रामेछाप । रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई आज बिहान सुनकोसी गाउँपालिका बोहोरेटार–३ मा ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बस्ने खोटाङ जिल्ला दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोटाङ जिल्ला तुवाचुङ नपा–२ का मोटरसाइकल चालक कुमार राईको भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुनकोसी गाउँपालिका–३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए । मन्थली नपा वडा नं– १३ फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रासस
प्रतिक्रिया