भेट्टाएको नागरिकता दुरुपयोग गरी करोडौँ ठगी

काठमाडौँ । जापान पठाइदिने भन्दै २०० जनाभन्दा बढीलाई ठगेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीमा संलग्न २ जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौँको मनहरा नगरपालिका बस्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाका ४६ वर्षीय ईश्वरी पाण्डे छन् ।

श्रेष्ठलाई कागेश्वरी मनोहरा नगरपालिका स्थित बेसीगाउँ र पाण्डेलाई अनामनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले २१९ जनाबाट ३ करोड ३७ लाख रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
राजनले आफूलाई नारायणबहादुर राई र ईश्वरीले आफूलाई पर्वराज पाण्डे भनेर चिनाएका थिए । उनीहरू २ जनाले मिलेर नियोनी एजुकेसन प्रालि खोलेका थिए । त्यसको विज्ञापन गरी जापान पठाइदिने कन्सल्टेन्सी भनेर ठगी गर्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । उनीहरूले जापान पठाइदिने भनेर पीडितसँग रकम लिएपछि सम्पर्कविहीन हुने गरेको खुलेको छ ।

बिहीबार पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। उनीहरूले दीपबहादुर तामाङमार्फत् १३ जनाबाट ३७ लाख रुपैयाँ, सुनिलकुमार नेपालीमार्फत् २० जनाबाट ३२ लाख रुपैयाँ लिइएको खुलेको प्रहरीले जनाएको छ । यस्तै, वैदेशिक रोजगार विभागमा १०० जनाले २ करोड ६८ लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका छन् ।

उनीहरूले प्रतिव्यक्ति ४ लाखदेखि ७ लाख रुपैयाँसम्म उठाउने गरेका थिए । उनीहरूसँगै ठगीमा संलग्न अर्का १ जना भने फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरूलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसएसपी भट्टराईले जानकारी दिए ।

अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कम्पनी दर्ता
उनीहरूले खोलेको कन्सल्टेन्सी दर्ता गर्ने क्रममा अर्काको नागरिकता प्रयोग गरेका थिए । राजन श्रेष्ठले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरेर सानिमा बैंकमा खाता खोलेको भेटिएको छ । उदयपुरका राईको नागरिकता दुरुपयोग गरेर श्रेष्ठले बैंकको केवाइसी फारममा आफ्नो फोटो टाँसेको एसएसपी भट्टराईले बताए ।

३ वर्षदेखि पठाओ चलाएर गुजारा गर्दै आएका राईको नागरिकता १५/१६ वर्षपहिले नै हराएको थियो । नागरिकता भेटेका राजनले दुरुपयोग गर्दै अपराधमा संलग्न देखिएको प्रहरीले बताएको छ । ठगी गरेको भनी उजुरी परेपछि प्रहरीले आफूलाई बोलाएर सोधपुछ गर्दा मात्रै नागरिकता दुरुपयोग भएको थाहा पाएको राईले बताए ।

यता, पक्राउ परेका अर्का व्यक्ति ईश्वरी पाण्डेले भने बाजुराका पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरेको भेटिएको छ । पर्वराजकै नाममा उजुरी परेपछि उनलाई पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले फोन गरी सोधपुछका लागि बोलाएको थियो ।

प्रहरीमा पुगेका उनले आफ्नो नामबाट करोडौँ रुपैयाँ ठगी भएको थाहा पाए । उनले त्यसमा आफू संलग्न नरहेको बताए पनि प्रहरीले उनको कुरा सुनेन र उनलाई वैदेशिक रोजगार विभागमा बुझायो । उनी एक रात हिरासतमा बसे । आफ्नो कुनै कन्सल्टेन्सी नरहेको र कसैलाई ठगी नगरेको बयान दिएपछि विभागले पीडितलाई बोलाएर सोध्दा ठगी गर्ने व्यक्ति उनी नभएको बताएपछि उनी छुटेका थिए ।

प्रतिक्रिया