पर्यावरण अभियन्ता दिलीपको चौथो स्मृति दिवस मनाइयो

जनकपुरधाम । क्रसर माफियाबाट मारिएका धनुषाका ओमप्रकाश महतो (दिलीप) को चौथो स्मृति दिवस मनाइएको छ । धनुषाको ढल्केबरस्थित महेन्द्र माध्यमिक विद्यालयमा ‘चुरे संरक्षणमा दिलीपको योगदान’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता गरी स्मृति दिवस मनाइएको हो ।

ओमप्रकाश महतो दिलीप पर्यावरण संरक्षण प्रतिष्ठानको आयोजनामा मिथिला नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा न्यु होराइजन इंग्लिस बोर्डिङ स्कुलकी सारदा सिंह प्रथम भएकी छन् ।

सन फ्लावर इंग्लिस स्कुलका सुगम पोखरेल दोस्रो भएका छन् भने महेन्द्र माध्यमिक विद्यालयका आनन्दकुमार महतो तेस्रो भएका हुन् ।

त्यस्तै, सार्वजनिक माविका मनिषकुमार महतो, चिल्ड्रेन गार्डेन इंग्लिस स्कुलका धीरज सिंह र महेन्द्र माविकै शिवजीप्रसाद दाहालले सान्त्वना पुरस्कार पाए । प्रतिष्ठानकी अध्यक्ष संगम महतोको अध्यक्षता तथा नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वमन्त्री सत्रुधन महतोको प्रमुख आतिथ्यमा वक्तित्वकला भएको हो ।

प्रतियोगीलाई वन निर्देशनालयका अधिकृत एवं पर्यावरण संरक्षण अभियानी सुरेश शर्मा, भू–तथा जल संरक्षण समाज मधेस प्रदेशका अध्यक्ष बेचनकुमार महतो, वडाध्यक्ष नन्दकिशोर यादव, प्रतिष्ठानका अध्यक्ष संगमकुमारी महतो लगायतका अतिथिले पुरस्कार प्रदान गरेका थिए । २५ पुस २०७६ मा धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरका पर्यावरण संरक्षण अभियन्ता दिलीपको औरही खोलामा भइरहेको उत्खनन रोकाउन जाँदा टिपरले किचेर हत्या भएको थियो ।

उनको हत्या अभियोगमा जिल्ला अदालत धनुषाबाट २०७९ फागुनमा तीन जनालाई साढे १२ वर्षदेखि २५ वर्षसम्मको कैद सजाय आदेश दिएको छ ।
दिलीपको हत्याको अभियोगमा पक्राउ परेका मिथिला नगरपालिका–५ मा क्रसर उद्योगी विपिन महतो र टिपरले किच्ने चालक मिथिला नगरपालिका–९ का मुनिन्द्र महतोलाई २५–२५ वर्ष कैद र पाँच–पाँच लाख क्षतिपूर्ति भराउने आदेश दिएको थियो ।

लोडरका चालक बर्दिबास नगरपालिका–२ का जितेन्द्रकुमार महतोलाई हत्यामा मतियारको भूमिका खेलेको भन्दै १२ वर्ष ६ महिना कैद र २ लाख ५० हजार क्षतिपूर्ति भराउने आदेश थियो । सोही अभियोगमा पक्राउ परेका अन्य चार जनाको हत्यामा संलग्नता नदेखिएको भन्दै धनुषा जिल्ला अदालतले सफाइ दिएको थियो ।

प्रतिक्रिया