काठमाडौं । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारासहित ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ हुने भएको छ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहीबार राजधानीमा पत्रकार भेटघाट गर्दै मेलाका बारेमा जानकारी दिएको हो । फागुन १८ गतेदेखि २७ गतेसम्म चल्ने मेला काठमाडौं, दाङ, पोखरा र ललितपुरमा हुने ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताए ।
उनले भने, ‘ऐतिहासिक तथा विश्वसम्पदा सूचीमा रहेका पाटन दरबार र हनुमानढोका दरबारजस्ता क्षेत्रमा कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र संवर्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौं ।’ कोइरालाले यसबाट देशको विविध सांस्कृतिक, पुरातत्विक र अन्य पर्यटकीय स्थलको मात्र नभई नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा लिएको बताए ।
आयोजकका अनुसार मेलामा अस्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेसिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका, र नेपाललगायत राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३५० भन्दा बढी कलाकारले भाग लिने छन् । कोइरालाले नेपाली संस्कृतिप्रति विदेशी आकर्षित हुनु पर्यटन प्रवर्धनका दृष्टिकोणले राम्रो रहेक बताए ।
उनले भने, ‘आफ्नो पहिचान र मौलिकता बोकेका संस्कृतिप्रति स्वयं नेपाली उदासीन हुनु दुःखलाग्दो पक्ष हो । वर्तमान युवापिँढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेकाले यसतर्फ आकर्षित गर्न यस्तो मेला महत्वपूर्ण हुन्छ ।’ उनले मेला २०५८ सालदेखि प्रत्येक २ वर्षमा नियमित आयोजना हँुदै आएको जानकारी दिए ।
कोइरालाले नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक प्रर्यटन प्रवर्धनको आफनो अभियानलाई निरन्तता दिँदै लोकसंस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा सांस्कृतिक पर्यटन प्रर्वद्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको बताए । उनले भने, ‘यस पटकको महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने भेषभूषा लगाई सांस्कृतिक झाँकी गर्ने र आफ्नो लोकगीत, संगीत र लोकनृत्य प्रस्तुत गर्नेछन् ।’
प्रतिक्रिया