पर्वतमा पहिलो पटक लाटोकोसेरो उत्सव

पर्वत । पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलो पटक लाटोकोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो ।

प्रकृतिका साथी काठमाडौंको आयोजनामा हुन लागेको महोत्सवमा लाटोकोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिने भएको छ । स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटोकोसोरो संरक्षण अभियन्ता राजु आचार्यले जानकारी दिए ।

अवैध चोरीनिकासी, वन विनाश, विषादीको प्रयोगलगायत कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथी नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताए । उनका अनुसार लाटोकोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ ।

‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने लाटोकोसेरो उत्सवमा लाटोकोसेरोसम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो प्रदर्शनी लाटोकोसेरोको नमूना चित्रकला प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोमध्ये आठ प्रजातिका दुर्लभ किसिमका छन् । पहिलोपटक आयोजना गरिएको यो उत्सवले लाटोकोसेरो संरक्षणका लागि समुदायको चेतना अभिवृद्धिका साथै फलामेडाँडाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय युवा पुर्ख पूर्जा पुनले बताए ।

नेपालबाट वर्षेनी लोटोकोसेरो तथा हुचिल जातको पंक्षी चोरी शिकारी हुँदै गए पनि संरक्षणको अभावमा लोप हुँदै गएको छ । वर्षेनी करोडौँ मूल्यको लाटोकोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्करी हुने गरेको छ ।

लाटोकोसेरोलाई किसानको साथी पनि भन्ने गरिन्छ । कृषकले मेहिनत गरी उब्जाएको अन्नबाली खाएर दुःख दिने मुसो लाटोकोसेरोको मुख्य आहारा हो । यसले राती मात्र आँखा देख्छ र रातमा मात्र मुसाको सिकार गर्छ । यो पक्षीको टाउको झट्ट हेर्दा बिरालो जस्तो देखिए पनि यसको शरीर पक्षीको जस्तै हुन्छ । तर यसको संख्या वर्षेनी घट्ने क्रममा छ ।

प्रतिक्रिया