प्रचण्डको चेतावनी : फेरि उथलपुथल गर्न सक्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चित्त नबुझे फेरि ‘उथलपुथल’ गर्न सक्ने धम्की दोहोर्याएका छन् । पछिल्लो पटक गठबन्धन फेर्दा उनले आफू बाँचुन्जेल यस्ता उथलपुथल भइरहने बताएका थिए ।

‘म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ,’ प्रचण्डले भनेका थिए, ‘प्रतिक्रियावादीबाट घेरा हालेर मलाई सिध्याउने धेरै चोटि कोसिस भए । तर म साथीहरूलाई भन्न चाहन्छु– ठुला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटोमा लाग्नुपर्छ ।’ त्यतिखेर उनको ‘उथलपुथल’ को अर्थ गठबन्धनको काँध फेरिरहने लगाइएको थियो । अहिले उनले फेरि उही शब्द दोहोर्याएकाले राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सोचेजस्तो काम हुन नसके फेरि उथलपुथल ल्याउने धम्की दिएका हुन् । नयाँ गठबन्धन बनेको १ महिना नपुग्दै आएको प्रचण्डको यो भनाइले राजनीतिक वृत्तमा संशय पैदा गराएको छ ।

‘विकास निर्माणलाई गति दिने, सुशासन कायम गर्नेलगायत काम गर्ने भनेर नयाँ सत्ता समीकरण बनाइएको हो,’ उनले भने, ‘ती काम हुन नसके फेरि पनि उथलपुथल गर्न बेर लाग्दैन ।’ प्रधानमन्त्री प्रचण्डले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको बताए ।

उनले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर ससर्त अनुदानका रूपमा पठाउने काम आगामी आर्थिक वर्षदेखि हुनै नदिने प्रतिबद्धतासमेत जनाए । उनको धम्की नयाँ गठबन्धनमा रहेका दलहरूप्रति रहेको सहज अनुमान गर्न सकिन्छ । नयाँ बजेटमा सयौँ विकास आयोजनाहरूको बजेट काटिने र त्यसका लागि आउने सम्भावित दबाब लक्षित गर्दै प्रधानमन्त्रीले यस्तो धम्की दिएको माओवादी स्रोतले बताएको छ ।

समितिको बैठकमा प्रचण्डले यसैलाई लक्षित गर्दै सफल हुन नसक्ने सयौँ आयोजना रहेको भन्दै त्यस्ता आयोजना खारेज गरिने बताएका थिए । पुराना सबै आयोजनालाई बजेट छुट्ट्याउनैपर्ने परम्पराले अर्थतन्त्रमा दबाब सिर्जना भई संकट उत्पन्न भएकाले यसलाई बदल्ने बताएका थिए । यसरी पुराना विकास आयोजनाको बजेट शून्य पार्दा गठबन्धनका साझेदार दलबाट आउने सम्भावित दबाबलाई बन्द गर्न प्रचण्डले फेरि उथलपुथल गर्ने धम्की दिएको धेरै सांसदको बुझाइ छ ।

‘जो सम्पन्न हुन सम्भव छन्, तिनमा बजेट केन्द्रित गरेर छिटो टुंग्याऊँ । ताकि जनतामा आशा जागोस्,’ प्रचण्डले भने ‘कुनचाहिँलाई प्राथमिकता दिने भन्नेबारे र जसले जनतालाई आशा जगाउन सक्छ त्यसबारे ध्यान दिऊँ । जनतामा आशा र परिणाम दिन पनि बजेट निर्माणको परम्परागत शैली बदलौँ ।’

प्रधानमन्त्रीको भनाइले बजेटमा गठबन्धनलाई पनि बाइपास गरेर जाने संकेत दिएको सांसदहरूको बुझाइ छ । एक एमाले नेताले भने, ‘अहिले केही भन्नु हतार हुन्छ । उहाँको उथलपुथलको आशय प्रष्ट भएपछि भनौँला । फेरि अस्थिरता निम्त्याउने कुरा गर्नुभएको हो भने उहाँको अब जाने ठाउँ कहाँ हो ?’

प्रतिक्रिया