
काठमाडौं । भारतको शैक्षिक क्षेत्रमा देखिएका असन्तोष र परीक्षा प्रणालीका सुधारको माग गर्दै दिल्लीको जन्तरमन्तरमा भएको विरोध प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई लिएर बहुपक्षीय बहस सुरु भएको छ ।
कक्रोच जनता पार्टी (सीजेपी) नाम दिइएको अभियानका संस्थापक अभिजीत दीप्केले प्रदर्शनका क्रममा घाइते भएका आफ्ना समर्थकहरूसँग क्षमा याचना गरेपछि यो विषय थप चर्चामा आएको हो ।
गत मे महिनामा परीक्षामा हुने अनियमितताविरुद्ध आवाज उठाउन अनलाइन मञ्चका रूपमा सुरु भएको सीजेपीले सोमबार जन्तरमन्तरमा ठूलो सङ्ख्यामा विद्यार्थी, अभिभावक र नागरिक अभियन्ताहरूलाई भेला गराएको थियो । २१ दिनदेखि अनशनरत शिक्षाविद् सोनम वाङ्चुकलाई स्वास्थ्य स्थितिका कारण प्रहरीले अस्पताल भर्ना गराएपछि प्रदर्शनकारीहरू थप आक्रोशित भई संसद् भवनतर्फ अघि बढेका थिए ।
संसद् भवनतर्फको मार्चलाई रोक्न प्रहरीले बल प्रयोग गर्दा जन्तरमन्तर क्षेत्र तनावग्रस्त बनेको थियो । शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले अमानवीय व्यवहार र लाठीचार्ज गरेको आरोप आन्दोलनकारी पक्षले लगाएको छ । सीजेपीका संस्थापक अभिजित दीपकेले सामाजिक सञ्जालमार्फत विशेष गरी प्रदर्शनमा सहभागी महिलाहरूमाथि भएको प्रहरी कारबाहीको निन्दा गर्दै उनीहरूलाई सुरक्षा दिन नसकेकोमा माफी मागेका छन् ।

साथै, उनले घाइतेहरूसँग व्यक्तिगत रूपमा जोडिएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्कातर्फ, स्थिति नियन्त्रणमा लिन र संसद् भवनजस्तो अति संवेदनशील क्षेत्रको सुरक्षा कायम राख्न प्रहरीले कदम चाल्नुपरेको सुरक्षा अधिकारीहरूको तर्क छ । जन्तरमन्तरस्थित मञ्च तोडफोड भएको र बाबासाहेब अम्बेडकरको तस्बिर तथा धार्मिक ग्रन्थहरूको अपमान भएको सीजेपीको दाबीबारे आधिकारिक रूपमा प्रहरी तथा प्रशासनको भनाइ आउन बाँकी छ ।
यसैबीच, परीक्षा धाँधलीको जिम्मेवारी लिँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग भइरहँदा सरकारका प्रतिनिधिहरूले भने आन्दोलनको नियतमाथि प्रश्न उठाएका छन् । शिक्षामन्त्री प्रधानले सीजेपी र यसका समर्थकहरूलाई गैरजिम्मेवार तथा उच्छृङ्खल तत्वहरूबाट सञ्चालित भएको आरोप लगाएका छन् ।
परीक्षा प्रणालीको निष्पक्षता, विद्यार्थीहरूको भविष्य र सडकमा उत्रिएका नागरिकको सुरक्षा जस्ता संवेदनशील विषय जोडिएकाले यस घटनालाई लिएर पक्ष(विपक्षमा तीव्र प्रतिक्रियाहरू आइरहेका छन् ।
प्रतिक्रिया