आयात घट्दा लक्ष्यमा पुग्न सकेन राजस्व संकलन

धनगढी । आयात घटेका कारण कैलाली भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यमा पुग्न सकेको छैन । भन्सार कार्यालयको चालु आवको मंसिर मसान्तसम्मको लक्ष्यअनुसारको राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको हो ।

मंसिर मसान्तसम्म ४ अर्ब ५८ करोड ३५ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा २ अर्ब ९६ करोड ७१ लाख मात्रै राजस्व असुली भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । जुन लक्ष्यको ६४ दशमलव ७३ प्रतिशत हुन आउँछ ।

आयात घट्दा राजस्व संकलनमा कमी आएको उनले बताए । उनले भने, ‘यहाँबाट निर्यात त एकदमै कम हुन्छ,आयात नै हो बढी हुने तर आयात घटेको छ,जसले गर्दा राजस्व संकलनमा कमी आएको छ ।’

‘बढी राजस्व असुली हुने सामान आयातमा पनि कमी आएको छ’, उनले भने, ‘पूँजिगत सामान आयात हुँदा राजस्व बढ्ने हो, यसको आयातमा कमी भएको छ ।’ राजस्व संकलनको लक्ष्य बृद्धिले पनि राजस्व संकलनको लक्ष्यमा पुग्न समस्या भएको उनले बताए । उनले भने, ‘राजस्व संकलनको लक्ष्य पनि बढेर आएको छ, त्यसले पनि राजस्व संकलन लक्ष्यमा पुग्न समस्या भएको छ ।’

चालु आवका पाँच महिनामा कुनै पनि महिनामा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन । सूचना अधिकारी खड्काका अनुसार चालु आवको साउन महिनामा ७२ करोड ३५ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ४६ करोड ८२ लाख अर्थात ६४ दशमलव ७१ प्रतिशत, भदौमा ८८ करोड ४० लाख लक्ष्य रहेकोमा ५१ करोड ९३ लाख अर्थात ५८ दशमलव ७५ प्रतिशत र असोजमा ९७ करोड ८१ लाख लक्ष्य रहेकोमा ६३ करोड १४ लाख अर्थात ६४ दशमलव ५६ प्रतिशत राजस्व असुली भएको छ ।

त्यस्तै कार्तिकमा ९७ करोड ५२ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ६१ करोड ६४ लाख अर्थात ६३ दशमलव सून्य २ प्रतिशत र मंसिरमा १ अर्व २ करोड २५ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ७३ करोड ३४ लाख अर्थात ७१ दशमलव ७३ प्रतिशत मात्रै राजस्व असुली भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयको चालु आव ०८०–८१ मा वार्षिक राजस्व संकलनको लक्ष्य ११ अर्व ५८ करोड २४ लाख रहेको छ । चालु आवका पाँच महिना अर्थात मंसिर मसान्तसम्म २ अर्व ९६ करोड ७१ लाख मात्रै राजस्व असुली भएको छ,जुन वार्षिक लक्ष्यको २५ दशमलव ६१ प्रतिशत मात्र हो ।

गत आव २०७९–८० मा पनि कुनै महिनामा राजस्व संकलन लक्ष्यमा पुग्न सकेको थिएन । गत आवमा वार्षिक राजस्व संकलनको लक्ष्य १२ अर्व ३० करोड ६६ लाख रहेकोमा ८ अर्व २९ करोड ६३ लाख राजस्व असुली भएको थियो । जुन लक्ष्यको ६७ दशमलव ४१ मात्रै थियो ।

प्रतिक्रिया