादी निज्जरको हत्यालाई लिएर प्रायः एकै किसिमको राय के देखिन्छ भने ट्रुडोको आरोप निराधार र दुराशयपूर्ण रहेको उनीहरू उल्लेख गर्दछन् । मोदी सरकारको विरोधमा रहेका समीक्षकहरू पनि ट्रुडोको आरोपलाई खारेज नै गर्दछन् । यतिबेला भारतीय सञ्चार माध्यमहरूमा पश्चिमा देशहरूको पाखण्डपूर्ण र दोहोरो नीतिको तीखो आलोचना गरिँदै रहेको देखिन्छ । त्यति मात्र होइन, थप अमरिकी गुप्तचर संस्था सिआइएका साथै बृटेन र क्यानडाका पनि त्यस्ता गुप्तचर एजेन्सीहरूका काला गतिविधिहरू उगेल्ने गरिरहेको कुरा भारतीय पक्षले उठाइरहेको पाइन्छ ।

त्यस्ता एजेन्सीहरूलाई खालिस्तानी आन्दोलन, तमिल टाइगरको रक्तपातपूर्ण संघर्ष र पूर्वोत्तर भारतमा चलिरहेका भनिएका पृथकतावादी आन्दोलनसँग जोडिँदै गरेको पनि उनीहरू उल्लेख गर्दछन् । भारतको एउटा प्रमुख समाचार पत्रको रिपोर्टका अनुसार भारतका एक जना शीर्ष गुप्तचर अधिकारी(अजित डोभाल ?) ले सिआइए प्रमुखलाई आतंकवादीका पक्षधर गुरपतबन्त सिंह पन्नुलाई बढावा दिने गरेको आरोप पनि लगाएको छ । के सन्देह पनि व्यक्त गरिँदै गरेको देखिन्छ भने ती पन्नु भनिने सिआइएको एजेन्ट पनि हुन सक्छन् ।

प्रतिक्रिया