उत्तरपुस्तिका हराएका विषयको पुनः परीक्षा लिँदै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएका दुइटा विषयको पुनः परीक्षा लिने भएको छ । स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२ ) र शिक्षा शास्त्र संकायतर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२ ) का विषयको पुनः परीक्षा हुने भएको हो ।

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार यी २ विषयको पुनः परीक्षा चैत २१ गते हुनेछ । यी विषयको परीक्षा गत वैशाखमा भएको थियो ।
उत्तरपुस्तिका हराएको विषय छानबिनका लागि त्रिविले पूर्वरजिस्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । समितिले विस्तृत छानबिन गरी १ महिनाभित्र प्रतिवेदन पेस गर्नेछ । साथै उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने पनि त्रिविले जनाएको छ ।

‘पुनः परीक्षा समाधान होइन’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट उत्तरपुस्तिका हराएको विषयमा पुनः परीक्षा समाधान नभएको बताएकी छिन् । बिहीबार सामाजिक सञ्जालबाट मन्त्री श्रेष्ठले परीक्षार्थीमा पर्ने मानसिक तनाव तथा विश्वविद्यालयमाथि उठ्ने प्रश्न र शंकाप्रति संवेदनशील हुनैपर्ने बताएकी हुन् ।

मन्त्री श्रेष्ठले नियमितजस्तो भइरहेका यस्ता घटनाहरूबारे आफूहरू जानकार रहेको भन्दै भनेकी छिन्, ‘उत्तरपुस्तिका हराएका परीक्षार्थीहरूको पुनः परीक्षाबाट मात्र यस्ता समस्या समाधान हुने होइनन् । यस्ता घटनाहरू दोहोरिन नदिन घटना घट्नुको कारण पत्ता लगाएर सम्बन्धितहरूलाई उचित कारबाही र प्रक्रिया सुधार अनिवार्य हुन्छ ।’

प्रतिक्रिया