‘स्लो बाईक’ प्रतियोगितामा घनश्याम केसी प्रथम

दैलेख । ‘स्लो बाईक’ प्रतियोगितामा घनश्याम केसी प्रथम भएका छन् । शनिवार दैलेखमा भएको प्रथम दैलेख ‘स्लो बाइक’ प्रतियोगिता–२०८० मा सबै भन्दा ढिलो बाईक चलाएर घनश्याम केसी प्रथम भएका हुन् ।

बास नेपाल जिल्ला शाखा दैलेखको आयोजनमा भएको प्रतियोगितामा करिब ४८ जनाको प्रतिस्पर्धा रहेको थियो । ४८ जना प्रतिस्पर्धीहरूका बिच घनश्याम केसी प्रथम भएका छन् । बास नेपाल जिल्ला शाखा दैलेखका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल रहेका बास नेपाल दैलेखका सचिव कृष्णकमल अधिकारीले सौर्य दैनिकलाई जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार प्रतियोगितामा भाग लिएका मध्ये घनश्याम केसी प्रथम, कृष्णबहादुर खत्री द्धितिय, सरोज महतरा तृतीय र नवीना रावल सान्त्वना (चाैथाे) भएका छन् । जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज मोहन पन्तको संयोजकत्वमा तिन जना निर्णायकहरुले दिएको नतिजा लाई आधार मानी प्रथम पुरस्कार रु १० हजार, द्धितिय पुरस्कार रु. ७ हजार, तृतीय पुरस्कार रु ५ हजार र सान्त्वना पुरस्कार रु ३ हजार सहित प्रमाण–पत्रले उनीहरूलाई सम्मान गरिएको छ ।

दिनानुदिन बढिरहेको दुर्घटना न्यूनीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले ‘स्लो बाइक प्रतिस्पर्धा’ प्रतियोगिता गरिएको थियो उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै प्रमुख जिल्ला अधिकारीले सवारी दुर्घटना न्यूनीकरणमा यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने बताए ।

कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका सभापति तथा बास नेपाल जिल्ला शाखा दैलेखका अध्यक्ष हिक्मत बुढाले कार्यक्रम गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

नारायण नगरपालिका वडा नं.–६ काँडाचौरमा ५० मिटरको लम्बाईमा भएको प्रतियोगितामा जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्था बास नेपालका प्रदेश संयोजक धिरेन्द्र कुमार शाही नारायण नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष जनक न्यौपाने बास नेपालका सदस्य, जिल्ला स्थित सञ्चार माध्यमा कार्यरत सञ्चारकर्मी लगायत अन्य नागरिकहरूको बाक्लो उपस्थिति रहेको बास नेपाल दैलेख शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया