पर्यटन विकासले मुलुक समृद्ध हुन्छ : मन्त्री महासेठ

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पर्यटन क्षेत्रको विकासबाट मुलुक समृद्ध हुने बताएका छन् । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशको दोस्रो अधिवेशनको आइतबार जनकपुरधाममा उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले प्रकृतिमा सौन्दर्य, भौगोलिक विविधता, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले समृद्ध भएकाले देश तथा मधेस प्रदेशमा पनि पर्यटन विकासको प्रचुर सम्भावना भएको बताए ।

उपप्रधानमन्त्री महासेठले जनकपुरधाममा माता सीताको जन्म, ऋषिमुनिहरूको शास्त्रार्थ गर्ने स्थल, ५२ कुटी तथा ७२ कुण्डको सहर भएकाले यस ठाउँको सौन्दर्यीकरण तथा विकासका लागि बाह्य चक्रपथको डिपिआर आफू यसअघि भौतिक मन्त्री भएकै बेलामा गरेकाले त्यसलाई अगाडि बढाइने बताए ।

उनले जनकपुरधाम–अयोध्या र अयोध्या–जनकपुरधाम रेल सञ्चालनका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएकाले छिट्टै रेल सञ्चालन हुने पर्यटन व्यवसायीलाई विश्वास दिलाएका थिए ।
नेकपा एमालेका उपनेता एवं प्रदेशसभाका सदस्य दीपेन्द्र ठाकुरले जनकपुरधामको गरिमा तथा महिमा बढाउने किसिमको गतिविधि पर्यटन व्यवसायीले गर्नुपर्ने सुझाव दिँदै जनकपुरधामको विकासका लागि विशेष योजना ल्याउन माग गरे ।

जनता समाजवादी पार्टी नेपालका सचेतक रामअशिष यादवले पर्यटन क्षेत्रको विकास गर्ने दायित्व वर्तमान संविधानले तीनै तहका सरकारलाई प्रदान गरेकाले पर्यटन क्षेत्रको विकासका तीनै तहका सरकार मिलेर काम गर्न जरुरी रहेको बताए ।

प्रदेशसभा सदस्य शारदा देवी थापाले विश्वका हिन्दूका लागि आस्थाको केन्द्र तथा मधेस प्रदेशको राजधानी जनकपुरधाम भएकाले यसको विकास तथा सौन्दर्यीकरणमा जनकपुरधाम उपमहानगरपालिकासहित तीनै तहका सरकारले जिम्मेवारीका साथ काम गर्न आवश्यक भएको बताए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले मधेस प्रदेशको समृद्धिका लागि हुलाकी राजमार्गको शीघ्र निर्माणका साथै पर्यटनलाई उद्योगको रूपमा विकास गर्न उपमहानगरपालिका पर्यटन व्यवसायीहरूलाई हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताए ।

यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरधामदेखि अयोध्यासम्म चाँडोभन्दा चाँडो रेल सेवा सञ्चालनमा ल्याउन माग गर्दै मधेस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भएको बताएका थिए । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका प्रदेश अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ होटल व्यवसायी विजय झुनझुनवाला, महासंघका महासचिव मोहन शर्मा सहितका वक्ताहरूले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया