सुदूरपश्चिममा मिडिया : कोरोनापछि लयमा फर्केन

धनगढी । सुदूरपश्चिममा बदलिँदो राजनीतिक घटनाक्रमसँगै मिडियाको विकास पनि बढ्दै गएको देखिन्छ । मिडियाको सुरुआत कहिले भयो भन्ने ठ्याक्कै अभिलेख नभए पनि पञ्चायती व्यवस्थासँगै सरकारी पत्रपत्रिका सुरु गरेको जानकारहरू बताउँछन् ।

२०२१ सालपछि पञ्चायतले आफ्नो मुखपत्रको रूपमा पत्रिका सञ्चालन गरेको अभिलेख रहेको बरिष्ठ पत्रकार मनमोहन स्वारले बताए । ‘२०२१ सालपछि पञ्चायतले आफ्नो मुखपत्रको रूपमा पत्रिका सुरु गरेको देखिन्छ’, उनले भने, ‘सेतीमा सेती सन्देश र महाकालीमा महाकाली सन्देश भनेर सुरु गरेको हो । त्यो अभिलेख पनि भेटिन्छ ।’

‘यहाँ २०१३ सालबाट मिडिया आरम्भ भएको भन्ने छ । २०१३ सालमा डोटीमा हातले लेखेको एउटा पत्रिका सुरु भएको भन्ने गरिन्छ’, उनले भने, ‘तर त्यसको अभिलेख भने कहीँ भेटिँदैन । त्यो अप्रमाणित नै छ ।’

२०२८–०२९ सालपछि निजी क्षेत्रबाट केही सीमित पत्रपत्रिका सञ्चालनमा आएको उनी बताउँछन् । ‘त्यसपछि यहाँ निजी लगानीमा पत्रिकाको सुरुआत भएको देखिन्छ’, उनले भने, ‘२०२८–०२९ सालमा निजी लगानीमा कञ्चनपुरमा वार्ता साप्ताहिक सञ्चालन भएको थियो ।’ ‘त्यसपछि विस्तारै कैलालीमा पनि निजी लगानीबाट पत्रिका सञ्चालनमा आयो ।’ उनले भने, ‘२०३६–०३७ सालदेखि कैलालीमा परिचर्चा साप्ताहिक सञ्चालनमा आएको थियो । जुन प्रकाशक, सम्पादक, व्यवस्थापक भनेर व्यवस्थित रूपमा सञ्चालन भएको थियो ।’

त्यसपछि बिस्तारै पत्रपत्रिका थपिँदै गएको उनको भनाइ छ । २०३८–०३९ सालतिर सेती समाचार साप्ताहिक, मातृ सन्देश साप्ताहिक सञ्चालनमा आएको उनले बताए । खासगरी बहुदलपछि यहाँ पत्रपत्रिका थपिने क्रम बढेको उनले बताए । ‘खासगरी कैलाली र कञ्चनपुरमा २०४६ सालपछि अरू पत्रिका पनि थपिए । उनले भने, ‘यो अवधिमा अरू ठाउँमा दार्चुला, डडेल्धुरा, बैतडी, डोटीमा साप्ताहिक, पाक्षिक, मासिक पत्रिका निस्केको देखिन्छ ।’
व्यवसायिक रूपमा २०५४ सालपछि मात्रैै पत्रिका सञ्चालन भएको उनले बताए । उनले भने, ‘यस अगाडि दैनिक पत्रिका सञ्चालनमा थिएनन् । २०५४ सालमा कैलालीमा दैनिक पत्रिका सुरुभयो, त्यस लगत्तै कञ्चनपुरमा पनि सुरु भयो ।’ त्यसपछि अफसेट प्रेस पनि सञ्चालनमा आएको स्वारले बताए । ‘कञ्चनपुरमा २०५४–०५५ र कैलालीमा २०५६–०५७ मा अपसेट प्रेस सञ्चालनमा आएको थियो’, उनले भने, ‘त्यसअघि हातले अक्षर मिलाएर ट्रेलर मेसिनमा पत्रिका छापिन्थ्यो ।’

अफसेट प्रेस आइसकेपछि दैनिक पत्रिकाको संख्या पनि बढ्दै गएको उनले बताए । ‘२०६१–०६२ भन्दाअघि कैलाली र कञ्चनपुरमा झण्डै पाँच–६ वटा दैनिक पत्रिका सञ्चनलमा आइसकेका थिए ।’ उनले भने, ‘त्यसपछि दैनिक पत्रिका, एफएम रेडियासँगै अन्य मिडियाको संख्या एकदम बढेको देखिन्छ ।’ पछिल्लो समय धेरै अनलाइन पनि सञ्चालनमा आएको उनले बताए ।

मिडिया क्षेत्रको विकास क्रम बढे पनि पछिल्लो समय यो क्षेत्र संकटपूर्ण अवस्थामा रहेको उनको अनुभव छ । रेडियो, पत्रिका, अनलाइन टिकाउ हुन सकेका छैनन् । कोभिडपछि पत्रपत्रिकाको संख्या पनि ह्वात्तै घटेको उनले भने, ‘कोभिडपछि मिडिया क्षेत्र संकटपूर्ण अवस्थामा छ । कोरोना कालमा थलिएको मिडिया क्षेत्रमाथि उठ्न सकेको छैन । मिडिया क्षेत्र कोरोनापछि लयमा फर्कन नसकेको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले बताए । उनले भने, ‘कोरानाअघि पनि मिडियाको अवस्था कोरोना लागिरहेकै जस्तो थियो । टिभीलाई रेडियोले विस्थापित गर्ने, पत्रपत्रिकालाई अनलाइनले विस्थापित गर्ने, अनलाइनलाई सोसियल मिडियाले विस्थापति गर्ने यी कारणले मिडिया कमजोर हुँदै गइरहेको थियो । त्यसै बेला कोरोना आयो । कोरोनाले त झन् मिडियालाई धेरै समस्यामा पार्यो ।’

‘कोरोना हटिसकेपछि मिडिया पुरानै अवस्थामा फर्किनुपर्ने हो तर त्यस्तो हुन सकेन’, उनले भने, ‘जो लगानीकर्ता हुन् उनीहरूले कोरोनाको बहाना गर्दै लगानी कटौती गर्दै गए । यी यावत कारणले मिडियाप्रति मिडिया मालिक, पाठकको पनि प्राथमिकता घट्दै गयो । प्राथमिकता घट्दै गएपछि हामी पत्रकारको पेसा धरापमा पर्यो ।’

‘यसलाई उकास्न सक्ने अवस्था देखिँदैन । विज्ञापन बजार साघुँरो छ । सीमित विज्ञापन छ । मिडिया यति धेरै भए कि टिक्नै गाह्रो भयो ।’ उनले भने, ‘एक पत्रकार एक अनलाइन छन् । कतिवटा मिडिया टिक्ने ?’

‘पछिल्लो समय सोसल मिडियाबाट मान्छेले सजिलै सूचना पाउन थाले । खोज पत्रकारिता गर्ने मान्छे पनि कम छन् । त्यसको गहिराइमा गएर पढ्ने पाठक पनि कम छन्’, उनले भने, ‘अहिले मान्छेले एउटा फेसबुक स्टाटसको भरमा सूचना पाइहाल्छन् । त्यति धेरै गम्भीर पाठक पनि छैनन् । यी यावत कारणले मिडियाको अवस्था नाजुक हुँदै गइरहेको छ ।’

अधिकांश मिडियाको अवस्था नाजुक छ । कतिखेर बन्द हुन्छन् थाहा छैन । चलेका पत्रपत्रिका पनि सीमित मात्रै बजारमा निस्किन्छन् । मिडियाको अवस्था निकै जटिल रहेको अध्यक्ष रावलको अनुभव छ ।

कारोनापछि सुदूरपश्चिममा धेरै पत्रकारले रोजगारी गुमाएको महासंघ अध्यक्ष रावल बताउँछन् । ‘यहाँ मात्र होइन्, यो देशभरिकै समस्या हो । कोरोनापछि धेरै पत्रकारले रोजगारी गुमाएका छन् । काम गरिरहेकाले पनि तलब पाइरहेका छैनन् ।’ उनले भने, ‘तलब पाउनेले पनि समयमा पाउँदैनन् । ९० प्रतिशत पत्रकारको पेसाचाहिँ जोखिममा छ । जेनतेन गरेर टिकिरहेका छन् । १० प्रतिशत पत्रकार होलान् थोरै भए पनि नियमित तलब पाउने ।’
मिडिया क्षेत्रलाई माथि उकास्न लगानीको खाँचो रहेको उनी बताउँछन् । ‘लगानीकर्ताले लगानी घटाइरहेका छन् । लगानीकर्ताले मिडियामा लगानी गर्दा फाइदा हुँदैन भन्ने सोचिरहेका छन्’, उनले भने, ‘मिडियामा मात्र होइन सबै बजार ओरालो लागेको छ । राज्यले पनि लोक कल्याणकारी विज्ञापन दिएर मात्रै मिडियाको अवस्था उकासिने देखिँदैन । मिडिया संक्रमणकालीन अवस्थामा छन् । यसलाई उकास्न लगानी नै चाहिन्छ ।’

आर्थिक मन्दीका कारण पत्रिका चलाउन कठीन हुँदै गएको कैलालीको टीकापुरबाट सञ्चालन हुँदै आएको मलवारा दैनिकका प्रकाशक–सम्पादक दीपेन्द्रराज भण्डारीले बताए । उनले बिगत १९ वर्षदेखि पत्रिका सञ्चालन गर्दै आएका छन् । भण्डारीले भने, ‘मैले पत्रिका सञ्चालन गरेको १९ वर्ष भयो । पहिले साप्ताहिक थियो । दैनिक बनाएको पनि १४ वर्ष भइसक्यो । अब पत्रिका टिकाउनै गाह्रो छ ।’

कोरोना अगाडि त पत्रिका सञ्चालनमा त्यति समस्या थिएन । कोरोनापछि छाएको आर्थिक मन्दीसँगै बजारबाट विज्ञापन आउन छाडेको भण्डारीले बताए । उनले भने, ‘विज्ञापन नआएपछि पत्रिका टिक्नै कठीन छ । कर्मचारीलाई तलब दिन मात्रै होइन नियमित प्रकाशनका लागि आवश्यक कागज किन्न पनि समस्या हुन थालेको छ ।’

‘हामीजस्ता व्यावसायिक पत्रकारितामा लागेकाहरूलाई बाँच्नै गाह्रो भएको छ’, उनले भने, ‘यस्तै समस्या केही महिना रहने हो भने पत्रिका बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’

१५ सामुदायिक रेडियो बन्द

आर्थिक मन्दीको असर पत्रपत्रिकामा मात्रै नभएर एफएम रेडियोहरूमा पनि परेको छ । यस प्रदेशमा रहेका केही समुदायिक रेडियोहरू बन्द पनि भएका छन् । आर्थिक अभावका कारण यस प्रदेशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका १५ वटा सामुदायिक रेडियो बन्द भएको सामुदायिक रेडियो प्रसारक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष जगत खड्काले बताए । उनले भने, ‘यो प्रदेशमा झण्डै ७० बढी एफएम रेडियो सञ्चालनमा रहेकोमा कोरोनापछिको आर्थिक मन्दीका कारण १५ वटा रेडियो विभिन्न मितिमा बन्द भएका छन् ।’

उनले भने, ‘आर्थिक मन्दीको असर रेडियोमा यतिसम्म पर्यो कि रेडियोलाई नवीकरण गर्न, रोयल्टी बुझाउन, बत्तीको बिल, टेलिफोनको बिल, घरभाडासमेत बुझाउन गाह्रो भयो ।’

रेडियो बन्द भएसँगै त्यहाँ कार्यरत पत्रकार, कर्मचारीले रोजगारी पनि गुमाएका छन् । उनले भने, ‘सञ्चालनमा रहेका रेडियो पनि आर्थिकरूपले संकटपूर्ण अवस्थामा छन् ।’

‘आर्थिक अवस्थाका कारण थलिएको मिडिया क्षेत्रलाई माथि उकास्न लोक कल्याणकारी विज्ञापनको अवधारणा ल्याउनुपर्छ ।’ उनले भने, ‘पत्रकारको हकहितका लागि राज्यले बजेट विनियोजन गर्नुपर्यो ।’

छैन एकिन तथ्यांक

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चारक्षेत्र पनि हेर्ने गरेको छ । सञ्चार क्षेत्र हेर्ने सो मन्त्रालयमा भने प्रदेशभरी सञ्चालनमा रहेका मिडियाको एकिन तथ्यांक भने छैन । मन्त्रालयले सञ्चालनमा रहेका मिडयाहरूलाई लोककल्याणकारी विज्ञापन भने दिने गरेको छ ।
चालु आवमा एफएम रेडियो, पत्रपत्रिका, अनलाइन गरी १ सय २६ वटा सञ्चारमाध्यम लोककल्याकारी विज्ञापनका लागि दर्ता भएको मन्त्रालयको सूचना तथा सञ्चार शाखा प्रमुख दीपेन्द्रसिंह बिष्टले जानकारी दिए ।

उनका अनुसार ३६ वटा एफएम रेडियो, ४९ वटा अनलाइन पत्रिका, १६ वटा साप्ताहिक पत्रिका, २४ वटा दैनिक पत्रिका र एक द्वैमासिक पत्रिका लोककल्याणकारी विज्ञापनका लागि दर्ता भएका छन् ।

‘प्रदेशभरी यति नै सञ्चार माध्यम सञ्चालनमा छन् भन्ने मन्त्रालयमा एकिन तथ्यांक त छैन’, बिष्टले भने, ‘केही छुटेका हुन सक्छन् । यसलाई आधार मानेर यति नै छन् भन्न सक्ने अवस्था छैन । तर, धेरैजसो लोककल्याणकारी विज्ञापनका लागि दर्ता भएका छन् ।’

उनले भने, ‘पत्रपत्रिका, अनलाइन, रेडियो, टिभी दर्ता हुने निकाय फरकफरक छन् । यहाँ दर्ता हुन आउने विज्ञापनका लागि मात्रै भए ।’

प्रतिक्रिया