बारा–पर्साका औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ

बन्द हुने अवस्थामा उद्योग धन्दा

बारा । सरकारी संस्था प्राधिकरण नाफामुखी मात्र हुनुभएन । सरसर्ती हेर्दा उद्योगले दुःख पाइरहेको देखिए पनि यसको सामाधान नखोजिदा अर्थतन्त्रमा पनि असर गरिरहेको छ । मुलुकमा आर्थिक मन्दी छ । त्यसैकारण उद्योगहरू निकै कम क्षमतामा सञ्चालन भइरहेका छन् । यही बेला उद्योगहरूले १२ घण्टासम्म लोडसेडिङ भोगिरहेका छन् । उद्योगमा भइरहेको अघोषित लोडसेडिङको मारमा बाराका उद्योगी–व्यवसायी परेका छन् ।

नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा दैनिक ८ देखि १० घण्टा ‘अघोषित’ रुपमा लोडसडिङ गर्दा उद्योगीहरु मर्कामा परेका हुन् । बैंकिङ तरलता, कर्जाको ब्याजदरमा वृद्धि, बैंकबाट ऋण प्रवाह नहुनुजस्ता कारणबाट संकटमा परिरहेको बाराका उद्योग व्यवसाय क्षेत्रमा अघोषित लोडसेडिङले झन् ठूलो समस्यामा झेल्नु परेको छ ।

अघोषित रुपमा विद्युत कटौती हुँदा उत्पादन लागत बढ्ने, कामदारहरुलाई बिना काम तलब, सेवा–सुविधा दिनुपर्ने लगायतका समस्या बढे पछि अहिले बारामा रहेका केही उद्योग त बन्द नै भइसकेका छन्, भने कति बन्द हुने अवस्थामा छन् । विद्युत प्राधिकरण सिमरा र वीरगञ्ज वितरण केन्द्रले पुस पहिलो सातादेखि बिहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि राति ९ बजेसम्म विद्युत कटौती गर्दै आएको कारण आफुहरु धेरै समस्यामा रहेको नेपाल सेरामिक इन्दस्त्री प्रालिका सञ्चालक सम्भुनाथ झाले बताए ।

बारा पर्सा औद्योगिक करिडोरमा निमार्णजन्य र खाद्य उद्योगहरू साना ठुला गरेर करिब ५ सय ८५ को संख्यामा रहेका छन् । तर बारा पर्सा औधोगिक क्षेत्रमा रहेको उद्योगमा अघोषित लोडसेडिङको कारण अहिले उद्योगनै धरापमा पर्न थालेको छ । उद्योगमा एक्कासी विद्युत कटौती हुँदा मेसिनहरु जल्ने, टुटफुट हुने, कच्चा पदार्थ खेर जाने र उत्पादन लागत बढेर त्यसको प्रत्यक्ष मार उपभोक्तामा पर्ने गरेको छ । अघोषित लोडसेडिङको कारण साना, मझौला, ठूला र बहुराष्ट्रिय उद्योगहरुमा ठूलो असर परेको जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको अध्यक्ष मोहन शर्मा लामिछाने बताए ।

विद्युत कम भएकाले आवश्यक विद्युत भारतबाट किनेर उद्योगहरुलाई बिक्री गरिरहेको प्राधिकरणले बताए । ‘विद्युतको लागि हाम्रो अहिले २ वटा स्रोत छन् । एउटा रक्सौलबाट, अर्को पूर्व–पश्चिम प्रसारण लाइनको ढल्केवरबाट, ढल्केवरबाट हेटौंडासम्मको ४ सय केभी लाइन विभिन्न ठाउँमा समस्या भएकाले चाहिने जति पावर हामीले ढल्केवरबाट ल्याउन सकेका छैनौँ,’ प्राधिकरण सिमरा वितरण केन्द्र प्रमुख रमेश रुपाखेतीले भने ।

प्राधिकरणले अघोषित रूपमा लोडसेडिङ गरेपछि औद्योगिक क्षेत्रका उद्योगको ५० प्रतिशत उत्पादन कटौती भएको छ । डिजेल र पेट्रोलको मूल्यवृद्धि भएका कारण जेनेरेटरबाट उद्योग चलाउन नसकिने उद्योगीको निष्कर्ष छ । समयमै विद्युत् आपूर्ति सहज नगर्ने हो भने उद्योग कलकारखाना बन्द हुने भन्दै उद्योगीले चिन्ता जनाएका छन् ।

प्राधिकरणले लोडसेडिङ गरेका कारण डिजेल खपत बढिरहेको छ । जेनेरेटर चलाउँदा प्रतियुनिट ६५ रुपैयाँ पर्न जान्छ । जबकी विद्युत् प्रतियुनिट करिब १० रुपैयाँ छ । प्रतियुनिट ५५ रुपैयाँ महँगो पर्न जान्छ । यसले उत्पादनमा लागत बढाउँछ । लागत बढे पनि उत्पादित वस्तुको मूल्य बढाउने अवस्था छैन । यस कारण उद्योगीहरू निकै अप्ठ्यारो स्थितिमा रहेको नेपाल सेरामिक्स प्रालिका अध्यक्ष शम्भुनाथ झाले बताए ।
यसबारे प्राधिकरणका साथै ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको कारण अहिले बिरगंज पथलैया औधोगिक करिडोरमा रहेका उद्योगहरु बन्द हुने स्थितिमा पुगेको छ ।

प्रतिक्रिया