ठुलाचौरवासीलाई सधैँ खानेपानीकै पिरलो

मध्यरातमै जंगलबीचको कुवामा जानुपर्ने वाध्यता

रुकुमपश्चिम । दुई दशक भयो गाउँमा खानेपानी छैन । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० स्थित, मैडाँडा, ठुलाकोट, ठुलाचौरका स्थानीयलाई सधैँ खानेपानीकै पिरलो छ । २०४५ सालमा पहिलोपटक खानेपानी आयोजनामार्फत गाउँमा धारो बनेको थियो । तर त्यो योजना पनि हराउँदै गएपछि यस गाउँका स्थानीयलाई खानेपानीको अभावले कहिल्यै छोडेन । घरको काम, खेतबारी, बालबच्चा हेरचाह, मेलापात र खानेपानीको लाइनमा बस्नु गुर्दुमवासीको दैनिकी हो । सरकारले सहरबजारमा खानेपानी पु¥याउनलाई करोडौँको आयोजना सञ्चालन गरे पनि गुर्दुमवासीलाई सधैँ खानेपानीको पिरलो छ ।

ठुलाचौरका स्थानीय नन्दबहादुर शाही उमेर ८० वर्ष पुग्न लागे तर उनको दैनिकी कुवाबाट पानी बोक्नमै बितेको छ । उमेरले बुढेसकालमा ढल्केका शाही बिहान सबेरै उठेर जंगलको बीचमा रहेको कुवामा पानी लिन पुग्छन् । उनले भने, ‘बिहान ४ बजे उठेर कुवामा जान्छु । पानी लिएर फर्किंदा ६–७ बज्छ । कहिले लाइन बस्नुपर्छ । कहिले कुवा सुकेर पर्खिनुपर्छ । बुढो मान्छे पानी बोकेर फर्कंदा उकालो छ । हिँड्नै समस्या छ ।’
वर्षौंदेखि पानीको समस्या भोग्दै आएका शाहीलाई दुई वर्ष पहिले धागेछहरीको पानी गाउँमा पुगेपछि अब घरमै धारामा पानी आउँछ भन्ने लागेको थियो । तर, उक्त योजना निरन्तर नचल्दा समस्या उस्तै छ ।

बर्खामा त झन् कुवाको पानी पनि धमिलो हुने गरेकोले सहज तरिकाले सुरक्षित र सफा पानी उपभोग गर्न पाउनुपर्ने अधिकारबाट वञ्चित भएको गुनासो स्थानीयको छ । ठुलाचौर, कोट, महचौर लगायतका गाउँका सयभन्दा बढी घरपरिवार सधैँ मूल र कुवाको पानीमा निर्भर छन् । ठुलाचौरका स्थानीयले गैरापानीमा रहेको कुवा, कोटका स्थानीयले कुरेपानीको धारो र महचौर गाउँकाले मूलपानीको धाराको पानी प्रयोग गर्दै आएका छन् । सरकारले एक घर एक धाराको अवधारणा ल्याए पनि आठबिसकोटबासीलाई सधँै खानेपानीकै चिन्ता छ ।

प्रदेश सरकारको आयोजना भएकाले स्थानीय स्तरबाट केही गर्न नसकेको वडाले जनाएको छ । २०४५ सालमा सम्पन्न भएको खानेपानी योजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन् । २०७५ सालमा कर्णाली प्रदेश सरकारमार्फत यी गाउँ लक्षित गरेर धागेछहरी खानेपानी योजनाको १ करोड १६ लाखमा टेन्डर खोलेको थियो । उक्त टेन्डरपछि नहकुली कन्ट्रक्सनले योजना निर्माणको जिम्मा पायो । केही महिनासम्म पानी निरन्तर गाउँमा आयो । तर, प्राविधिक कारणले पटकपटक अवरुद्ध हुँदा यहाँका बासिन्दा खानेपानीबाट वञ्चित बनेका छन् ।
हिउँद लागेसँगै कुवाको पानी सुक्न थालेपछि धागेछहरीको पानी स्थानीयले श्रम गरेर गाउँमा ल्याइएको स्थानीय अगुवा केशव शाहीले बताए । उनका अनुसार स्थानीयले श्रमबाहेक ५० हजार रुपैयाँ खर्च गरेर ठुलाचौरमा पानी ल्याइएको हो । केहिदिनका लागि खानेपानीमा सहज भए पनि कतिबेला बिग्रने हो भन्ने चिन्तामै बस्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।

‘गाउँमा पानी छैन, आधा घण्टा ओरालो झरेर गैरापानी कुवाबाट पानी ल्याउनुपर्छ’, वडा–१० कि स्थानीय राधा थापाले भनिन्, ‘वर्षौं भयो यो समस्या भोगेको, पानी बोक्दा बोक्दा थाप्लोका कपाल झरिसके । एक गाग्री पानी ल्याउन बिहान ४ बजे कुवामा पुग्नुपर्छ । गाउँमा खानेपानीको योजना आयो भन्छन् । खानेपानी कसरी जुटाउने, वस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्तामा यहाँका स्थानीयको दिन बित्ने गरेको छ ।’ सुखले एक गाग्री पानी थाप्न पाएको छैन । उनले दुःखेसो पोखिन् । गाउँमा जनप्रतिनिधिले खानेपानी समस्या समाधानका लागि धेरै आश्वासन दिए पनि पानीकै पिरलो छुट्न नसकेको स्थानीय बासिन्दाहरू गुनासो गर्छन् ।

अहिले मैडाँडामा सालागाडको पानी पुगेको छ । सालागाड, गैरापानी, महचौर खत्रीबारा खानेपानी योजना बजेट अभावका कारण पूर्ण हुन सकेको छैन । प्रदेश सरकारबाट १० लाख रकम उपलब्ध भएकोमा उक्त रकम अपुग भएपछि योजनाले पूर्णता पाउन सकेको छैन । कम्तिमा पनि ७०–८० लाख रकम भए मात्रै योजना सम्पन्न हुने बताइएको छ । बिहान सबैभन्दा पहिले कुवामा नपुगे पानी भर्न नपाइने हुँदा मध्यरातमै जंगलबीचको कुवामा पुग्नुपर्ने यहाँका स्थानीयको बाध्यता छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया