पत्रकार यादवको घटनाबारे छानविन गर्न टोली गठन

जनकपुरधाम । धनुषाधाम बस्दै सक्रिय पत्रकारितामा आवद्व पत्रकार विनय कुमार यादवको मृत्युको घटनामा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले चासो व्यक्त गर्दै घटना अध्यन्नका लागि टोली गठन गरेको छ । बिहीबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले घटनाप्रति चासो व्यक्त गर्दै गम्भीरतापूर्वक छलफल मात्र गरेन केन्द्रीय सचिव दीपेन्द्र चौहानको नेतृत्वमा मधेसबाट प्रतिनिधित्व गर्ने ४ केन्द्रीय सदस्य सहितको टोली नै बनाएर घटनाबारे अध्ययन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठकले गम्भीर रूपमा लिएको र टोली बनाएर अध्ययन गर्दै स्थानीय प्रहरी प्रशासनलाई गम्भीर रूपमा अनुसन्धानका लागि दबाब दिने तयारी गरेको हो, केन्द्रीय सदस्य रिंकु मिश्र गायत्रीले बताइन् । महासंघ केन्द्रीय समितिले पछिल्लो समय सञ्चार माध्यमहरूमा आएको समाचार र तथ्यले घटना रहस्यपूर्ण रहेको ठहरसमेत गरेको केन्द्रीय महासचिव रोशन पुरीले बताएका छन् ।


धनुषा निवासी मृतक पत्रकार विनयको घटनामा केन्द्रीय समितिले उत्सुकता र चासो देखाए पनि महासंघ धनुषा शाखा मौन रहेको भन्दै स्थानीय पत्रकारले असन्तुष्टि जाहेर गर्न थालेका छन् । घटनाको दिन पत्रकार यादवको दुर्घटनामा मृत्यु भएको आशयको विज्ञप्ती जारी गरेर धनुषा शाखा मौन भई बस्नु दुःखद् रहेको उनीहरूको गुनासो छ । महासंघको केन्द्रीय समितिको सोही बैठकबाट महासंघको तीनै तहको नयाँ नेतृत्व चयनका लागि अगामी जेठ १९ गते निर्वाचन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया