कालिकोटकाे लालुमा विजुली बल्याे, स्थानीय खुसी

कालिकोट । नरहरिनाथ गाउँपालिका ९ लालुमा राष्ट्रिय प्रसारण लाईनमार्फत विजुली पुगेपछि स्थानीय खुसी भएका छन् । स्थानीय नवराज सुनार राष्ट्रिय प्रसारण लाईनको बत्ति बल्दा हर्षित छन् । उनको घरमा टुकि, लाल्टीन, झरो बल्थ्यो । विस्तारै उज्यालो दिने ती सामाग्री हट्दै गएपछि उनको घरमा सोलार बल्दथ्याे । सोलारले सोचेजति उज्यालो दिएन । उनी भन्छन् – ‘बर्खामा पानी पर्दा, बादल लाग्दा पनि सोलारले उज्यालो नदिने हुँदा आफ्नो परिवारलाई सास्ती हुने गर्दथ्याे ।’

नवराज सुनार मात्र हैनन् स्थानीय धनबहादुर सार्कीको पीडा पनि उस्तै थियो । टुकि, लाल्टीन, झरो बाल्दा दुख बढी हुने भएकाले ऋण गरेर भएपनि उनले घरमा सोलार ल्याए । सोलारको पावरले सामान्य मोवाईल चार्ज गर्न, बत्ति बाल्न पनि नपुग्ने भएपछि उनी समस्यामा थिए । तर हाल वडा सरकार र पालिकाको पहलमा गाउँमा बत्ति बल्दा हर्षित भएको उनको भनाई छ । उनले वडा र पालिका सरकारलाई धन्यवाद समेत दिए । वडा नं. ९ लालुका २ जना मात्र हैनन् हाल २ सय घरधुरीका परिवारहरु हर्षित देखिन्छन् ।

नरहरिनाथ गाउँपालिका वडा नं. ९ लालुमा १४ वर्ष पछि राष्ट्रिय प्रसारण लाईनको बत्ति बलेको छ । कालिकोट जिल्लामा रहेको पोतमारा जलविद्युत आयोजनाको विद्युत लाईन नरहरिनाथ गाउँपालिकाको लालुमा लिने भनेर २०६६ सालमा विद्युतका पोल गाडियो । पोल गाडिए पनि विद्युत लाईन भने पुग्न सकेको थिएन ।

नरहरिनाथ गाउँपालिका वडा नं. ९ लालु र गाउँपालिकाको निरन्तर सहयोग तथा समन्वयले गर्दा हाल गाउँमा बत्ति बलेको छ । वडा ९ लालुमा रहेका ८ सय घरधुरी मध्ये हाल २ सय बढी घरधुरीमा बत्ति बाल्ने लक्ष्य रहेको वडाध्यक्ष प्रदिप बोहराले जानकारी दिए । बोहराका अनुसार अन्य ६ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जोड्नका लागि नेपाल विद्युत प्राधिकरण कालिकोटले टेन्डर गरिसकेको छ ।

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले गाउँपालिका, वडा र नेपाल विद्युत प्राधिकरण कालिकोट बितरण केन्द्रको अथक प्रयास तथा मेहनत पछि बत्ति बाल्न सफल भएको बताए । उनले भने, ‘गाउँपालिकामा रहेका सवै वस्तीमा राष्ट्रिय प्रसारण लाईन पुर्याएर बक्ति बाल्ने गाउँपालिकाको लक्ष रहेको छ ।’

तत्कालिन लालु गाउँ विकास समिति हुँदाखेरी पोतमाराको बत्ती ल्याउने भनी पोल गाडिएका भएपनि बत्ति आउने अत्तोपत्तो थिएन । गाउँमा बत्ति बल्दा वडा नं. ९ लालुका नागरिकहरु हर्षित देखिएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया