जनकपुरधाम । केन्द्रमा गठबन्धनको हेरफेरसँगै मधेस सरकारमा समेत त्यस्को प्रभाव देखिएको छ । केन्द्रको नयाँ समीकरणपछि मधेस सरकारमा एमाले पुनः प्रवेश गरेको छ । सोमबार नै पदभार ग्रहण गरेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले मधेसका संसदीयदलका नेता सरोज यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रीकोे सपथ गराउँदै एमालेलाई मधेस सरकारमा प्रवेश गराएकी हुन् ।
प्रदेश प्रमुख सुवेदीले पदभार ग्रहण गरे लगत्तै मुख्यमन्त्री सरोजकुमार यादवले एमाले मधेस प्रदेशसभामा संसदीय दलका नेता सरोज यादवलाई यसअघि कांग्रेस मधेसका सभापति तथा संसदीय दलका नेता कृष्ण यादवले चलाउँदै आएको भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा मंगलबारै सपथ ग्रहण गराएका छन् ।
कांग्रेसका मन्त्रीहरूलाई औपचारिक रूपमा बर्खास्त नगरी मुख्यमन्त्री यादव एमालेलाई प्रवेश गराएर मन्त्री मण्डल पुनर्गठन गरेका हुन् । मुख्यमन्त्री यादवले केन्द्रीय सत्ता गठबन्धनमा भएको फेरबदलअनुसार नै प्रदेश सरकार पनि चल्ने भएकाले तत्काल एमालेको संसदीय दलका नेता यादवलाई भौतिक पूर्वाधार मन्त्रीको रूपमा सपथ ग्रहण गराएको र बाँकी सहमति पछि हुने बताए ।
एमालेले कति मन्त्रालय पाउने भन्ने विषयमा हालसम्म सहमति भएको छैन । एमालेसहित अन्य दलको बैठक बसेर छिट्टै बाँकी कुराको निष्कर्ष लगाइने उनले बताए । यद्यपि एमालेका नेता नवनियुक्त मन्त्री यादवले मुख्यमन्त्रीसँग एमालेलाई चार मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको बताएका छन् ।
प्रतिक्रिया