अमर नेम्वाङ स्मृति सम्मानले दुई श्रष्टा पुरष्कृत

पाँचथर । साहित्य तथा राजनीतिक व्यक्तित्व स्वर्गीय अमरकुमार नेम्वाङ साहित्यिक पुरस्कारबाट दुई कवि तथा पत्रकार विमला तुम्खेवा र पत्रकार तथा कवि नियात्राकार गिरिराज बाँस्कोटालाई पुरष्कृत गरिएको छ ।

शुक्रबार एक समारोहमा राजनीतिज्ञ, साहित्यकार एवं समाजसेवी स्व. अमरकुमार नेम्वाङको नाममा स्थापित संस्था ‘अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठान’ले यस वर्षको साहित्य सम्मान पुरस्कार संयुक्त रुपमा कवि तुम्खेवा र कवि तथा बाँस्कोटालाई प्रदान गरेको जनाएको छ । पाँचथर सदरमुकाम फिदिममा उनीहरुलाई अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौं स्मृति दिवसको अवसर पारेर सम्मान गरेको हो ।

पुरस्कृत दुवै स्रष्टा पत्रकार समेत हुन् । तुम्खेवा सञ्चारिका समूह नेपालकी अध्यक्ष हुन् भने बाँस्कोटा पत्रकार महासंघ पाँचथरका अध्यक्ष हुन् । उनीहरुलाई जनही नगद रु ५० हजार पुरस्कारसहित दोसल्ला र कदरपत्र मार्फत सम्मान गरिएको हो ।

पुरस्कृत स्रष्टाद्वय तुम्खेवा र बाँस्कोटालाई कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले कदर पत्रसहित नगद पुरस्कार वितरण गरे । सोही क्रममा अमर नेम्वाङ लिम्बू स्मृति छात्रवृत्ति समेत वितरण गरिएको छ ।

ज्योति मावि आङसराङकी छात्रा प्रेमा लावतीलाइ ‘अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठान’ले छात्रवृत्तिको रकम नगद १० हजार रुपैयाँ प्रदान गरेको छ । त्यसै गरी प्रतिष्ठानले पाँचथरका आगलागी र बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको छ ।

आलागीमा ज्यान गुमाएका हिलिहाङ– ७ का सेसे पन्दाक, फिदिम– ५ का सनिप खाती, फाल्गुनन्द– १ का मनकुमार नेम्वाङ र मिक्लाजुङ– ७ का सरिता राईका परिवारलाई राहतस्वरुप नगद १० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको हो ।

यस्तै गत असार २ गते गएको बाढीपहिरोमा ज्यान गुमाएका हिलिहाङ– ७ का तिलकुमार तामाङ, आशिष माझी र एलिसा माझीसँगै फालेलुङ– ४ की जुना सावदेन, फिदिम– १० का सन्जोग लोवा र फिदिम– ५ का राजकुमार राईको परिवारलाई पनि नगद १० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ । पुरस्कार, राहत र सम्मान वितरण कार्यक्रमको संयोजन याक्थुङ लेखक संघले गरेको थियो ।

अमरकुमार नेम्वाङको फाल्गुनन्द गाउँपालिका अध्यक्ष रहेकै बखत २०७५ साल माघ २६ गते निधन भएको थियो ।
स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मानबाट यसअघि डाक्टर देवी क्षेत्री दुलाल, मुनाराज सेर्मा, डाक्टर गोविन्दराज भट्टराई, बीर नेम्वाङ, विना थिङ, शारदा सुब्बा, श्रवण मुकारुङ र प्रेम ओझा सम्मानसहित पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया