आगलागी पीडित सार्कीको परिवारलाई नगरपालिकाद्वारा राहत सामग्री प्रदान

रुकुम पश्चिम । जिल्लाको चौरजहारी नगरपालिका–९ का उदे सार्कीको घर आगलागी भएपछि नगरपालिकाले परिवारलाई अति आवश्यकीय राहत सामग्री प्रदान गरेको छ । घर आगलागीका कारण पीडित भएका सार्कीको परिवारलाई चौरजहारी नगरपालिकाले अति आवश्यकीय राहत सामग्री प्रदान गरेको हो ।

सार्कीको आइतबार राति १२ बजेतिर आगलागी हुँदा ५० हजार नगद र २० वटा कुखुरा जलेर नष्ट भएका छन् । एक गोरु जलेर घाइते भएको छ । नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा, बिएम, निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालसहितको टोलीले सोमबार पीडित परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो ।

पीडित परिवारलाई तत्कालको लागि सिरक, डसना, चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिए ।

सार्कीको चार कोठे घर आगलागी हुँदा सात जनाको परिवार विचल्लीमा परेको छ । पीडित परिवारलाई थप राहतको व्यवस्था गर्न आवश्यक पहल गरिने नगर उपप्रमुख शर्माले बताइन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया