गर्भवती महिलालाई उपाध्यक्ष ‘सावित्रा’ को निमन्त्रणा

स्याङ्जा । ‘गर्भवती हुनुभएकोमा हार्दिक बधाई, तपाईं र गर्भमा हुर्किरहेको बच्चाको स्वास्थ्य प्रवद्र्धनका लागि नियमित चेकजाँच र सुत्केरी हुनका लागि नजिकैको स्वास्थ्य संस्थामा आउनु हुन निमन्त्रणा छ ।’ कालीगण्डकी गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले वडा–२ लसर्घाकी बसन्ती रानालाई दिइएको निमन्त्रणामा यस्तो लेखिएको थियो ।

अहिले यो कार्यक्रमलाई पालिकाले अभियानको रूपमा सुरु गरेको छ । पालिकाभित्र रहेका ८२ जना गर्भवती महिलालाई यसरी नै अस्पतालबाट प्रसूति सेवा लिन कालीगण्डकी गाउँपालिकाले निमन्त्रणा गरेको हो ।

उपाध्यक्षसँग गर्भवती घरभेट कार्यक्रमअन्तर्गत मातृ शिशु स्वास्थ्य तथा पोषण प्रवद्र्धनका लागि यो अभियान सञ्चालन गरिएको उपाध्यक्ष कोइराला बताउँछिन् । उनी भन्छिन्, ‘गर्भवती महिलाले पालना गर्नुपर्ने २१ वटा सूचकको ब्यानर पनि गर्भवती महिलाको घरघरमा टाँस गरेको छौँ ।’ सचेतनाको माध्यमबाट अस्पतालमा नै सुरक्षित प्रसूति गराउन यो कार्यक्रम प्रभावकारी हुने पालिकाको दाबी छ ।

बिहान बेलुका भित्रबाहिर गर्दा यो सूचक देखिने भएकोले पालना गर्न गर्भवती महिला र परिवारलाई पनि उत्साहित गराउने कोइराला बताउँछिन् ।
गाउँघरमा अझै पनी गर्भवती महिलाले घाँस दाउरा गर्नुपर्ने बाध्यता रहेको बताउँदै कोइराला भन्छिन्, ‘गर्भवती महिलालाई सासूससुरा र समाजले माया र स्नेहले हेर्ने विश्वास लिएका छौँ ।’

गर्भवती महिलाहरूले नियमित आइरन क्याल्सियम नखाने र स्वास्थ्यमा खेलबाड गर्ने समस्या ग्रामीण क्षेत्रका महिलामा विद्यमान रहेको उनको बुझाइ छ । नेपाल सरकारले आइरन निःशुल्क गरेको भए पनि क्याल्सियम महँगो पर्ने भएकोले किन्नुपर्ने समस्या छ । तर, कालीगण्डकी गाउँपालिकाले क्याल्सियम पनि निःशुल्क गरेको छ ।

पूर्वाधार विकाससँगै नागरिकको स्वास्थ्यमा आफूहरू सचेत रहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाको भनाइ छ । गाउँपालिकाभित्र रहेका ४७ सय घरधुरीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा लागू गरिएको छ । थापा भन्छन्, ‘कसैले पनि स्वास्थ्य बिमाको पैसा तिर्नुपर्दैन, सबै नगरिकको बिमा वापतको रकम पालिकाले जिम्मा लिएको छ ।’

घरघरमा ल्याब सेवा सञ्चालन गरेर गाउँगाउँमा स्वास्थ्यको पहुँच पु¥याएको र अहिले पोषण मैत्री पालिका घोषणा गर्न यस्ता कार्यक्रम अघि सारिएको थापा बताउँछन् ।

शून्य घरमा सुत्केरीका लागि पालिकाले निःशुल्क एम्बुलेन्स सेवो सञ्चालन गरेको छ । सुरक्षित सुत्केरी गराउन पालिकाभित्र पाँच वटा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

यस्तै कुपोषित बच्चा शून्यमा झार्न पालिकाले अण्डा र सर्वोत्तम पिठो वितरण गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । ‘अहिले हामीसँग नौ जना मध्यम कुपोषित र दुई जना अति कुपोषित बच्चाहरू छन् । उनीहरूलाई शून्यमा झार्न पोषणमैत्री कार्यक्रम अघि सारेका छौँ’, पालिकाकी सिनियर अहेब बुद्धिसरा भण्डारीले बताइन् ।

गर्भवती महिलालाई आइरन क्याल्सियम तथा पोषणयुक्त आहार सेवन, घर तथा समाजमा स्नेह व्यवहार र सुरक्षित सुत्केरी गराउन यो अभियान प्रभावकारी रहेको पालिकावासीको बुझाइ छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया