तराईमा चिसोसँगै बिरामीको संख्या बढ्दै

बारा । बारालगायत मधेसभरि नै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । बाराको जीतपुर, सिमरा, कलैया, सिमरौनगढ, गञ्जभवानीपुरका मुख्य बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल कम भएको छ । एक साता यता यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको सर्वसाधारणले बताएका छन् । चिसोले गर्दा मानिसहरू बिरामी परिरहेका छन् । अस्पतालमा चिसोका कारण बिरामी हुनेको संख्या बढेको छ । विशेष गरी कोल्ड डायरिया, दम खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरू बताउँछन् ।

शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्ने लगायतका समस्या देखिने गरेको छ । चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा–ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू प्रभावित छन् । बिहानदेखि बाक्लो हुस्सु लाग्ने र सँगसँगै चिसो बढेकाले बाराको जनजीवन प्रभावित भएको छ । कुहिरो र शीतलहरसँगै चिसो हावा चल्ने गरेकाले हाटबजार तथा कार्यालयमा सर्वसाधारणको आवागमनमा समेत कमी भएको छ । चिसोबाट बच्न मध्य तराईमा समूहमा बसेर आगो तापेको दृश्य देखिएको छ । बाक्लो हुस्सुसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।

केही दिनदेखि लगातार बढिरहेको चिसोले दलित र विपन्न समुदायको जनजीवन कष्टकर बन्दै गएको छ । बिहानैदेखि चल्ने चिसो हावा, बाक्लो हुस्सु र शीतलहरले घरमा एकछाक खानसमेत धौ–धौ पर्ने यहाँका डोम, मुसहर, ढांगर, चमार, दुसाध बस्तीका बासिन्दालाई बढी प्रभाव पारेको छ । तीन दिनयता मौसममा एक्कासि परिवर्तन आएपछि दैनिक ज्यालादारी र मजदुरी गरेर जीवन धान्नेहरू आगो तापेर बस्न बाध्य छन् । चिसोबाट बच्न स्थानीय प्रशासनले कुनै व्यवस्था नगरेको उनीहरूको गुनासो छ ।

चिसो बढे पनि अहिलेसम्म जिल्ला दैवीप्रकोप उद्धार समिति बाराले राहतका लागि कुनै प्रयास गरेको छैन । अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि बाराका स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन् । कलैया उपमहानगरपालिकासहित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जाडो बिदा दिएको छ भने अन्य पालिकाले पनि जाडो बिदा दिन सुरु गर्ने बुझिएको छ ।

प्रतिक्रिया