करोडभन्दा बढी रकम हिनामिना गर्ने प्रभु बैंकका शाहविरुद्ध मुद्दा दर्ता

गोतामकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकास्थित राडी बजारमा रहेको प्रभु बैंककमा अप्रेशन इन्चार्जको रुपमा कार्यरत निरज बिक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।

बचत कर्ताले बैंकमा आफ्नो खातामा जम्मा गरेको रकम नभेटिएको भनेर गुनासो गरेपछि बैंकले केही दिन पहिले आन्तरिक छानविन सुरु गरेको थियो । छानविनमा सम्बन्धित खातावालाको कुनै पनि जानकारी बिनै बैंकमा जम्मा गरेको रकम हिनामिना गरेको पाइएपछि शाहविरुद्ध प्रभु बैंकको कर्णाली प्रदेश कार्यालयले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा मुद्दा दर्ता गरेको हो ।

प्रहरीका अनुसार बैंकका खातावालाहरुको रकम अनाधिकृत रुपमा निकाल्ने, जम्मा गर्ने, अरुलाई ट्रान्सफर गर्ने गरेको शाहलाई आरोप लागेको छ । प्रभु बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले यस घटनाको प्रारम्भिक छानविन गरेर आरोपी कर्मचारी शाहविरुद्ध मुद्दा दर्ता गरेको हो । कर्मचारीको टोलीले शाखाको दैनिक काम गरिरहेको छ ।

आरोप लागेका शाह अहिलेसम्म सम्पर्कविहिन रहेको बैंकले बताएको छ । शाखा प्रमुख डम्बर गौतम विदामा बसेको मौका छोपेर उनी भागेको बताइएको छ । शाहविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको बैंकले जनाएको छ । बैंक शाखाका सबै कर्मचारीहरुलाई जिम्मेवारीविहिन बनाएर बैंकमा भने कारोबार सञ्चालन भइरहेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया