पर्यटन प्रवर्द्धनका लागि ‘ऐनापोखरी’ महोत्सव

इलाम । इलामको चुलाचुली गाउँपालिका–३ र ४ मा पर्ने ‘ऐनापोखरी’ संरक्षणमा स्थानीय सरकार लागेको छ । ‘ऐना’मा जस्तै पानीमा आफ्नो अनुहार प्रष्टै देखिने ‘ऐनापोखरी’को र प्रवद्र्धनमा संरक्षणमा स्थानीय सरकार लागेको हो ।

पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको ‘ऐनापोखरी’सम्म पुग्न पर्यटकलाई सहजताका लागि चुलाचुली गाउँपालिकाले मोटरेबल सडक निर्माण गरेको छ । चुलाचुली गाउँपालिकाले त्यस क्षेत्रलाई ‘ऐना पोखरी श्रम पार्क’ नामाकरण गरी पूर्वाधार विकास गर्न थालेको हो ।

चुरे क्षेत्रमा पर्ने ऐना पोखरीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन चुलाचुली गाउँपालिकाले पर्यटन महोत्सवको तयारी गरेको छ । आउँदो फागुन १ देखि ७ गतेसम्म ऐना पोखरी पर्यटन महोत्सव आयोजना गर्न लागिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

‘पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएको यस ऐना पोखरीलाई थप प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले फागुन पहिलो साता पर्यटन महोत्सव आयोजना गर्न तयारी गरेका छौँ’, अध्यक्ष केरुङले भने, ‘स्थानीय कलास राईको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरी महोत्सवको तयारीमा सुरु तीव्र बनाएका छौँ ।’

भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको मूल व्यवस्थापन समितिका अध्यक्ष कैलासले बताए । ‘चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो, तयारी तीव्र पारिएको छ’ उनले भने ।
एक साता सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका झाँकी प्रदर्शन, खेलकुद प्रतियोगिता, स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनीलगायतका कार्यक्रम गरिने अध्यक्ष राईले बताए । त्यसका लागि दुई दर्जनबढी स्टलहरू निर्माण भएका छन् ।

महोत्सवमा आउने पर्यटकहरूलाई रैथाने स्वाद चखाउने स्थानीयको तयारी छ । त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा, केरा, सिमलको विभिन्न परिकारहरूको स्वाद चाख्न पाइनेछ ।

चुरे वनको फेदीमा पर्ने ऐना पोखरीमा घुम्न र मनोरञ्जन लिनका लागि वातावरण शान्त छ । वरिपरि पहाड र हरियाली वनजंलको बीचमा पर्ने त्यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र भोगोलिक सहजताले पर्यटकका लागि उपयुक्त छ । पछिल्लो समय त्यस क्षेत्रमा तस्बिर लिन, भिडियो बनाउन र पिकनिक खान आउनेको समेत भिड लाग्ने गरेको छ ।

प्रतिक्रिया