भेरी–बबईको ६५ प्रतिशत कार्य सकियो

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई आयोजनाको ६५ प्रतिशत भौतिक प्रगति भएको छ । आर्र्थिक वर्ष २०७१–७२ मा सुरु भएको आयोजनालाई आर्थिक वर्ष २०८४–८५ सम्म सम्पन्न गरिसक्नु पर्ने कार्यादेश रहेको छ । ६५.६९ प्रतिशत काम सम्पन्न गरेको उक्त आयोजना ३३ अर्ब १९ करोडको लागतमा निर्माण हुने भनिएकोमा ५७.७८ प्रतिशत वित्तीय प्रगति रहेको छ ।

स्वीकृत गुरुयोजना बमोजिम कुल लागत ३३ अर्ब १९ करोड विनियोजित बजेटमा हालसम्म १५ अर्व ५० करोड खर्च भइसकेको छ । वार्षिक बजेट एवं खर्चको अवस्था हेर्दा चालु आर्थिक वर्षमा विनियोजित कुल १ अर्व ५९ करोड बजेटमध्ये माघ मसान्तसम्म ४९ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ ।

नेपाल सरकारको स्रोतमा बहुउद्देश्यीय जल स्थानान्तरण आयोजनाको रूपमा कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको भेरी बबई आयोजनाको पहिलो चरणको काममा १२.२० किलोमिटर लामो टनेल निर्माणको काम सम्पन्न भइसकेको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरी परीक्षण गर्ने र उक्त प्रविधिको सफल प्रयोग पश्चात मात्र बाँध तथा पावरहाउस निर्माणका साथै हाईड्रोमेकानिकल र ईलेक्ट्रोमेकानिकलको जडान एवं निर्माण कार्य गर्ने अवधारणा अन्तर्गत टनेल निर्माण कार्य अघि बढेको हो । यसको लागि १६ अर्ब ४३ करोडको अनुमानित लागत स्वीकृत गराइ कार्य अगाडि बढाइएको थियो ।

पहिलो चरणको टनेल निर्माणको काम सम्पन्न भएपछि दोस्रो चरणका बाँध तथा पावरहाउस निर्माणका साथै हाईड्रोमेकानिकल र ईलेक्ट्रोमेकानिकलको जडान एवं निर्माणलगायतका थप निर्माणका काम भइरहेको आयोजनाले जनाएको छ । जसका लागि ३६ अर्ब ८० करोड स्रोत सुनिश्चित गरिएको छ ।
भेरी बबई डाइभर्सन आयोजनातर्फ ३३ अर्ब १९ करोड र भेरी कोरिडर सिँचाई विकास आयोजनातर्फ ३ अर्ब ६१ करोड बजेट रहेको छ । २०८० वैशाखमा संघीय सरकार मन्त्रिपरिषद्को निर्णयानुसार भेरी कोरिडर सिँचाई विकास आयोजनालाई भेरी कोरिडर सिँचाई तथा नदी व्यवस्थापन आयोजनाको रूपमा सुर्खेत गुर्भाकोटको बोटेचौरमा कार्यालय स्थापना गरेको छ ।

आयोजनाअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–११, को चिप्लेस्थित भेरी नदीमा करिब १२० मिटर लामो ब्यारेजसहित डिसिल्टिङ वेसिन र ४.२० मिटर ब्यास भएको १२.२ किलोमिटर लामो सुरुङमार्फत ४० घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा खसाल्ने आयोजनाको लक्ष्य छ ।

तीन वटा २३.४ मेगावाट क्षमताका टर्वाईनमध्ये अतिरिक्त एक वटा टर्वाईन मर्मत सम्भारको बेलामा मात्र प्रयोग गर्ने र बाँकी दुई वटा टर्वाइनको नियमित सञ्चालनबाट भेरीगंगा नगरपालिकाकै हात्तीखालस्थित बबई नदीको किनारमा ४६.८ मेगावाट विद्युत उत्पादन क्षमताको विद्युतगृह निर्माण गर्ने लक्ष्य रहेको छ । वार्षिक करिब ४ सय गिगावाट आवर विद्युत उत्पादन हुने आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर पवन अधिकारीले बताए ।

आयोजना सम्पन्न भएपछि भेरी नदीबाट बबई नदीमा उपलब्ध हुने थप ४० घनमिटर प्रतिसेकेन्ड पानीबाट बबई सिँचाई आयोजनाको हेडवक्स उपयोग गरी बर्दिया र बाँके जिल्लामा करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाहै महिना सिँचाई सुविधा उपलब्ध गराउने लक्ष्य छ ।

दोस्रो चरणमा बाँध निर्माण स्थल चिप्लेमा हेडवक्र्स निर्माण कार्य जारी छ । ६ वटा वे मध्ये २ वटा वे निर्माण अन्तिम चरणमा रहेको र बाँकि ४ वे निर्माणका लागि नदी फर्काउने तयारी भइरहेको आयोजनाका इन्जिनियर अधिकारीले बताए ।

हेडवक्स साईट चिप्लेस्थित छिन्चु–जाजरकोट सडक खण्डको डाइभर्सन सडक निर्माण सम्पन्न भएको छ भने चिप्ले–खोल्सी डाइभर्सन निर्माणमा पहिलो चरणको काम सम्पन्न भई दोस्रो चरणको कार्य सुचारु रहेको आयोजनाले जनाएको छ । पावर हाउस निर्माण स्थल हात्तिखोलामा स्लोप प्रोटेक्सनको कार्य अन्तिम चरणमा रही फाउन्डेसन निर्माण कार्य सुचारु भएको छ ।

कोफर्ड ड्याम, एंकर ब्लक निर्माण, नालासहितको पहुँचमार्ग, स्लोभ संरक्षणका लागि ढलान कार्य सम्पन्न भई साफ्ट खन्ने तयारी गरिएको छ । साथै पावरहाउस स्थल हात्तीखोलामा क्रसर प्लाण्ट स्थापना भई आयोजनालाई आवश्यक पर्ने निर्माण सामाग्री उत्पादनको अन्तिम तयारीमा छ । हाईड्रोमेकानिकलतर्फ हेडवक्समा २ वेको पयिर डिएफ स्टिल लाइनिङ गर्ने कार्य अन्तिम चरणमा रहेको छ । यसअन्तर्गत निर्माण गरिने विभिन्न संरचनाहरुको डिजाइन तथा रेखांकनहरू स्वीकृति गर्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

इलेक्ट्रोमेकानिकल निर्माण कार्य अन्तर्गत टरबाइनको नमुना टेष्ट सम्पन्न भएको छ । विभिन्न महत्वपूर्ण उपकरणहरुको डिजाइन स्वीकृतिको क्रममा रहेका छन् । आयोजनामा जग्गा प्राप्तिका लागि मुअब्जा निर्धारण समितिबाट दररेट र्निधारण भइ रैकर जग्गाको हकमा ८.११४ हेक्टर जग्गाको मुआब्जा वितरण कार्य सम्पन्न भएको छ । झन्डै १०.५९ हेक्टर जग्गा प्राप्तिका लागि सूचना प्रकाशन भइ अन्तिम भेरिफिकेसन सम्पन्न भइ प्राप्तिको चरणमा रहेको छ ।

बबई मानखोला डाइभर्सन आयोजना अन्तर्गत बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भएर जाने हुँदा सोको विस्तृत सम्भाव्यता अध्ययन कार्यका लागि बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जसँगको समन्वयमा सम्भाव्यता अध्ययनको फिल्ड कार्य सुचारु रहेको छ ।

प्रतिक्रिया