१० रुपैयाँमै विशेषज्ञसहितको सेवा दिँदै जीतपुरसिमरा अस्पताल

बारा । बाराको सिमरामा रहेको जीतपुरसिमरा अस्पतालले मुहार फेर्दै गएको छ । वडा–२ स्थित सिमराको मुख्य चोकमा रहेको जीतपुरसिमरा अस्पताल यतिखेर आफूलाई सुधार्दै छ । चर्को महँगीमा सुन्दा पत्याउन गाह्रो छ । तर, त्यो गाह्रोलाई सहज बनाउँदै यस अस्पतालले १० रुपैयाँमै विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गरिरहेको छ । पहिले सीमित जनशक्तिबाट उपचार सेवा दिँदै आएको १५ शैयाको यस अस्पतालमा अहिले एक जना विशेषज्ञसहित चार जना मेडिकल अफिसर लगायतको टिमले सेवा प्रदान गरिरहेका छन्  । प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा रहेको अस्पताललाई जीतपुरसिमरा उपमहानगरपालिकाले स्तरोन्नति गरेपछि अस्पतालको मुहार फेरिएको हो ।

अस्पताल सुधार गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले देखाएका चासोकै कारण अहिले यस अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको छ । अस्पतालमा दैनिक २ सय ५० भन्दा बढी ओपिडी र आकस्मिक सेवाका बिरामी आउने गरेका छन् । पहिले प्राथमिक स्वास्थ्य केन्द्र हँुदा दैनिक ५० जनाले सेवा लिने गरेको अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डाक्टर प्रकाश साहले बताए ।

यस अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन अप्रेसन थिएटर खोल्ने तयारी भइरहेको छ । स्वास्थ्य महाशाखा प्रमुख रबिकुमार भास्करले शल्यक्रिया सेवालाई पनि अघि बढाउने तयारी भइरहेको बताए । अब चाँडै सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा ल्याउने उपमहानगरले जनाएको छ ।

३६ जना दक्षजनशक्ति राखेर सञ्चालन गरिएको अस्पताल अहिले जनताको रोजाइमा पर्न थालेको छ । जीतपुरसिमरा अस्पताल नहँुदा कलैया वीरगञ्ज विशेषज्ञ डाक्टरको सेवा लिन स्थानीय बाध्य थिए । तर, यो समस्या हटेको छ ।

हाल यस अस्पताल अस्थायी रूपमा जीर्ण पुरानो भवनबाट सञ्चालनमा छ । तर, स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा अघि बढाउने तयारी अनुरूप जीतपुरसिमरा उपमहानगरपालिकाले अस्पतालको नयाँ भवन निर्माण कार्यलाई तीव्रता दिएको छ ।

२०७९ सालदेखि निर्माण सुरु भएको उक्त भवनको निर्माण कार्य अहिले तीव्र गतिमा भइरहेको छ । ठेकेदार कम्पनीले २०८१ असार १६ गते निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । सम्झौतामा २४ महिनाभित्र निर्माण पूरा गर्नुपर्ने उल्लेख छ । जीतपुरसिमरा उपमहानगरले जीतपुर स्वास्थ्यचौकी र डुमरवाना स्वास्थ्यचौकीलाई समेत मेडिकल अफिसर राखेर सञ्चालन गरिरहेकोले जीतपुरसिमरा उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मार्दै छ ।

प्रतिक्रिया