काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकका कर्मचारीमाथि भएको धरपकडका विषयमा ध्यानाकर्षण गराएको छ । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तर्राष्ट्रिय बैकिङ अभ्यासको बारेमा गहिरो अध्ययन र जानकारी नलिई कुनै पेसाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिइ हिरासतमा राखिएको कार्यप्रति परिसंघले आपत्ति जनाएको छ ।
बैंकका गतिविधिहरू नियामक निकायको सूक्ष्म निगरानीमा हुने भन्दै प्रक्रियागत त्रुटीमा कर्मचारीलाई अपराधी जस्तो धरपकड गर्न नहुने बताइएको छ । ‘बैंकभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानुनअनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ । व्यावसायिक÷व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ,’ विज्ञप्तिमा भनिएको छ ।
तर, धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेसाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयभीत बनेको विज्ञप्तिमा उल्लेख छ । यो घटनाले लगानीकर्ता समेत सोचमग्न बनेको बताइएको छ । नेपालको बैंकिङ क्षेत्र एसियाली देशहरूकै तुलनामा सवल र सक्षम भएको बैंक तथा वित्तीय संस्थाहरू र नियामक निकायले प्रकाशित गरेका वित्तीय विवरणहरूले नै प्रमाणित गरेको बताइएको छ ।
प्रतिक्रिया