रामको अवतार, रामायणको कथा कति सत्य, कति मिथ्या ?

विष्णुका १० अवतारहरूमध्ये रामको नै सबैभन्दा बढी महत्त्व रहेको छ भने पनि फरक पर्ने छैन । जनमानसमा, भारतमा मात्र होइन, संसारका धेरै भागहरूमा रामको जति धेरै प्रचार भएको छ, त्यति अन्य कुनै अवतारको भएको छैन । त्यसरी राम भारतीय दर्शन वा धर्मका आधारशिला नै बनेका छन् भने पनि फरक पर्ने छैन ।

मोहनविक्रम सिंह

कामरेड, गोपीरमण उपाध्यायको दर्शनको क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण योगदान रहँदै आएको छ । माक्र्सवादी, लेनिनवादी दर्शणबारे पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । त्यही क्रममा उहाँले अध्यात्मवाद दर्शन र भौतिकवादी दर्शनको अन्तर्वस्तु विषयमा विचारगोष्ठीको आयोजना गर्नुभएको छ । उक्त विचारगोष्ठीका लागि उहाँले तयार पारेको अवधारणापत्र हाम्रा अगाडि छ । त्यो अवधारणापत्रमा उहाँले भौतिकवादी दर्शनको मूलभूत विषयवस्तु तथा अध्यात्मवादसम्बन्धी विभिन्न मिथ्या चेतनाबारे पनि विस्तृत रूपले चिरफार गर्नुभएको छ ।

का. गोपीरमणले आफ्नो अवधारणापत्रमा पुर्पुरो (भाग्यवाद) सम्बन्धी मान्यता, परमेश्वर (ईश्वर) सम्बन्धी मान्यता, परलोक (स्वर्ग–नर्कको विषय), भूगोलसम्बन्धी मिथ्या चेतना, विद्याविषयक मिथ्या चेतना, सृष्टिविषयक मिथ्या चेतना, काल निर्धारणसम्बन्धी मिथ्या चेतना, महिला र कथित शूद्र माथिका उत्पीडनहरू र वर्तमानकालमा पनि भएगरेका मिथ्या चेतनाको रूपहरूबारे विस्तृत रूपले प्रकाश हाल्नुभएको छ । उहाँले गरेको त्यस प्रकारको व्याख्याबाट अध्यात्मवाद कति मिथ्या चेतनामाथि आधारित छ र त्यसको स्वरूप पनि कति धेरै समाज विरोधी छ ? त्यो कुरामा कुनै शंका रहन्न ।

उहाँले ईश्वरसम्बन्धी मिथ्या धारणाको चर्चा गर्दै अवतारवादको पनि चर्चा गर्नुभएको छ । उहाँले ईश्वरसम्बन्धी मान्यताको चर्चा गर्दै त्यो मान्यता राजाको उत्पत्तिसित जोडिएको बताउनुभएको छ । त्यसबारे व्याख्या गर्दै त्यो अवधारणा पत्रमा लेखिएको छ, ‘समाजमा परमेश्वरसम्बन्धी मान्यताको उत्पत्ति र विकास मुख्यतया आदिमकालीन संघको सामुदायिक जीवन या ‘यज्ञाग्नि’ आधारित सामाजिक जीवन विघटित भएर जब व्यक्तिगत सम्पत्तिमा आधारित ‘गुह्याग्नि’ को जीवन प्रारम्भ भयो । यस अवस्थामा सो व्यक्तिगत सम्पत्तिको प्रचलनलाई सुदृढ पार्न राज्य संस्थाको उत्पत्ति भयो । सोही राज्य संस्थाको प्रमुखलाई सबैको रक्षकका रूपमा स्थापित गरियो । सोही राज्य प्रमुख जसले विघटित संघीय जीवनको औचित्य र व्यक्तिगत प्रभुत्वमा आधारित व्यक्तिवादी विचारलाई प्रमुख रूपमा स्थापित गर्न सक्यो । त्यसलाई देवत्वका रूपमा स्थापित गरियो । देवता भनेको सर्वसाधारणभन्दा अलिमाथि उठेको व्यक्तिलाई मानिन्छ । सुरुको मानिस देवता जब राज्यसत्ताको प्रमुख बन्यो सो देवता सामन्तवादी उत्पादन पद्धतिको विकास भएको अवस्थामा परमेश्वर (ईश्वर) का रूपमा स्थापित भयो । यसरी राज्यसत्ताको प्रमुख भएपछि त्यसले जोसुकैलाई कृपा प्रदान गर्न सक्ने भयो । त्यसलाई लाभ पु¥याउन सक्ने भयो र आफ्ना विरोधीहरू र मन नपरेकाहरूलाई घोर रूपमा दण्ड दिन सक्ने भयो, कसैलाई यातनागृह (नरकहरू) मा लगेर यातना दिने भएपछि त्यसले ईश्वरको रूपधारण गर्न पुग्यो । यसै प्रकारको ईश्वरलाई अझै प्रबल स्वरूप प्रदान गर्नका लागि अवतारवादको जन्म भयो । यसै अवतारवादलाई संपुष्ट गर्नका लागि अनेकौँ पौराणिक साहित्यकारहरूको लेखन, श्रवण र प्रचार भयो ।’

भारतका धर्मग्रन्थहरूमा विष्णुका १० वटा अवतारहरूको चर्चा गरिएको छ । तिनीहरूमध्ये अहिलेसम्म नौ वटा अवतारहरू भइसकेको र १०औँ कल्की अवतार हुन बाँकी रहेको बताइन्छ । यहाँ हामीले ती १० अवतारहरूको चर्चा नगरेर विष्णुको सातौँ अवतार बताइएको राम अवतारको मात्र चर्चा  गर्दछौँ ।

गोपीरमणजीले आफ्नो अवधारणापत्रमा भौतिकवाद र अध्यात्मबारे जुन प्रश्नहरू उठाउनुभएको छ रामका विषयमा पनि जुन चर्चा गर्नुभएको छ । विस्तृत र गहन अध्ययनको विषय हो । संसारका विभिन्न भाषामा त्यसबारे हजारौँ ग्रन्थहरू लेखिएका छन । त्यसबारे विभिन्न प्रकारका मतमतान्तर पनि छन् । संसारभरि नै त्यसबारे विस्तृत रूपमा छलफल मात्र चल्दै आएको छैन, त्यसका आधारमा विश्वभरि नै ठुल्ठूला आन्दोलन, क्रान्ति र प्रतिक्रान्ति वा विश्वव्यापी उथलपुथल पनि हुँदै आएका छन् । भारतीय दर्शनमा पनि त्यससम्बन्धी धेरै सामग्रीहरू छन् र त्यसबारे शताब्दियौँदेखि धेरै विवादहरू चल्दै आएका छन् । तर, यो सानो लेखमा तिनीहरूको एउटा अंश राम र रामायणबारे मात्र केही प्रकाश हाल्ने प्रयत्न गरिनेछ । त्यसबाट पनि हिन्दू दर्शन वा अध्यात्मवाद कति मिथ्या र अवैज्ञानिक धारणाहरूमाथि आधारित छ ? त्यो बुझ्न केही मद्दत पुग्नेछ ।

विष्णुका १० अवतारहरूमध्ये रामको नै सबैभन्दा बढी महत्त्व रहेको छ भने पनि फरक पर्ने छैन । जनमानसमा, भारतमा मात्र होइन, संसारका धेरै भागहरूमा रामको जति धेरै प्रचार भएको छ, त्यति अन्य कुनै अवतारको भएको छैन । त्यसरी राम भारतीय दर्शन वा धर्मका आधारशिला नै बनेका छन् भने पनि फरक पर्ने छैन ।

रामलाई प्रतिष्थापित गर्ने कार्य मुख्य रूपमा वाल्मीकिको रामायणद्वारा नै भएको छ । संसारका विभिन्न भाषाहरूमा धेरै महाकाव्यहरू लेखिएका छन् । तर यस अर्थमा रामायण संसारका अन्य महाकाव्यहरूभन्दा बेग्लै छ, भारत र हिन्द चीनका देशहरू समेत गरेर करिब एक हजार रामायणहरू लेखिएको बताइन्छ । कतिपय लेखकहरूले तिब्बत र मंगोलियासम्ममा रामायण लेखिएको बताएका छन् । यहाँ उल्लेखनीय कुरा यो छ कि ती बेग्लाबेग्लै रामायणहरू खालि वाल्मीकि रामायणका अनुवाद वा बेग्लाबेग्लै भाषाका संस्करणहरू मात्रै होइनन् । ती बेग्लाबेग्लै रामायणहरूमा रामसम्बन्धी कथाहरू पनि कैयौँ रूपहरूमा बेग्लाबेग्लै छन् । सायद संसारको अन्य कुनै महाकाव्यको यति व्यापक र विविध रूपमा प्रचार भएको छैन ।
रामायणका विषयमा विश्वका धेरै विश्वविद्यालयहरूमा अध्ययन वा अनुसन्धान पनि हुने गरेको वा पिएचडीका सोधपत्रहरू पनि लेख्ने गरिएका छन् । रामायणको विषयमा भारतबाहेक हिन्द चीनका देशहरूमा कैयौँ मेला वा सांस्कृतिक पर्वहरू पनि प्रचलित छन् । त्यसप्रकारको पृष्ठभूमिमा रामायणसम्बन्धी एउटा अन्तर्राष्ट्रिय संग्रहालय नै स्थापना गरियो भने त्यो सांस्कृतिक, साहित्यिक वा ऐतिहासिक दृष्टिकोणले समेत अत्यन्त महत्त्वपूर्ण र प्रशंसनीय कार्य हुनेछ । त्यसमा संसारका सबै भाषाहरूमा प्रकाशित रामायणहरू, तिनीहरूका पाण्डुलिपिहरू संसारका विभिन्न देशहरूमा विभिन्न रूपले सम्पन्न हुने रामलीलाका कार्यक्रमहरूका भिडियोहरू, प्रदर्शन कक्ष, अध्ययन र अनुसन्धान कक्षहरू आदि राख्न सकिनेछ ।

रामायणद्वारा रामको विश्वव्यापी रूपमा प्रचार भयो । किनभने त्यो एउटा महान् सांस्कृतिक कृति हो र त्यससँग जोडिएका अन्तर्राष्ट्रिय स्तरका संस्कृतिक पक्षहरूले कैयौँ दृष्टिकोणले महत्त्वपूर्ण स्थान राख्दछ । ती सबैको अध्ययन वा जानकारीका लागि रामायणसम्बन्धी अन्तर्राष्ट्रिय संग्रहालयले महत्त्वपूर्ण योगदान दिन सक्नेछ । तर त्यसप्रकारको संग्रहालय कहाँ, कसरी र कसले स्थापित गर्ने वा त्यसप्रकारको कार्य सम्पन्न गर्नु सम्भव छ वा छैन ? त्यो, यो लेखको विषय होइन । यो लेखले त खालि रामायणसित जोडिएको सांस्कृतिक महत्त्वमाथि नै प्रकाश हाल्ने प्रयत्न गरेको छ ।

प्रतिक्रिया