बर्दघाटमा बालक बचाउन खोज्दा अटो दुर्घटना : चालकसहित ६ जना घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ मा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ह ३७४० नम्बरको अटोले बाटो काट्दै गरेका बालकलाई बचाउन खोज्दा अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अटो चालक नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–१ बस्ने ४५ वर्षीय प्रेमबहादुर जर्घा, बर्दघाट नगरपालिका–१६ बस्ने अन्दाजी ७० वर्षीय मानबहादुर सिंजाली, १६ वर्षीया दृष्टि सारु मगर, ३८ वर्षीया ललिसरा सारु मगर, ४० वर्षीया अनिता गाहा मगर र १६ वर्षीया निरमा गाहा मगर घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा र २ जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ। घाइते चालक जर्घा र स्थानीय मानबहादुर सिंजालीको अवस्था सामान्य रहेको छ भने बाँकी ४ जनाको अवस्था मध्यम रहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया