बारा । जिल्लाको पचरौता नगरपालिकाकामा एकै दिन बर्थिङ सेन्टर र वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंहले बुधबार बर्थिङ सेन्टर र वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् ।
पचरौता नगरपालिका– ७ स्थित भिखना पोखरिको डिलभित्र बर्थिङ सेन्टरको भवन र वडा नम्बर ७ को भवनको शिलान्याश गरिएको हो । ६० लाखको लागतमा बर्थिङ सेन्टर र एक करोडको लागतमा वडा कार्यालयको भवन निर्माण हुने नगरपालिकाले जनाएको छ ।
भवन शिलान्याश कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले सुत्केरी हुन सदरमुकाम कलैया, वीरगञ्ज र अन्य छिमेकी तथा स्थानीय तहमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्नको लागि बर्थिङ सेन्टर निर्माण गर्न लागेको बताए । ‘नगरपालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ’, उनले भने, ‘आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ ।’
उक्त शिलान्यास कार्य्रकममा पचरौता नगरपालिकाका उप प्रमुख नसीमा खातून, वडा अध्यक्षहरु लक्ष्मी यादव, बनारसी मुखिया, धेनुक मुखिया, स्थानीय नेताहरु सुरेश यादव, भैयाराम सहनी, नेवाजी अन्सारी लगायतको उपस्थिति रहेको थियो ।
बारा
प्रतिक्रिया