ईश्वरपुरमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु

लालबन्दी । सर्लाहीको ईश्वरपुरमाआईतवारबाट मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल चितवनले ईश्वरपुर नगरपालिकासँग समन्वय गरी नगर अस्पताल बयलवासमा बृहत निःशुल्क आँखा परीक्षण र मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु गरेको हो ।

भरतपुरबाट नेत्ररोग विशेषज्ञ ल्याइ पुस २४ गतेसम्मका लागि शिविर संचालन गरिएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए । विशेषज्ञ चिकित्सकले आँखामा समस्या भएका बिरामीको तीन दिनसम्म निःशुल्क उपचारसहित मोतियाविन्दु देखिएका बिरामीलाई शल्यक्रिया गरेर फर्किने छन् ।

नगरप्रमुख आचार्यका अनुसार शिविरमा ईश्वरपुरसहित आसपासका पालिका र भारतको सोनवर्षा क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा आँखाका बिरामीहरु उपचार र मोतियाविन्दुको शल्यक्रियाका लागि ईश्वरपुर नगरअस्पतालमा आइपुगेका छन् ।

हरिपुर, नवलपुर र हरिपूर्वामा संचालन गरिएको निःशुल्क आँखा शिविरमा आँखा जाँच गर्दा मोतियाविन्दु देखिएका बिरामीलाई पनि बयलवासमै लगेर शल्यक्रियाको व्यवस्था मिलाइएको छ । आर्थिक अवस्था कमजोर रहेका आँखाका रोगीलाई लक्षित गरी संचालन गरिएको शिविरमा बिरामीलाई औषधि समेत निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ ।

आँखा शिविरको सोमबार बिहान संविधान सभाका सदस्य रामचन्द्र चौधरीले औपचारिक रुपमा उद्घाटन गरे । शिविरको उद्घाटन समारोहमा नगरप्रमुख आचार्य, उपप्रमुख रन्जितादेवी चौधरी, वडाध्यक्ष, कर्मचारी, पार्टी प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । शिविर संचालनका लागि नेपाल रेडक्रस सोसाइटी र आरोग्य संगठनले पनि सहयोग गरेको आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष प्रकाश मैनालीले बताए ।

प्रतिक्रिया