सत्ता बचाउन सबै आरोप क्षम्य !

यतिबेला देखिँदै छ– ‘राजनीतिमा आफूलाई साथ दिए सबै जायज नत्र नाजायज’ । ‘सत्ता बचाइदिए क्या बात् ! नत्र अनेकौँ बात’ । नयाँ गठबन्धनका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका कार्यकर्ताले मात्रै होइन, यतिबेला सत्तामा रहेका अन्य पार्टीका नेता/कार्यकर्ताले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति गरेको बचाउले त्यस्तै देखाउँछ । सत्ताबाट बाहिरिएपछि गृहमन्त्रीप्रति ‘आगो’ बनेको कांग्रेसको आरोपको खण्डनमा अग्रभागमा देखिएका प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीको साथले राजनीतिमा सबै चिज हुन सक्दोरहेछ भन्ने देखाएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा ‘सांसदसँग प्रश्नोत्तर’ सेसनमा प्रवेश गर्नुअघि प्रधानमन्त्रीले गृहमन्त्री लामिछानेमाथि उठेका प्रश्नको जबाफ दिए । उनको प्रस्तुतिले प्रष्ट पार्छ– सत्ता टिकाइदिए जे पनि राम्रो । नेपाली उखान ‘मन परेपछि जे पनि सुगन्ध’ भनेझैँ बनेका छन् यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

२ हप्ता अघिसम्म एमाले, माओवादीमात्रै होइन, पुराना राजनीतिक दलका लागि रवि आर्थिक र नैतिक रूपमा भ्रष्ट थिए । उनलाई अनेकन आरोप लाग्यो । ‘सहकारी डुबाउने, कति श्रीमती ? कति राहदानी ? कति नागरिकता मात्रै होइन, उनलाई लागेको आरोप अर्को कोही सामान्य नागरिकलाई लागेको भए कति वर्ष जेलको हावा खाँदो हो !

प्रचण्ड तिनै प्रधानमन्त्री हुन्, जसले रविले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको विषयमा पीडितको पक्षमा पनि बोल्न भ्याए । र, अहिले भन्दै छन्, ‘बचतकर्ताले गत १६ माघमा दिएको पूरक जाहेरीमा गृहमन्त्री लामिछाने संलग्न भएको कुनै पनि आधार र प्रमाण पेस छैन ।’ वाह सत्ता ! तिम्रा लागि सबै जायज, नत्र नाजायज !

मंगलबार संसद्मा प्रधानमन्त्रीले जबाफ दिनुअघि कांग्रेसले पटक–पटक गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको थियो । मंगलबारको बैठकमा पनि कांग्रेस सांसद दीपक गिरीले राजीनामाको कुनै विकल्प नभएको बताएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले भने कांग्रेस नै सरकारमा भएका बेला प्रहरीले अनुसन्धान अघि बढाएर छुट्टै जाहेरी दर्ता गर्न उपयुक्त नठानेको तर्क संसद्समक्ष प्रस्तुत गरे ।

प्रधानमन्त्री प्रचण्डले रविले सूर्यदर्शन सहकारीमा कुनै हिनामिना नगरेको प्रतिवेदन र अनुसन्धानबाट प्रष्ट देखिएको दाबी गरेका छन् । यो उनको दाबी कथम् रवि सत्ताबाट बाहिरिए भने पनि रहिरहला कि बोलीको लोली फेरिएल ! यो सबै सचेत नागरिकको मनमा उब्जेको प्रश्न हो ।

उनले अझै भने, ‘हालसम्मको अनुसन्धानले माननीय रवि लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ कहीँकतै जोडिएको देखिएको छैन ।’

हजार जनाभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको नदेखिएको पनि उनले बताएका छन् । प्रधानमन्त्रीज्यू, तपाईंको यो भनाइ महत्वकांक्षी रविका लागि सधैँ रहला ! उनी उछिट्टिएर अर्को कित्तामा पुगे वा यो गठबन्धनको सत्तामा उनको सहयोग रहेन भने बोली नफेरियोस् !

प्रधानमन्त्रीज्यूले भनेझैँ गृहमन्त्री लामिछानेको नाममा सो सहकारीबाट प्रवाह भएको ऋण फछ्र्योट भइसकेकै हो त ! यति मात्रै होइन, प्रधानमन्त्री र एमाले अध्यक्षले रविको हकमा कुनै अनुसन्धान नै गर्नुपर्ने नदेखिएको निष्कर्ष प्रहरीले निकालेको पनि जानकारी गराएका छन् । यो भनाइ उनी साँच्चै निर्दोष भएर कि सत्ताका लागि ‘कवच बुटी’ भएर ?

राजनीति र सत्ताका लागि सबै कुरा जायज छन् भन्ने भनाइलाई खण्डित गरियोस् । आफ्नो सत्ता र स्वार्थका लागि आँखा चिम्लिने संस्कारको अन्त्य नहुँदासम्म संविधानले परिकल्पना गरेको समाजवादोन्मुख समाज निर्माण गर्न सकिन्न ।

प्रतिक्रिया