लाखौँ रकम लिएर बैंकका कर्मचारी सम्पर्कविहिन

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ राडी बजारमा रहेको प्रभु बैंकको शाखाबाट बचत कर्ताको लाखौँ रकम लिएर एक कर्मचारी सम्पर्क बिहिन भएका छन् ।

शाखामा अप्रेशन इन्चार्जको पदमा कार्यरत आठबिसकोट नगरपालिका–११ का निरजबिक्रम शाह (निराजन) सम्पर्क विहिन भएका हुन् । शाह सात दिनदेखि सम्पर्क विहिन बनेपछी बचतकर्ता चिन्तामा रहेका परेका हुन् ।

बैंकमा करोडौं रुपैयाँको हिनामिना भएको भन्ने खबर बाहिरिएपछि बैंकले आन्तरिक अनुसन्धान अगाडी बढाएको छ । निराजनले ग्राहकलाई बैंकमा पैसाजम्मा गरिदिन्छु भनेर लिएको समेत बचतकर्ताले जनाएका छन् । शाह बेपत्ता भएपछी यतिबेला बचतकर्तामा खैलाबैला मच्चिएको छ । शाहसंग स्थानीय व्यापारीको कारोवार भएको र ऋण दिएपछी उनी सम्पर्क विहिन हुँदा व्यापारी आत्तिएको हुनसक्ने एक कर्मचारीले बताए ।

निराजनले व्यक्तिगत रुपमा समेत बैकिंङ कारोबार गर्दै आएको बचतकर्ताको भनाई छ । आठबिसकोट नगरपालिका–११ का दलजित विकले केहिदिन पहिले आफुले गरेको कारोबार रकम समेत होल्डमा रहेको बताए । उनीसहित अर्का एकजनाको बचत गरेको रकम खातामा नदेखिएपछी बैंकमा बुझ्दा पैसा खातामै होल्डमा रहेको र छानबिन पछि मात्रै उक्त रकमदेखिने बताए । उक्त रकम शाहले टान्सफर गरेकोले सो रकम होल्डमा रहेको बताइएको छ ।

आठबिसकोट नगरपालिका–१३ का शंकरबहादुर पुनले आफ्नो खातामा रहेको १० लाख रुपैयाँ शाहले अरुको खातामा ट्रान्सफर गरेको बताए । उनले सौर्य दैनिकसंग भने, ‘मेरो मोबाइल बैकिंङको लागि दुई महिना पहिले उसलाई कागतजात सहित खाता विवरण दिएको थिए । दुई महिनासम्म मोबाइल बैकिङ किन भएन भनेर बुझ्न जादा बैंकमा पैसा नभएको देखिए पछि बैंक स्टेटमेन्ट हेर्दा १० लाख रुपैयाँ मेरै किर्ते हस्ताक्षर गरेर कनेक्ट आइपिएस मार्फत निकालेको रहेछ ।’

उक्त बैंकमा रहेको बिभिन्न बचाकर्ताको ५ करोड रकम हिनामिना भएको हुनसक्ने आशंका गरिएको छ । बैंकबाट रकम निकालेको सूचना बाहिरिएपछि आन्तरिक अनुसन्धान सुरु गरिएको शाखा प्रमुख डम्बर गौतमले बताए । उनले भने, ‘म पनि विदामा थिए । सूचना बाहिरिए पछि हामीले छानबिन सुरु गरेका छौं ।’

शाहले १२ दिनको बिरामी विदा मागेका थिए । ‘म आफै विदामा रहेको कारण विदा स्वीकृत भएको छैन,’ उनले भने, ‘म विदामा हुँदा बैंकको सबै कारोबारको जिम्मा उहाँलाई दिएको थिएँ । अहिले दुई चारजना बचतकर्ता बैंकमा पैसाजम्मा गर्न दिएको भन्दै आउनु भएको छ । । तर अहिलेसम्म यति रकम हिनामिना भएको हो भन्ने यकिन छैन ।’ उनका अनुसार छानबिन सुरु भएको र सबै तथ्य पत्ता लगाउन एक दुई दिन लाग्न सक्ने छ ।

६ महिना अघि आठबिसकोट नगरपालिका –५ का धनराम थापाले बचत गरेको पाँच लाख रुपैयाँ समेत खाताबाट गायब भएको थियो । तिनै निराजनलाई बैंकमाजम्मा गर्न भौचर भरेर दिएको रकम खातामा नदेखिएपछि बैंकमा जानकारी लिन खोज्दा आफ्नो जागिर जाने भन्दै शाहले उक्त रकम फिर्ता गरेका थिए । बैंकमा आउने सेवाग्राहीले उनले सास्ती दिने गरेको भन्दै गुनासो पोख्दा बैंक मौन बस्ने गरेको स्थानीयको गुनासो छ । एक महिना अघि पनि शाहले व्यक्तिगत कारोबारलाई बैंकमा जोडेको भन्दै गुनासो गर्दा बैंकले उनी माथि कुनै छानबिन नगरेको बचतकर्ताको भनाई छ ।

शाहले बैंक मार्फत करोडौं रकम लिएर भाग्ने योजना केहि महिना पहिलेनै गरेको देखिन्छ । उक्त घटनाको छानबिनको लागि प्रभु बैंक कर्णाली प्रदेशबाट दुई जनाको टोलि आएर छानबिन सुरु गरेको बताइएको छ । दुई दिन बितिसक्दा समेत आन्तरिक अनुसन्धान भैरहेको भन्दै बैंकले कुनै पनि आधिकारिक जानकारी दिएको छैन ।

आठबिसकोटमा प्रभु बैंक मात्र रहेकोले वडा कार्यालय, नगरपालिका तथा अन्य सरकारी तथा गैरसरकारी संघ सस्थाको करोडौंको कारोबार उक्त बैंकमा हुँदै आएको छ । सम्पर्क बिहिन रहेका शाह पायाल्सको अप्रेसन छ नेपालगञ्ज उपचार गर्न जान्छु भनेर बेपत्ता भएका हुन् । बैंकले भने अहिलेसम्म बचाकर्ताको खाताबाट पैसा ननिकालेको जनाएको छ । बैंकमा पटक पटक शाहको विषयमा गुनासो आउने गर ेपनि बैंकले भने वेवास्ता गरेको स्थानीयको भनाई छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया